बैशाख ४, २०८१ मंगलबार

राष्ट्रपतिद्वारा ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा



जनकपुरधाम – प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले खुलेरै प्रशंसा गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सीता नवमीको अवसरमा प्रदेश २ को राजधानी पुगेकी छन् । जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘यो अभियान सही ढँगले अगाडि बढिरहेकाले प्रशंसा गर्न चाहन्छु ।’

यो अभियानलाई सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटोको संज्ञा समेत दिइन् ।

उनले कतिपय सामाजिक विकृति र विसंगति विद्यमान रहेको भन्दैे चिन्ता व्यक्त गरिन् । ‘यो चिन्ताको बिषय हो’ उनले भनिन्,’यसको अन्त्यका लागि हामी सबै कृयाशील व्यक्तिलाई अगाडि आउनु जरुरी छ ।’

तराई मधेस कृषि क्षेत्र भएपनि उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखद भएको उनले बताइन् । राष्ट्रपति भण्डारीले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम र स्थानीय श्रोत र साधनको भरपूर उपयोग गरेर आर्थिक समृद्विमा लाग्न सबैसँग आग्रह गरिन् ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीलाई संघीय सरकारले राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने धारणा राखे । प्रदेश सरकारले प्रादेशिक रुपमा मनाउँदै सोमबार विदासमेत दिएको छ ।

जानकी मन्दिरलाई संघीय सरकारले आफ्नो नजरबाट टाढा राखेको उनको गुनासो छ ।