बैशाख १३, २०८१ बिहीबार

विगत सम्झिएर घायल बनिन् नेकपा नेतृ शान्ता



काठमाडौ-तिम्ले खाँदा टुलु-टुलु हेर्नै पर्ने हुन्थ्यो मैले !
आफ्नै विगत सम्झिएर धेरै घायल हुन्छु अहिले !!
जब तिम्रो हात मेरो झुपडीमा आगो बाल्यो !
मेरो मनमा बिद्रोहको ज्वाला दन-दन बल्न थाल्यो !!

यी शब्दकी रचनाकार हुन नेकपा संसदिय दलकी सचेतक शान्ता चौधरी । उनले बाल्यकालमा कमलरी जीवन बिताउँदाको क्षणलाई शब्दमा उतारेर संगीत भरेकी हुन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले एक कार्यक्रमका बिच नेकपा नेतृ चौधरीको गित विमोचन गरेका छन् । जिन्दगीको भोगाइलाई किताबमा लेखिसकेकी उनले ‘कोही बाँच्छन् काँडा बिच,कोहीको जीवन फूल भयो’ भन्दै भावनात्मक शब्द लेखेकी छन । चौधरीले रचना गरेको गीतको श्रव्य ,दृश्य हेरीरहदाँ प्रधानमन्त्री ओली भावुक भएका थिए ।

गीतकार चौधरीले आफुले बाल्य अवस्थामा भोग्नुपरेका दु:ख,व्यथा र संघर्षलाई व्यक्त गरिरहदा प्रधानमन्त्री ओलीका आँखा रसाएका थिए । विमोचन समारोहमा नेकपाका उपाध्यक्ष वामदेव गौतम , महासचिव विष्णु पौडेल , भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल , राधिका शाक्य लगायतको सहभागीता रहेको थियो ।

भगवती न्यौपाने र शान्ता चौधरीको शब्द रहेको गीतमा शिशिर योगी , बद्री पंगेनी र अञ्जु पन्तको स्वर रहेको छ । सन्तोष श्रेष्ठको संगीत तथा प्रकाश भट्टको भिडियो निर्देशन रहेको छ ।