बैशाख ७, २०८१ शुक्रबार

पूर्वसांसद गायत्री साह पतिसहित पक्राउ



काठमाडौं – पूर्व सांसद् गायत्री साहलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्पतालमा बच्चा छाडेको भन्दै मेडिसिटी अस्पतालले दिएको किटानी जाहेरीका आधारमा उनीसहित उनका पति राजेश महताेलाई पनि पक्राउ गरेकाे ललितपुर प्रहरीका डिएसपी रवीन्द्र सिंह धानुकले बताए।

अस्पतालको लापरबाहीका कारण डाउन सिण्ड्रोम भएको बच्चा जन्मिएको भन्दै उपचारको सम्पूर्ण जिम्‍मा अस्पतालले नै लिनु पर्ने पूर्वसांसद शाहले माग गर्दै आएकी थिइन्।

गायत्री शाहका पिता एवं पूर्वसभासद् हरिचरण शाहले अस्पतालको बेडबाटै सादा पोशाकमा आएका प्रहरीले छोरीज्वाइलाई पक्राउ गरिएको देश सञ्‍चारलाई जानकारी दिए।

साह दम्पतिले सो अस्पताल बच्चाको भर्ना गराएकी तर डाउन सिन्ड्रोमको लक्षण देखिएपछि अस्पतालले वेवास्ता गरेको भन्दै अस्पतालमा नै बच्चा छोडेकी थिइन्।

उनीहरूलाई आफ्नो सन्तान छाडेको अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १८४ अनुसार शाह दम्पतीलाई मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

अस्पतालको लापरबाहीका कारण ‘डाउन सिण्ड्रोम’ भएको बच्चा जन्मिएको भन्दै उपचारको सम्पूर्ण जिम्मा अस्पतालले नै लिनु पर्ने दाबी शिशुका आमा बाबुसहितका परिवाले गर्दै आएका छन् ।

आफूलाई अस्पतालले बेलैमा जानकारी नदिँदा रोगी बच्च जन्मिएको र त्यसको जिम्मेवारी पनि उसैले लिनुपर्ने शाहकी पिता एवं पूर्व सांसद हरिचरण शाहले बताए ।

मुलुकी अपराध संहिताको दफा १८४ (१) मा भनिएको छ, ‘कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जिउ, ज्यानमा खतरा पुग्न सक्ने गरी फाल्न, परित्याग गर्न वा वेवास्ता गरी छोड्न हुँदैन ।’

त्यसरी आफ्नो संरक्षकत्वमा रहेको बच्चालाई छाड्ने अभिभावकलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँ जरिवाना हुने कानुनी प्रावधान छ । १८४ (२) मा उल्लेख गरिएको छ, ‘उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।’

उनीहरुलाई यसै दफा अनुसार मुद्दा चलाउने तयारी भएको डिएसपी नारायण चिमोरियाले जानकारी दिए । आजै अदालतमा उपस्थित गराउने भनिए पनि समय अभावका कारण नभ्याइएको प्रहरीले जनाएको छ ।