बैशाख २, २०८१ आईतबार

अझै हुन्छ असुरक्षित गर्भपतन



इलाम — गर्भपतनलाई कानुनी मान्यता प्रदान गरिए पनि सुरक्षित हिसाबले सेवा नलिँदा कतिपयको ज्यान जोखिममा पर्ने गरेको छ । अनधिकृत रूपमा गर्भपतन गराउँदा गम्भीर समस्या भोग्नुपर्ने अवस्था इलाम नगरपालिकामै देखिएको छ ।

जिल्ला अस्पतालसहित इलामका २१ स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतनको सेवा पाइन्छ । परिवार नियोजन संघ र मेरी स्टोप सेन्टरले पनि सेवा दिंदै आएका छन् ।

असुरक्षित गर्भपतनले स्वास्थ्य जटिल बनेपछि जिल्ला अस्पताल धाउने संख्या बाक्लिएको छ । साउनदेखि पुस मसान्तभित्र असुरक्षित गर्भपतन गराएर थप उपचारका लागि ३२ जना आएको जिल्ला अस्पतालले जनाएको छ ।

इलाम नगरपालिका ३, पुवामझुवाकी एक महिला असुरक्षित ढंगले गर्भपतन गराउँदा जटिल समस्यामा परिन् । साँखेजुङमा पनि एउटी महिलाले यस्तै घटनामा खेप्नुपर्‍यो । नजिकै सुरक्षित गर्भपतनका लागि सरकारका तर्फबाट क्लिनिक खोलिए पनि त्यसबाहेक सेवा लिँदा उनीहरू दुवै समस्यामा परेका हुन् ।

अनिच्छित गर्भ रहेपछि समाज र आफन्तबाट जोगिने ध्येयसँगै चेतना अभावले जथभाबी गर्भपतन हुन थालेको सरोकारवालाको भनाइ छ । ‘यस्ता उदाहरण धेरै स्थानमा भेटिएका छन्,’ सुरक्षित गर्भपतका क्षेत्रमा कामगर्दै आएको आइपास नेपालका जिल्ला संयोजक केदार भण्डारीले भने, ‘असुरक्षित गर्भपतनका विषयमा चेतना वृद्धि गरी जटिल समस्याबाट जोगाउन सबैले पहल गर्नुपर्छ ।’

साँखेजुङस्थित स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनको सेवा उपलब्ध छ । चालु आवको चैत मसान्तसम्ममा मात्रै यहाँबाट ६२ जनाले सेवा लिएका छन् । नियमनकारी निकायले भरपर्दो अनुगमन नगर्दा जुनसुकै औषधि पसलले पनि अनधिकृत रूपमा गर्भपतनको औषधि दिने गरेको पाइन्छ ।