बैशाख १, २०८१ शनिबार

सबैभन्दा बढी भ्रष्टाचारीलाई कारबाही यही सरकारले गर्छ :मन्त्री थापा



काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले भ्रष्टाचारीहरुलाई सबैभन्दा बढी कारबाही गर्ने यो नै पहिलो सरकार भएको बताएकी छिन् ।

उनले इतिहासमा सबैभन्दा बढी भ्रष्टाचारीहरुलाई कारबाही भएको यो पटक भएको बताउदै सरकार भ्रष्टाचार रहित राज्य निर्माणमा लागि परेको बताइन् । संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एशोसिएसन एन प्याब्सन ले आज आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तरक्रियामा कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रधानमन्त्रीले सपथग्रहण गर्दा नै भ्रष्टाचार न्युनीकरण गर्न र सुशासन कायम गर्न कुनै पनि खालको सम्झौता नहुने गरी काम गर्न निर्देशन दिनुभएको स्मरण गरिन् ।

उनले त्यसैको फलस्वरुप सरकार देशमा भएका विकृती र विसङ्गतीका बिषयबस्तुलाई निर्मुल पार्नका लागि गम्भीर भएर लागेको बताइन् ।

थापाले सबै क्षेत्र, वर्ग र तहलाई सम्बोधन गरेकाले नेपालको संविधान संसारकै उत्कृष्टमध्येको एक हो भन्दै बालबालिकाको मौलिक हकलाई पनि यसले सुनिश्चित गरेको बताइन् ।

उनले संविधानमा व्यवस्था गरिएका बाल अधिकारको कार्यान्वयनका लागि गम्भीर र संवेदनशीलरूपमा लागेको जनाउँदै बालबालिका देशको भविष्य भएकाले बालबालिका ऐन, २०७५ को कार्यान्वयनसँगै तीन तहका सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर बालअधिकार स्थापित गर्नुपर्ने बताइन् ।