बैशाख ५, २०८१ बुधबार

किशोरीहरुलाई यौन दुर्व्यवहार गरेर शिक्षक फरार



सिन्धुलीमाढी — सिन्धुलीको फिक्कल गाउँपालिका–३ सालघारीस्थित चण्डिका मावि रातमाटाका शिक्षक चिरञ्जीवी पहाडीले सुतिरहेका किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेकाे खुलेकाे छ ।

७ देखि ९ कक्षामासम्म अध्ययनरत चार किशोरीहरूलाई वैशाख १३ राती यौन दुर्व्यवहार गरेकाे पीडित किशोरीहरूले बताएका छन् ।

‘हामी दिदीबहिनी सुतिरहेका थियौं । ढोका ढकढक गरेको आवाज आयो, को हो ? भन्दाभन्दै सरले लात्तिले हानेर ढोका खोलिसक्नुभएछ ।’ उनीहरूले भने, ‘सर लुगा नै नलगाई आउनुभएको रहेछ । हामी आत्तिएर यतिबेला किन आउनुभयो सर भन्दा तिमीहरूसँगै बस्न आएको काली भन्नुभयो र जबरजस्ती गर्न लाग्नुभयो । हामीले चिच्याएपछि बुबाआमा र अरू छिमेकीहरू पनि आएपछि भने सर भाग्नुभयो ।’

दुर्व्यवहार गर्ने शिक्षकलाई कार्वाहीकाे माग गर्दै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय माग्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्  ।

शिक्षक पहाडीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा वैशाख २० गते जाहेरी दरखास्त दिँदा पनि पक्राउ नगरेपछि उनीहरुले प्रजिअसमक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले शिक्षक चिरञ्जीवी पहाडी फरार रहेकाले खोजी कार्य जारी रहेको बताए ।

प्रहरीले पहाडीको घर र उनको आफन्तहरूकोमा समेत पटकपटक खोजतलासी गर्दा फेला नपरेको उनले बताए ।