बैशाख २, २०८१ आईतबार

आज गणतन्त्र दिवस, राष्ट्रपतिले गणतन्त्र स्मारकको उद्घाटन गर्ने



काठमाडौं – आज गणतन्त्र दिवस । १० वर्षे सशस्त्र युद्ध र १९ दिने जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गरि गणतन्त्र स्थापना भएको ११ वर्ष पूरा भएको छ ।

२०६२–०६३ को जनआन्दोलनपछि भएको संविधानसभा निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्रको अन्त्य गरि गणतन्त्रको घोषणा गरेको थियो ।

गणतन्त्र दिवसको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकको उद्घाटन गर्दै छिन् ।

देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था शुरु भएको दिनलाई रुपमा प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा बिहान ८ बजेदेखि टुँडिखेलमा औपचारिक समारोह आयोजना गरिएको छ भने पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई राष्ट्रपतिले शितल निवासमा पदकसहित सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।

बेलुका ६ बजे नारायणहिटी दरबार परिसरमा निर्माण गरिएको गणतन्त्र स्मारक राष्ट्रपतिबाट उदघाटन गर्ने कार्यक्रम पनि तय भएको छ ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतले देशबासीलाई शुभकामना व्यक्त गरेका छन् ।

गणतन्त्र दिवसको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताएकी छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटामा रहेको भन्दै उनले दिवसले सबै नेपालीलाई राष्ट्रिय एकता प्रवर्द्धनसहित समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेकी छन् ।

उनले सबै नेपालीको समृद्धिको अपेक्षा साकार पार्नु सबैको सामूहिक उत्तरदायित्व भएको बताउँदै उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक सङ्कल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको उल्लेख गरेकी छन् ।

दिवसको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा लगायतले नेपाली जनतालाई शुभकामना दिएका छन् ।