बैशाख १२, २०८१ बुधबार

गर्भवतीलाई रक्त अल्पता भएपछि हेलिकप्टरबाट काठमाडौं



सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की एक गर्भवतीलाई रक्तअल्पता भएपछि हेलिकप्टरमार्फत काठमाडौंं पुर्‍याइएको छ ।

पाँच महीनाकी गर्भवती २२ वर्षीया देवीकला राईलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी काठमाडौं पुर्‍याएको हो ।

कडा रक्तअल्पता भएपछि उपचारमा समस्या भएको जिल्ला अस्पताल फाप्लुका प्रमुख डा मिङ्मार छिरिङ शेर्पाले जानकारी दिए ।

डा शेर्पाका अनुसार तीन पाउण्ड रगत दिएपछि त्यसको रियाक्सन (प्रतिक्रिया) शुरु भएपछि जीवन बचाउन काठमाडौं सिफारिस गरिएको हो ।

पारिवारिक अवस्था अत्यन्त नाजुक भएकाले थप समस्या भएको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए ।

गाउँपालिका र अस्पतालको अनुरोधमा प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको पहलपश्चात नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई काठमाडौँ लगिएको छ ।

‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५’ अनुसार उद्धार गरिएको हो । उनको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।

उक्त कार्यविधिमा लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भावस्थामा हातखुट्टा, शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्तअल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको रुपमा व्याख्या गरिएको छ ।

हवाई उद्धारकार्यको समन्वय गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिला सशक्तिकरण महाशाखा प्रमुखको संयोजकत्वमा गठित आठ सदस्य समितिले काम गर्छ ।


स्थानीय तहमा हवाई उद्धारकार्यका लागि समन्वय गर्न गाउँपालिका तथा नगरपालिकाका अध्यक्षको संयोजकत्वमा समिति बनाउने उल्लेख गरिएको छ ।