बैशाख २, २०८१ आईतबार

विश्व महिनावारी स्वच्छता दिवस



आज विश्व मर्यादित महिनावारी स्वच्छता दिवस । विभिन्न चेतनामूलक कार्यक्रमकाे आयोजना गरी मनाइँदै छ ।

महिनावारीमा महिलाका लागि स्वास्थ्य सुविधाकाे व्यवस्था र यससम्बन्धी गलत धारणा हटाउने लक्ष्यका साथ याे दिवस मनाउने गरिन्छ।

संयुक्त राष्ट्र संघले ‘लैंगिक समानता हासिल गर्न महिनावारी बार्ने कारण एक बाधक हो’ भनेर
सन् २०१४ मा घोषणा गरेपछि यस विषयले थाेरै भएपनि  ठाउँ पाएको हाे।

तर नेपालले भने सन् २०१५ देखि याे दवस मनाउन थालेकाे हाे ।

विकसित मुलुकका महिलाले अविकसित मुलुकमा घुम्ने वा कामको सन्दर्भमा महिनावारीकाे समयमा त्यहाँका महिलाहरुको स्थिति भयावह देखेर त्याे यर्थातबारे वकालत गर्न थालेपछि मात्र यो महिनावारी विस्तारै छलफलको विषय बन्न थाल्यो।

सरसफाई वा चर्पी, पानी, स्यानिटरी सामग्रीलगायतका विषय अभियान नै बन्यो ।

दिवसकाे अवसरमा खानेपानीमन्त्री बिना मगरले यसपालिदेखि सरकारी स्तरबाट महिनावारी स्वच्छता दिवस मनाउने घोषणा गरेकी छन् । 

मन्त्रालयमा मेसिनबाट स्यानिटरी प्याड

दिवसको अवसरमा खानेपानी मन्त्रालयले महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेको छ ।

खानेपानी मन्त्री बिना मगरले महिलाहरुलाई महिनावारीको समयमा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात गरेकी हुन् । दुई रुपैंयाको सिक्का हालेपछि उक्त मेसिनबाट प्याड आफैं निस्कने गर्दछ । मन्त्रालयमा कार्यरत महिला कर्मचारीहरु र काम विशेषले आउने जो कोही महिलाहरुले समेत उक्त प्याड प्रयोग गर्न सक्नेछन् ।

मन्त्रालयको महिला शौचालयमा प्याड मेसिन जडान गरिएको छ । मेसिनको शुरुवात गर्दै मन्त्री मगरले यस्तो प्रविधिको मेसिन विभिन्न सार्वजनिक महिला शौचालयहरुमा राख्दै लगिने बताइन्। उनले भनिन्, ‘यो त हामीले सुरुवात मात्र गरेका हौं । महिनावारी हुने समयमा महिलाहरुलाई समस्या पर्ने गर्दछ । अझ सार्वजनिक महिला शौचालयहरुमा यस्तो मेसिन राख्न पाइयो भने महिलाहरुलाई धेरै सहज हुने गर्छ । हामी विस्तारै अन्य ठाउँहरुमा राख्दै जानेछौं ।’

मन्त्रालयले महिला तथा बालबालिका मन्त्रालयको भवनमा समेत स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ ।

त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो चरणमा सातै प्रदेशको नौ वटा ठाउँहरुमा महिला तथा अपाङ मैत्री स्मार्ट शौचालय बनाउने तयारी समेत गरेको छ । यी स्मार्ट शौचालयहरुमा स्यानिटरी प्याड भेन्डिङ मेसिन समेत जडान गरिने विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले जानकारी दिए।

दिवसकै सन्दर्भ पारेर एक्सपोज नेपालले शनिबार एक्सपोज नेपालले जनचेतनामुलक साईकल र्‍याली आयोजना गरेको थियाे ।

र्‍यालीपछि आयोजित सभामा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिनावारीको बेला हुने अपमान नेपाली समाजको ठूलो रोग भएको बताइन् ।

वक्ताहरूले महिनावारी महिलामाथि चर्काे विभेदको कारण बन्ने गरेकोमा महिलाहरुले दु:ख व्यक्त गरेका छन् ।