बैशाख २, २०८१ आईतबार

सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तीलाई प्रोत्साहित गर्न सेवा दिवस मनाइदैं



काठमाडौँ-सुखी र समृद्ध राष्ट्रिय सोच,समाज विकास हाम्रो अठोट भन्ने मुल नाराका साथ सरकारले ४० औँ सामाजिक सेवा दिवस मनाउने भएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्था र व्यक्तीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले २०३६ साल देखी प्रत्येक बर्षको असोज ६ गते मनाइने सामाजिक सेवा दिवस यो बर्ष पनि भव्यताका साथ मनाउन लागिएको आईतबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाथा थापाले समाजमा पछि परेका समुदायको हकहितको लागि सामाजिक क्षेत्रमा क्रियाशिल संघसंस्थाले खेलेको भुमिका स्मरणीय रहेको बताइन् ।

उनले सामाजिक सेवा दिवसले सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तीहरुलाई उत्साहित बनाउने विश्वास पनि व्यक्त गरिन् । मन्त्री थापाले समाजमा पिछडिएका अल्पसंख्यक समुदायको सेवालाई कदर गर्दै सामाजिक सेवा दिवस मनाउन लागिएको जानकारी दिइन् ।

उनले गैर सरकारी क्षेत्रको सेवालाई समन्वय र सहजीकरण गर्ने समाज कल्याण परिषद्लाई थप प्रभावकारी बनाउन यसको पुर्नसंरचनाको तयारी समेत भइरहेको जानकारी गराइन् ।

सरकारले समाजिक सेवा दिवसको अवसरमा यो बर्ष पनि समाजसेवाको क्षेत्रमा उत्कृष्ट सेवा गर्ने संस्थालाई एक लाख राशीको तुलसी मेहर समाजसेवा पुरस्कार प्रदान गर्न लागेको छ भने उत्कृष्ट समाजसेवी मध्येबाट ७ जनालाई पुरस्कृत पनि गर्दे छ ।

करीब १८ सय व्यक्तीहरु सहभागी हुने दिवसमा विकास प्रर्दशनी समेत हुने जनाइएको छ । समाज कल्याण परिषद्ले भोली विहान काठमाडौंको भृकुटी मण्डपमा प्रभातफेरी गर्ने र सामाजिक विकास मन्त्रालयको नेतृत्वमा ७ वटै प्रदेशमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको सहभागितामा विभिन्न कार्यक्रम हुने परिषद्ले जनाएको छ ।

सामाजिक सेवा दिवसका अवसरमा भोली नै ८० भन्दा बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संसथाले विकास प्रदर्शनी गर्ने र तिलगंगा आखाँ अस्पताल, अडरा संस्था र स्पाइनल कड इञ्जुरी संस्थाबाट निःशुल्क आखाँ शिविर, स्वास्थ्य तथा मेरुदण्डसम्बन्धि उपचार गर्ने व्यवस्था रहेको परिषद्का सदस्य सचिव राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।