बैशाख १३, २०८१ बिहीबार

एएफसी छनोट : नेपाली महिला टोली बाहिबाहिरियो



काठमाडौं नेपाली यू–१९ महिला राष्ट्रिय फुटबल टोली म्यानमारमा जारी एएफसी यू–१९ च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिएको छ ।

एएफसी कपका लागि पहिलो चरण पार गरे पनि नेपाली टोलीले दोस्रो चरणको छनोटमा उल्लेख्य प्रदर्शन गर्न नसक्दा छनोट चरणबाटै बाहिरिन पुग्यो ।

दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ४–० ले पराजित भएसँग नेपाल बाहिरिएको हो ।

म्यानमारको मन्डलेस्थित मन्डलाथिरी रंगशालामा नेपाल पहिलो हाफमा १–० ले पछि परे पनि दोस्रो हाफमा थप तीन गोल खान पुगेको थियो ।

उज्वेकिस्तानको जितमा कुर्वाेनोभाले दुई तथा रासिदोधा र खोजिइभाले समान १–१ गोल गरे । खेलको २१औं मिनेटमा कुर्वाेनोभाको गोलबाट नेपाल खेलमा पछि परेको थियो ।

६७औं मिनेटमा कुर्वाेनोभाले व्यक्तिगत दोस्रो गोल गर्दै उज्वेकिस्तानलाई २–० ले अघि बढाए । रासिदोभाले ७४औं र खोजइभाले ७८औ मिनेटमा गोल गरेपछि नेपाल ४–० ले पराजित हुन पुग्यो ।

नेपालले पहिलो खेलमा अस्ट्रेलियासँग ११–१ को फराकिलो हार बेहोरेको थियो । अब नेपालले समूहको अन्तिम खेलमा आयोजक म्यानमारसँग मंगलबार प्रतिस्पर्धा गर्दै छ । नेपाल म्यानमारविरुद्ध सान्त्वना जितको खोजीमा हुनेछ ।