बैशाख ९, २०८१ आईतबार

सरकारीमा ११ कक्षा भर्ना भएपछि शान्ताको भावुक स्टाटस !



काठमाडौ-नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सचेतक शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छन् । एइई परीक्षामा ग्रेड बि ल्याइएकी चौधरी काठमाडौँको रत्नराज्य माविमा मानविकी सङ्कायमा भर्ना भएकी हुन् । आज १० बजे नयाँ बानेश्वर स्थित रत्नराज्य पुगेर भर्ना भएकी हुन् । विभिन्न निजी विद्यालयहरुले उनलाई पढ्नका लागि अफर गरेका थिए ।

तर उनले सरकारी विद्यालयलाई राम्रो बनाउन र पढाईलाई गुणस्तरीय बनाउन सरकारी विद्यालय छनौट गरेको बताइन् । चौधरीले आफुलाई पढ्नका लागि अफर गर्ने निजी विद्यालयलाई धन्यवाद दिइन् ।

उनले ११ कक्षामा भर्नाभएपछि सामाजिक सञ्जाल फेसबुकमा भावुव स्टाटस समेत लेखेकी छिन् ।
‘ प्राय कक्षा ११ मा भर्ना हुने १५/१६ वर्षको उमेरमा हो । तर त्यो उमेरमा परिस्थितिले मलाई झोला बोकेर कलेज जानेहरुलाई टुलुटुलु हेरेर बस्ने बनायो , मुटु समातेर धरधरी रुने बनायो । आज मात्रै नयाँ बानेश्वर स्थित रत्नराज्य मा . वि को मानविकी संकायमा भर्ना भएको छु । दु:खको सागर पौडिदै गरेको मान्छे म , त्यही सागरबाट उतारेर मलाई संसार बुझ्न सक्ने र बिस्तारै मनभित्रका रहरहरु पुरा गर्न वातावरण निर्माण गरिदिने मेरो पार्टी तत्कालीन नेकपा( एमाले ) अर्थात हालको नेकपालाई हार्दिक धन्यवाद छ । हृदयदेखि नै धन्यवाद छ अग्रज नेताहरुलाई , शुभेच्छुक साथीहरूलाई , आफन्तजनहरुलाई र शिक्षाको ज्योति दिएर बाटो देखाउँदै गर्नु हुने आदरणीय व्यक्तित्वहरुलाई । ईच्छा मेरो , साथ तपाईंहरुको । तत्परता मेरो , प्रेरणा तपाईंहरुको । गुन तिर्न नसकुँला तर अन्तिम स्वाससम्म सम्झिरहने छु तपाईंहरुको साथलाई र भनिरहने छु “आभारी छु “।’

२०७३ सालमा दाङको डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ सुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रूपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन्।

अनि खुला विद्यालयमा भर्ना भइन् । उनी यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइईको परीक्षा दिएकी हुन् । बाल्यकालदेखि विद्यालय जाने रहर पुरा भएकोमा खुसी व्यक्त गरिन् । साथै उनले पढाइलाई उमेरले छेक्दैन भन्ने गतिलो उद्धाहरण बनेकी छन् ।

उनले विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि पढाइको महत्त्व बुझेको बताएकी थिइन् ।जसरी भए पनि पढाइ भने नछाड्ने उनी बताउँछिन् ।

अठ्तीस वर्षीया चौधरीलाई सकभर स्नातकोत्तर अझ विद्यावारिधि गर्ने धोको छ । हामीसँग कुरा गर्दै कक्षा ११ मा भर्ना भएको बताइन् । रत्नराज्य माविमा उनको रोल नम्बर ६२ हो । आज उनलाई विद्यालयमा एक कार्यक्रमकाबिच स्वागत समेत गरेका थिए ।