बैशाख १, २०८१ शनिबार

उद्धार गरिएका महिला भन्छन् ‘नेपालमै काम गर्न पाए विदेश गएर दुःख पाउनु रहर छैन’



भारत हुँदै कुवेत जान हिँडेको बेला प्रहरीले फेला पारेर नेपाल ल्याएकी सिन्धुपाल्चोकी ३९ वर्षीया समिरा (नाम परिवर्तन)को ज्यान प्रहरीले जोगाएर त ल्यायो तर उनको पिरलो ज्यूँ का त्यू छ छोराछोरी पाल्ने र पढाउने कसरी ?

त्यही पिरलोका कारण उनी अबै भन्ने थाहा हुँदा हुँदै पनि भारतको बाटोबाट कुवेत जान थालेकी थिइन् । तर केहीदिन अघि भारतको मिजोरमबाट प्रहरीले उद्धार गरेर नेपाल ल्यायो । भन्छिन् “म एकल महिला हुँ।मेरा छोरा छोरी छन् । हामी जस्ताले गरिखानसक्ने अवस्था छैन । त्यसैले जोखिम मोलेरै भए पनि कुवेत जान म सहमत भएकी हुँ ।”

पहिला पनि दुई पटक कुवेत गएर फर्किएको उनले बताइन् । उनले नेपालबाटै जाने अवस्था बने जोखिम मोलेर भारतको बाटो प्रयोग नगर्ने बताइन् ।

सुर्खेत घर भएकी २० बर्षिया दलित महिला मिजोरा (नाम परिवर्तन) पनि आफ्ना दुई सन्तानको पालन पोषणका लागि कुवेत जान भारतको बाटो रोजेकी हुन् । भन्छिन् – “पहिला पनि म दिल्लीबाट कुवेत उडेको थिएँ, यसपाली त आफ्नै देशबाट जाउँला भनेको नपाइने रहेछ ।”

उनीहरुसँगै मिजोरमबाट उद्धार गरेर ल्याएका २३ जना महिलाहरुले जोखिम मोलेर विदेश जानु आफूहरुको रहर नभइ बाध्यता भएको बताएका छन् । माइती नेपालका अनुसार अढाई महिना अघि मणिपुरबाट उद्धार गरिएकाहरुमा पनि अधिकांश बेसहारा छन् । कतिपयले आफ्ना छोरा छोरीलाई काठमाडौंमा डेरा राखेर विदेश जान लागेका माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए ।

त्यही गरीबी र अभावका कारण विदेश जान लागेको बताउने उनीहरुको एउटै माग छ, काम गर्न सक्ने महिलाले नेपालबाटै विदेश जाने वातावरण बनोस् ।

उद्धार गरेर ल्याइएकाहरुमध्ये अधिकांश नेपालबाटै श्रम स्वीकृती लिएर विदेश जानसक्ने अवस्थाका छैनन् । कतिपय महिला ३५ बर्ष नाघेका छन् भने कतिपय पहिला पनि अबैध बाटो हुँदै खाडी मुलुक गएर फर्केकाहरु छन् । उनीहरु भन्छन् “नेपालमै रोजगारीको बाटो भइदिए विदेश गएर दुःख पाउनु कुनै रहर छैन ।”

उद्धार गरेर ल्याइएका महिलाहरुका अनुसार उनीहरु भन्दा केही समय अघिसम्म उत्तर पूर्वी भारतका राज्यहरु हुँदै कम्तीमा तीनसय महिला म्यान्मा गइसकेका थिए । तर उनीहरुलाई भने मिजोरम प्रहरीले पक्राउ गरेर नेपाललाई जिम्मा लगाएको हो ।

उनीहरुलाई मिजोरम प्रहरीले पक्राउ गरी विहीबार नेपाल सरकारको जिम्मा लगाएको थियो । अबैध बाटो हुँदै उनीहरु म्यान्मा भएर विभिन्न खाडी मुलुक जान लागेको अवस्थामा फेला परेका थिए ।

करिब अढाई महिना अघि पनि भारतकै मणिपुर राज्यबाट १ सय ४७ जना महिला तथा ४२ जना पुरुषलाई उद्धार गरि नेपाल ल्याइएको थियो। बिहीबार नेपाल ल्याइएका महिलाहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।