बैशाख ८, २०८१ शनिबार

अब छात्राहरु ‘लेडिज प्रोब्लम्’ भन्दै कक्षा छाडेर जानु पर्दैन



मेसिनबाट प्याड निकाल्दै छात्रा 

सुनसरी — कक्षामा पढिरहेको बेला महिनावारी भयो भने अधिकांस विद्यालयका छात्राहरु ‘लेडिज प्रोव्लम’ भन्दै शिक्षकसँग विदा मागेर घर दौडनुपर्छ ।

तर सुनसरीकाे धरान –१२ चतरालाईनस्थित पव्लिक हाइस्कुलका छात्राहरुलाई भने त्यो समस्या छैन । विद्यालयमै भएको डिजिटल बक्साको स्वीच थिचेर पाँच रुपैयाँको सिक्का छिराउँन् । प्याड आफै झर्छ ।

उक्त विद्यालयले विद्यालयकै प्रशासनिक प्रवेशद्वारसँगैको भित्तामा ‘सेनेटरी प्याड भेण्डिङ मेसिन’ राखिदिएको छ ।

“अचानक महिनावारी भयो भने कि त ‘लेडिज प्रोव्लम’ भन्दै शिक्षकसँग विदा मागेर घर जाने समस्या समाधान भएको छ” कक्षा १० कि छात्रा भावना तामाङले भनिन् “स्कुलले प्याडको व्यबस्था नगर्दा पहिला पहिला हामीले व्यागमै पनि प्याड बोक्थ्यौं, अव बोक्नु परेन ।”

विद्यालयले महिनावारी हुने उमेर पुगेका हाइस्कुलका कक्षा १२ सम्मका छात्राहरू रजस्वला भएपछि वीचैमा कक्षा छाडेर घर नजाउन भनेर ‘अटोमेटिक सेनिटरी नेप्कीन भेण्डिङ मेसिन’ राखिदिएको हो ।

छात्रालाई विद्यालयमै महिनावारी भइहाले यो प्याडले इमर्जेन्सीको काम गर्न सहयोग पुर्‍याएको अर्की छात्रा श्रेया जिमीले बताइन् ।

प्रधानाध्यापक इन्द्रमोहन झाका अनुसार उक्त विद्यालयमा सेनिटरी प्याड प्रयोग गर्ने कक्षा ८ देखि कक्षा १२ सम्मका छात्राहरूको संख्या सात सयबढी भएकाले मेसिन राखिएको हो । महिनावारीको समस्याले गर्दा कसैले पनि कक्षा नछुटाउन भनेर कक्षा ११ को छात्राहरूले प्याड खसाल्ने मेसिन राख्न पहल गरेका थिए ।

विद्यालयले तीन बर्षअघिदेखि नै छात्राहरूलाई निशुल्क सेनिटरी प्याड उपलव्ध गराउदै आएको थियो । यसपटकदेखि मेसिनबाट उपलव्ध गराउन थालेको हो । “महिनावारीजस्तो प्राकृतिक प्रकृयालाई अनेक अन्धविश्वास र भ्रमसंग जोडेर अछुत बनाइन्छ ” प्रधानाध्यापक झाले भने “यस्ता भ्रम चिर्नकै लागि हामीले प्रदेश १ मा पहिलो पटक छात्राहरूकालागि विद्यालयमै राखिदिएका हौं ।”

हाल सेनिटरी प्याड धरान उपमहानगरपालिकाको सामाजिक महाशाखा मार्फत उपलब्ध हुदै आएको छ ।

एकैपटक ५० वटा प्याड राख्न सकिने मेसिनको मुल्य १० हजार ८ सय भारु र ७५ वटा प्याड अटाउने मेसिनको ११ हजार ८ सय भारु पर्ने झाले बताए । तर कुरियरको रकम, भन्सारको रकम, भारतीय एजेण्टलाई दिने कमिसन, रानीभन्सारबाट धरानसम्म ल्याउदा लागेको ढुवानी खर्च सवै जोडा करिव ३० हजार रुपैया खर्च भएको छ ।

महिला र छात्राको प्रजनन स्वास्थ्यको विषय भएकाले नेपालमै यो मेसिनको आधिकारिक विक्रेता भएमा र भन्सार छुटको व्यबस्था हुन सके बढीमा २० हजार रुपैया पर्न सक्ने हुदा छात्राबास, विद्यालय, कलेज, विभिन्न सरकारी कार्यालय, गैरसकारी संघसंस्था, महिलाकामदार बढी भएका उद्योग कलकारखानामा राख्न सकिने झाले बताए ।