बैशाख १, २०८१ शनिबार

धौली, धनी र पुनीको कथा : ‘यस्तै हुँदो हो त दर्जनौं सन्तान गोठमै मर्ने थिएनन्’



मुगु – गोठमा १० सन्तान जन्माएकी सोरु गाउँपालिका– ७ सिप गाउँकी धनसरा विष्टका चार जना छाेराछाेरी मात्र बाँचे ।

सुरक्षित प्रसूति सेवाको व्यवस्था नहुँदा सन्तान गुमाएकाे पीडा सम्झेर उनी भक्कानिन्छिन् ।

धनसरकाे भन्दा अझ ठूलाे पीडा छ साेही गाउँकी ५५ वर्षीया धौली कामीकाे । उनले गोठमै ११ सन्तान जन्माइन् । नौजनाको मृत्यु भयो, जम्मा दुई छोरा बाँचे । 

आफूले भाेगेकाे दु:ख सम्झेर जति त्याे भन्दा बढी अहिले खुसीका आँसु बगाइन् किनकि अब गाउँमा कसैले पनि सुत्केरी हुँदा आफूले जस्ताे दु:खका दिन भाेग्नुपर्ने छैन ।

“छोरी–बुहारीहरू सुरक्षित सुत्केरी हुन पाउने भए”, उनी भन्छिन्, “हाम्रा दिनमा यस्तै सुविधा भएको भए यति धेरै सन्तान गोठैमा मर्ने थिएनन् ।”

धाैलीका पालामा महीनावारी हुँदा महीनाको ७ दिन र सुत्केरी हुँदा ३० दिन गोठैमा बस्नुपर्थ्याे ।

ब्याक टु लाइफ इबी नेपालको आर्थिक सहयोग र कर्णाली गरीबी न्यूनीकरण तथा विकास मञ्चको सहजीकरणमा सोरु गाउँपालिका– ७ को सिप गाउँमा प्रसूतिगृह सञ्चालनमा आएको हो ।

वर्षौंदेखि यस क्षेत्रका महिलाले प्रसव पीडा भोग्दै आएकोमा अब सुरक्षित सुत्केरी सेवा दैलोमै प्राप्त गर्ने भएकोमा महिलाहरू खुसी छन् ।

गोठमा ६ बच्चा जन्माएकी पुनिकलाका चारजनामात्र जीवित रहेकी सोही वडाको बुम्च गाउँकी ६२ वर्षीया पुनिकला बिष्ट अबका दिन छाेरी,बुहारीका बाँच्ने दिन भन्दै खुसी ब्यक्त गर्छिन् । छन् । “अबका छोरी, बुहारी, नातिनीलाई अकालै मर्न नपर्ने भयोे,” उनले भनिन् “हाम्राे पालामा पनि यस्तै हुँदाे हाे त दर्जनाैं सन्तान गोठमै मर्ने थिएनन् ।”

यसअघिसम्म गोठमै सुत्केरी हुनुपर्ने अवस्था रहेका मुगुको विकट गाउँमा अब भने सुत्केरी हुँदा
आमा र बच्चाकाे ज्यान जाेगिने भएकाे छ ।

पहिला धेरै आमा र बच्चाले ज्यान गुमाए पनि अब त्यो अवस्था नआउने मुगु क्षेत्र नम्बर (ख) का प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले बताए । 

“कैयौ आमा तथा बच्चाले गोठमै ज्यान गुमाएको आफूले देखेको छु, तर अब यहाँका करीब १३ गाउँका महिलाले सुरक्षित प्रसूति सेवा पाउने छन्।” उनले भने । 

सोरु गाउँपालिका अन्तरगत पुरुमुरु, जिमा, बन्जा, ख्याल्च, बुम्च, सिरूपाटा, गोयलपानी, बाडुङ्ग्री, सिप, गिलाहा, रुम, नुवाकोट, कालै, सिड्डी, खनाया लगायत १३ गाउँका गर्भवती आमाले यस प्रसूतिगृहबाट सेवा लिन सक्नेछन् ।

रु ५१ लाख १० हजार ३ सय लागतमा निर्माण भएको उक्त प्रसूती गृहमा ३६ लाख ७३ हजारमा नौ कोठे पक्की भवन, ७ लाख ४२ हजारको सोलार सिस्टम, १ लाख ५० हजारको खानेपानी धारा र शौचालय निर्माण भएका छन् ।

उक्त भवनमा ३ लाख २५ हजारको स्वास्थ्य सामग्री र २ लाख १९ हजारको फर्निचर जडान गरिएको कर्णाली गरीबी न्यूनीकरण तथा विकास मञ्चका कार्यकारी निर्देशक शिवचन्द्र कार्कीले बताए ।

मुगुमा ब्याक टु लाइफ इबीले कर्णाली गरीबी न्यूनीकरण तथा विकास मञ्चको सहकार्यमा २ वटा, हेरेन्डेक मुगुको सहकार्यमा ८ वटा प्रसूतिगृह निर्माण गरिसकेको छ । २ वटा निर्माणाधीन अवस्थामा रहेको हेरेन्डेक मुगुले जनायो ।