बैशाख १०, २०८१ सोमबार

‘पत्रकारहरुले आवाज विहिनहरुको आवाज बाहिर ल्याइदिनुपर्छ’: मन्त्री थापा



फोनिज यूके पत्रकारिता सम्मानबाट पत्रकार शान्ति गुरुङलाई सम्मान गर्दे महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा ।

काठमाडौ– महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले आदिवासी जनजाति र अन्य आवाज विहिनहरुको आवाज पत्रकारहरुले बाहिर ल्याइदिनुपर्ने बताएकी छन् ।
यस वर्षको फोनिज यूके पत्रकारिता सम्मानबाट पत्रकार शान्ति गुरुङलाई आफ्नो कार्यकक्षमै सम्मान प्रदान गर्दै मन्त्री थापाले यस्तो बताएकी हुन् ।

‘आदिवासी जनजातिहरु कर्म गरेर खान रुचाउँछन् । बाहिर आउन चाहँदैनन् । उनीहरुको आवाज बाहिर ल्याउन आदिवासी जनजाति पत्रकाहरुले खेलिरहेको भूमिका स्रहानीय छ,’ उनले भनिन, ‘सञ्चार माध्याम आवाज विहिनहरुको आवाज बन्नुपर्छ । मिडियाले त्यो भूमिका खेल्दै आएको छ ।’

कार्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङले आफूहरुले पत्रकारिताको माध्यामबाटै समाज रुपान्तरण गर्न चाहेको बताए । फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुङ राईले बेलायत शाखाले पुरस्कार स्थापना गरेर नेपालमा पत्रकारिता गरिरहेकाहरुलाई प्रोत्साहन र सम्मान गर्न खोजेको बताए ।

पुरस्कारका संस्थापक बेलायती सेनाका अवकाश प्राप्त मेजर सोनामछिरिङ शेर्पाले आफूहरुले बेलायत बसिरहेको भए पनि मन नेपालमै भएको र नेपालकै लागि केही गर्न खोजिरहेको बताए । सम्मानित गुरुङले सम्मानबाट आफूलाई पत्रकारितामा अझै खरो उत्रन हौसला प्रदान भएको बताए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज, बेलायत शाखाले प्रदान गर्ने फोनिज यूके पत्रकारिता सम्मान रु ३० हजार राशीको छ । रेडियो नेपालको गण्डकी प्रादेशिक प्रशारण केन्द्र पोखरामा कार्यरत गुरुङ २०५४ सालदेखि रेडियो नेपालमा कार्यरत छिन् ।