चैत्र १६, २०८० शुक्रबार

विवाहकाे १० वर्ष, डिभाेर्स, बंशनास र आत्महत्या : पाँचथर घटनामा लुकेकाे रहस्य




पाँचथर – मनकुमारी फियाको बिबाह १० वर्ष अघि छिमेकी गाउँका मानबहादुर माखिमसँग राजीखुसी विवाह भयो । विवाहको डेढ वर्षपछि जन्मिएका जुम्ल्याहा बच्चाको केही समयमै मृत्यु भयो । त्यसपछि मानबहादुर वैदेशिक रोजगारीमा गए । मनकुमारी माइतिमा बसिन् ।

पाँचवर्ष विदेश बसेर फर्केका मानबहादुरले श्रीमतीलाई घरमा लगे तर झगडा भएपछि उनी माइतीमै फर्किन् । श्रीमान श्रीमतीको मिलाप नभएपछि मनकुमारीले छोडपत्रका लागि अदालतमा मुद्धा दायर गरिन् ।

७ जेठको बिहानै मिक्लाजुङ ३ मा दुई परिवारका ९ जनाको विभत्स हत्याको घटना सार्वजनिक भयो । त्यहि घटनामा मारिइन मनकुमारी पनि । मनकुमारीमात्र होइन उनका बाबुआमा, दिदि भिनाजु र उनका छोराछोरी, माइतिका अन्य सदस्य समेत गरि ९ जनाको हत्या भयो ।

हत्या गरिनेमा ७ जना महिला छन् । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्।
उनी गम्भीर घाइते छिन् ।

३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, फर्सिसामा फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुम लिम्बू, ४१ वर्षीय धनराज शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र को विभत्स हत्या भएको छ । मनकुमारी बमबहादुरकी कान्छी छोरी हुन् ।

श्रीमतिको विग्रेको सम्बन्धका कारण ससुराली र साढुदाईसँगको कलहको बारेमा स्थानीयले दिएको जानकारीका आधारमा प्रहरीले मानबहादुरले नै हत्या गरेको हुनसक्ने अनुमान गरेको छ । प्रहरीका अनुसार कारण डिभोर्स हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले सङ्घीय प्रहरी एकाइ धरानको टोलीसमेतको प्रारम्भिक अनुसन्धानबाट माखिमले नौ जनाकै हत्या गरेको देखिएको बताए । भागेर बाँच्न सफल भएकी सीता खजुमलेम गलबन्दीले मुख छाेपेर आएकाे हत्याराकाे हुलियाका आधारमा पनि प्रहरीले माखिमलाई शं‌का गर्‍याे ।

मृतक मनकुमारीका जेठा भिनाजु रणबहादुर लिम्बूका अनुसार मनकुमारीले मानबहादुरलाई सम्बन्ध विच्छेद गर्न दबाब दिँदै आएकी थिइन् । “सालीले सम्बन्ध विच्छेद गर्न चाहने, साढु भाइले नमान्ने । यही कारण द्वन्द्व उब्जिएको थियो ”, उनले भने ।

वडाध्यक्ष हस्तराज फियाकका अनुसार उनीहरुबीच हालैमात्र सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढेको थियो । “मानबहादुरले सम्बन्ध विच्छेद गर्न चाहेको थिएनन् तर पनि उनी केही साताअघि सम्बन्ध विच्छेदका लागि तयार भएका थिए”, वडाध्यक्ष फियाकले भने, “यो अकल्पनीय घटना सम्बन्ध विच्छेद स्वीकारोक्तिको परिणाम हो । हाम्रो सिङ्गो गाउँ आँशुमा डुबेको छ ।”

मानबहादुर तीन वर्षदेखि माइतीमा रहेकी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न नमान्नुको कारण आश्चर्यजनक रहेकाे वडाध्यक्ष फियाक बताउँछन् “यता नआए पनि एकोहोरो भएका छन् भन्ने सुनेका थियौँ”, वडाध्यक्ष फियाकले भने, “पछिल्लो पटक उनी लुकिछिपी यहाँ हिँड्ने गरेको सुनिएको थियो ।”

स्थानीय शिक्षक गणेशप्रसाद लुइँटेलका अनुसार मृतक शेर्माले त्यहि कारणले आफू असुरक्षित रहेको मनकुमारीका भिनाजु धनराजले बताएका थिए “हामी असुरक्षित हुनसक्छौँ भनेर धनराजले मलाई हिजो मात्रै भनेका थिए”, लुइँटेलले भने “आज यस्तो आपत आइ लाग्यो ।”

तर त्यसरी हत्याको आशंका गरिएका मानबहादुर घटना भएको स्थानभन्दा २५ किलोमिटर टाढा, आफ्नो घरबाट करिब डेढ किलोमिटर तल मलेदोको रुखमा झुण्डिएको अवस्थामा फेला परे ।

उनको शव फेला परेपछि नौ जनाको सामूहिक हत्यामा मानबहादुरको संलग्नता रहेको पुष्टि भएको प्रहरी निरीक्षक पौडेलको भनाई छ । “तर, उसले एक्लै सबैमाथि खुकुरी हान्यो वा उसलाई सघाउने कोही थियो, त्यो खुल्न बाँकी छ”, पौडेलले भने, “अनुसन्धानबाट यो कुरासमेत खुल्ला ।”

तर यति कथा बाेकेकाे रहस्यमयी घटनाले केही प्रश्नहरु जन्माएकाे छ । जुन अनुत्तरीत प्रश्नकाे जवाफ घटनाकाे बारेमा समाचार पढ्नेहरुले खाेजिरहेका छन् ।

१– गाउँलेले थाहै पाएनन् ? 
सोमबार राति धनराजको घरमा जस्मिताको उपचारका लागि धामी राखिएको थियो । धामीलाई धनराजले आफ्नै घरमा बस्ने जिद्दी गरे पनि धामीले मानेनन् । एकान्तमा रहेका दुवै घरमा एक–एक जनामात्रै पुरुष सदस्य थिए ।

धनराजको घरभन्दा माथि वडा कार्यालय तथा एउटा घर छ तर धनराजको कच्ची घर तल्लोपट्टि फर्किएका कारण घटना स्थानीयले राति जानकारीसमेत पाएनन् ।

बमबहादुरको घरको छेउमा दुई वटा घर रहे पनि एउटामा एक वृद्ध महिला र अर्कोमा एक युवतीमात्रै बस्दथे । प्रहरी अनुसन्धानले पनि एकान्तको मौकामा सबैमाथि खुकुरी प्रहार भएको देखाएको प्रहरी निरीक्षक पौडेलले उल्लेख गरे ।

२– रहस्यमयी र विवादित घटना हुँद प्रहरी प्रशासनले के गर्‍यो ?
सो गाउँमा गत साता धनराजको घरमा खाजा खाने सिलाइ–कटाइसम्बन्धी तालिमका सहभागी बिरामी भएका थिए । पाँचजनालाई जिल्ला अस्पत्तालमा उपचार गरिएको थियो । दुईजना गम्भीर बिरामीलाई स्थानीय समर्पित हस्पिटल लगिएको थियो ।

नयाँपत्रिकाका अनुसार समर्पितका डा‍. विशालचन्द्र सुवेदीका अनुसार अर्को दिन बिरामीका आफन्तले सिसाको धुलो मिसिएको नुन पनि लिएर गएका थिए । जिल्ला प्रशासन र प्रहरीका हाकिमहरू पनि पुगेका थिए ।

नुनमा सिसाको धुलो मिसाएर हत्याको प्रयास गरेको भन्दै ज्वाइँ मानबहादुरमाथि नै आशंका गरिएको थियो ।

साढुको घरमा आएर भान्सामा पसेर उनले तरकारीमा सिसा कसरी मिसाए ? खानामा सिसा, सामूहिक हत्याको प्रयास, तर प्रहरीले किन अनुसन्धान गरेन ? खानामा सिसा मिसाएर सामूहिक हत्याको प्रयास कसले र किन गरेको थियो ? प्रहरी प्रशासनले किन अनुसन्धान गरेन ?

३– मान बहादुर २५ किलोमिटर कसरी हिँडे ?
नयाँपत्रिकाका अनुसार मानबहादुर पनि मुख्य घटनास्थलभन्दा करिब २५ किलोमिटर टाढा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मानबहादुरसँग मोटरसाइकललगायत कुनै सवारीसाधन नभएको स्पष्ट भएको छ ।

तर, सोमबार राति ससुरा र ज्वाइँको घरमा सुतेका नौजनाको हत्या गरेर मानबहादुर बिहान हुनुअघि २५ किलोमिटर टाढा कसरी पुगे ? प्रहरीले जवाफ दिन बाँकी छ ।

४– मानसिक विचलन थियो ?
घरेलु विवाद रवि इलाका प्रहरी कार्यालयसमेत पुगेको थियो । प्रहरीले मिलापत्र गराए पनि श्रीमती माइत बस्दै आएकी थिइन् । पारिवारिक विवादले मानबहादुर मानसिक तनावमा भएको स्थानीयहरूले बताएका छन् । तर, मानसिक रूपमा विचलन भएको व्यक्तिले खुकुरीले दुई परिवार सखाप कसरी गरे ?

५- झोला एकातिर, मान्छे अर्कोतिर, कसरी ?
घटनास्थलबाट २५ किलोमिटर टाढा लुमाङदिनको जंगलमा गएर मानबहादुरले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । तर, करिब दुई किलोमिटरअगाडि उनको झोला भेटिएको छ ।

रगतले लतपतिएका सेन्डोसहित तीनवटा टिसर्ट झोलामा भेटिएका छन् । खुकुरी पनि त्यहीँ छ । तर, दुई किलोमिटर पर झुन्डिएको अवस्थामा फेला परेका मानबहादुरले कालो पाइन्टमाथि हरियो टिसर्ट लगाएका छन् । हरियो टिसर्टभित्रको सेतो सेन्डो पनि लत्रिएको अवस्थामा देखिन्छ । तर, यी कुनै पनि लुगामा रगतको निसाना देखिँदैन ।

झोलामा सेन्डोसहित तीनवटा टिसर्ट र एउटा हाफपाइन्ट भेटिएको छ । यी सबै कपडा रगताम्मे छन् । एउटा व्यक्तिले तीन–तीनवटा टिसर्ट किन लगायो ? सबैमा रगत कसरी लाग्यो ? यो प्रश्नले घटनालाई रहस्यमयी बनाएको छ ।

हत्यापछि आत्महत्या गर्न हिँडेका मानबहादुरले सम्पूर्ण कपडा किन फेरे ? उनीसँग दुईवटा सेन्डोसमेत कसरी भए रु घटना लुकाउनु थियो भने २३ किलोमिटर हिँडिसकेका उनले कपडा किन लुकाए रु थप दुई किलोमिटर हिँड्नासाथ आत्महत्या कसरी गरे रु यो प्रश्न झन् रहस्यमयी छ ।

६– शरीरमा रगत किन पखाले ?
मानबहादुर झुन्डिएको रुखको फेदमा भेटिएका चप्पलमा रगतको कुनै निसान छैन । त्यत्रो नरसंहारमा संलग्न भएको मान्छेको शरीर, लुगा र चप्पलमा समेत रगतको निसान किन छैन ?

प्रमाण लुकाउन खोजेको मान्छेले आत्महत्या किन गर्‍यो ? हत्या गर्न खुकुरी बोकेर हिँडेको मान्छेले आत्महत्या गर्न डोरी कसरी बोक्यो ?