युद्ध भूमिबाट आमालाई अन्तिम पत्र !

डा. अरुण उप्रेती / बैशाख २१, २०७६ - शनिबार


डा. अरुण उप्रेती

मलाई एउटा गोली लागेको छ। टाउकोमा लागेको यस गोलीले मलाई अन्तिम यात्रातिर लगिरहेछ र म हातमा रहेको कागजमा औंलाको कलम बनाएर रगतको मसीले यो पत्र लेख्दै छु।

मलाई थाहा छैन, मैले लेखेको यो पत्र तिमीसम्म पुग्छ कि पुग्दैन। मलाई यो पनि थाहा छैन आमा मेरो मृत शरीर पनि तिमीसम्क्ष पुग्छ कि पुग्दैन? यो युद्धमा मजस्ता कति शरीरमा गोली लागेपछि यसै कुहिएर गएका छन्।

तर आमा, म सपनामा आएर भए पनि तिमीसँग बिदा माग्नेछु। तिमी र बाबालाई मेरो लास नदेखे छोरो फर्किहाल्छ कि भन्ने आश रहिरहन्छ होला। म अन्तिम यात्रामा जानुभन्दा अघि हावालाई यो पत्र उडाएर तिमी समक्ष पुर्‍याई दे भन्नेछु।

ओहो, आमा यो दुखाईसँगै तिम्रो सम्झना बढ्दै गइरहेछ। मेरो टाउको दुखेको बेलामा तिमीले तोरीको तेल तताएर खुट्टामा र टाउकोमा लगाइदिँदा मेरो दुखाई कम भएर निद्रा आइहाल्थ्यो।

त्यो तिम्रो न्यानो हातको स्पर्श अहिले याद आइरहेको छ। तिम्रो स्पर्श पाएको भए मेरो गोलीको दुखाई पनि कम हुन्थ्यो कि? आमा, मलाई निद्रा त लागिरहेछ तर म सकेसम्म तिमीलाई यो पत्र सिध्याएर मात्रै आँखा चिम्लिन खोजिरहेछु।

यो गोली कसको हो थाहा छ आमा, हाम्रो घरको तल्लो गरामा काइला बाजे थिए नि उनको छोरो श्याम थियो नि जसलाई म झगडा गर्दा श्यामे, चामे ढामे भन्थें।

हो उसैको गोली मलाई लागेको थियो। आमा श्याम र म बन्दुक लिएर जब अगाडि पर्‍यौं हाम्रो आँखा जुधेपछि, एकछिन त बन्दुक पनि काम्यो।

उसको अनुहारमा पनि एउटा मुस्कान आउन खोज्यो तर हातको बन्दुक कस्दाकस्दै उसको मुस्कान हराएर अनुहारमा घृणा भरियो।

तर आमा मैले त्यति बेला श्यामसँग खेलेका दिनहरू सम्झें। सँगै स्कुल जाँदा भागेर पोखरीमा पौडी खेलेको र बाबाले देखेर कान समातेर घर ल्याई सिस्नो लगाउँदा, मैले र श्यामेले रुँदै नाकबाट सिंगान निकाल्दा, तिमीले आएर बाबाको हातबाट हामीलाई छुट्याएको सम्झें।

एकदिन श्याम र म उसको घरमा आँटीमा चढेर काकीले बनाएर राखेको आलुको अचार चोरेर सँगै खाएपछि, बिरालोले अचार खायो अनि जुठो भयो भनेर फ्यालिदियौं भनी काकीलाई ढाँटेको सम्झें। आमा श्यामलाई गोली हान्ने साहस नै आएन।

हामीले बाबाको पैसा चोरेर मेलामा काँचो नरिवल खाएको देखि गुच्चा खेल्दाखेरी र डण्डीबियो खेल्दाका एकएक दृश्य सम्झें। ती सबै सम्झेपछि मेरो हात काम्यो। अनि उसको गोली मलाई लाग्यो।

स्कुल पास गरेपछि श्याम र मेरो बाटो छुट्टिए पनि गाउँमा फर्केर आउँदा हामी कती कुरा गर्थ्यौं। काम सिद्धिएपछि गाउँमा आएर बस्ने भनेर सल्लाह गर्थ्यौं।

श्यामको छोरी भएको चिठ्ठी पाएपछि मैले चाँदीको प्लेट र चम्चा पठाइदिएको थिएँ। श्यामले त्यो पाएपछि कस्तो मीठो चिठ्ठी लेखेको थियो। मेरो टीनको बाकसमा अझै त्यो कतै छँदैछ। आमा यी सबै कुरा सम्झदै गर्दा मेरो बन्दुक काम्यो, निधारमा पसिना आयो।

युद्ध भूमिमा शत्रुलाई हान्ने मेरो काम हो, तर आमा श्याम त मेरो गाउँले साथी काइँला बाजे र काकीको छोरा हो। मैले कसरी उसलाई गोली हान्न सक्थें र? ओहो, तर त्यही बेला एउटा गोली आएर मेरो टाउकोमा लाग्यो।

मेरो हातबाट बन्दुक खस्यो र म अन्तिम यात्रातर्फ म हिंड्न थालें। आमा, तिम्रो चाउरी परेको अनुहारबाट खसेको आँसु कतै गालामा अड्किएला, त्यो आँसु म नै हो भन्ने ठान है।

अन्तिम विदा आमा,


प्रतिक्रिया दिनुहोस


सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।

error: Content is protected !!