बैशाख १, २०८१ शनिबार

भरतपुरमा महिला पोलिटेक्निक कलेज खुल्ने



चितवन – भरतपुरमा महिलाका लागि मात्रै अध्ययन लक्षित गरी पोलिटेक्निक कलेज स्थापना हुने भएकाे छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले भरतपुर महानगरपालिका–२३ जगतपुरमा कलेज सञ्चालन गर्ने भएकाे हाे ।

कलेजका लागि महानगरपालिकाले सरस्वती माध्यमिक विद्यालय पछाडि पाँच बिघा जमीन महिला पोलिटेक्निकका लागि उपलब्ध गराएको छ ।

महानगर प्रमुख रेनु दाहालले आउँदो शैक्षिक सत्रबाटै कार्यक्रम सञ्चालन गर्न सक्ने गरी समन्वयको काम महानगरले गरिरहेको बताइन ।

प्रमुख र उपप्रमुख महिला भएको महानगरपालिकाले यस कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ।

सिटिइभिटीका योजना महाशाखा निर्देशक रमेश बखतीका अनुसार महानगरपालिकाले समन्वय गरिरहेकाले आउँदो शैक्षिक सत्रबाट दुई वटा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

सो स्थानमा रहेको सरकारी विद्यालयमा नयाँ भवन बन्दै गरेको छ । पहिलो वर्षका लागि सोही विद्यालयको भवन प्रयोग गर्न सकिने महानगरले जनाएकाले त्यही ठाउँमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको उनले बताए ।

पहिलो वर्ष होटल व्यवस्थापन र फार्मेसी विषयको पढाइ शुरु गर्ने योजना बनाइएको छ ।

कार्यक्रम सञ्चालनका लागि सरकारको बजेट वक्तव्यको पर्खाइमा रहेको बखतीले जानकारी दिए ।

खाली जग्गाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी शिक्षा मन्त्रालयमार्फत् बजेटका लागि अर्थमन्त्रालयमा पठाइने बताइएको छ ।

सिटिइभिटीले देशका छवटै महानगरपालिकामा महिला पोलिटेक्निक स्थापना गर्ने योजना बनाएको छ ।

आउँदो शैक्षिक सत्रबाट भने भरतपुर, पोखरा र विराटनगरमा मात्र कार्यक्रम शुरु गर्ने तयारी गरिएको बखतीले बताए ।