बैशाख २, २०८१ आईतबार

विद्यालयमा सेनेटरी प्याड राखेपछि छात्राको उपस्थिती बढ्यो



सेनेटरी प्याडको व्यवस्था गरेपछि लमजुङकाे गंगामिलन माविमा छात्राकाे उपस्थिती नियमित भएकाे छ ।

मर्स्याङदी गाउँपालिका ५ घेर्मुमा रहेको गंगामिलन मावि महिनावारी भएकाे समयमा पनि छात्राहरू कक्षाकाेठामा उपस्थित हुने क्रम बढेकाे हाे ।

विद्यालयमै सेनेटरी प्याड उपलब्ध भएपछि महिनावारी भएको अवस्थामा पनि विद्यालयमा बस्न समस्या नभएकाे छात्राहरूले बताएका छन् ।

विद्यालयमा सेनेटरी प्याड राखिएपछि रजस्वला हुँदा कक्षा छाड्नुपर्ने समस्या हटेको कक्षा ९ की छात्रा मनिता गुरुङले बताइन् । ‘महिनामा तीन–चार दिनसम्म कक्षा छुट्दा पढाइमा समस्या थियो ’गुरुङले भनीन् , ‘अहिले छात्रालाई धेरै सजिलो भएको छ ।’

विद्यालयमा महिनावारी भएको अवस्थामा छात्राले महिला शिक्षकसँग सम्पर्क गरेर सेनेटरी प्याड लिने व्यवस्था मिलाइएकाे छ ।

विद्यालयमा रजस्वला भएमा छात्राहरूले लाज नमानी शिक्षकसँग सेनेटरी प्याड माग्ने गरेको गंगामिलन माविकी शिक्षक सुजना खतिवडाले बताइन् ।  

आरसिडीसी हरियो बन कार्यक्रमले विद्यालयमा १ सय ५० प्याक  सेनेटरी प्याडको व्यावस्था गरेको हो ।

साे विद्यालयमा १ सय ३० भन्दा बढी छात्रा लाभान्वित भएका छन् ।

महिनावारी भएपछि साथीले जिस्काउने, घृणा गर्ने र अप्ठ्यारो महसुस हुँदा कक्षा कोठामा बस्न नसक्ने अवस्था भएपछि विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरिदिन छात्राले माग गरेका थिए ।