आश्विन २६, २०८१ शनिबार

लभ भलिवल संग, तर सुखद बिदाई



गोविन्दराज नेपाल

केही समयअघि सामाजिक सञ्जालबाटै भलिबल खेलाडी निमा श्रेष्ठले क्लबका साथै राष्ट्रिय टिमबाट पनि सन्यासको घोषणा गरिन्। निमाको योजना थियो- तेस्रो एनभिए क्लब च्याम्पियनसिप खेलेर सन्यास लिने र भलिबलबाट सुखद बिदाई लिने। तर पोखराको लामाचौरमा भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रदर्शनले गर्दा नै उक्त प्रतियोगिता उनको अन्तिम बन्यो।

लामाचौरमा भएको प्रतियोगितामा आर्मीबाट खेलेकी निमालाई आफ्नै पूर्वक्लब एपिएफसँग हारेपछि एनभिएमा पनि रिजल्ट राम्रो आऊला लागेन। तर त्यही हार मात्रै सन्यासको कारण भने होइन। ‘नयाँलाई मौका दिनका लागि हामीले बाटो खुला गरिदिनुपर्छ। नयाँ काम थाल्दा खेल छाड्नैपर्ने हुन्छ,’ उनले प्रस्ट पारिन्, ‘यहाँ खेलेर मात्र पनि केही नहुने रहेछ। नयाँ काम गर्न र लाइफ सेक्युरका लागि पनि सन्यास लिएकी हुँ।’

खेलकुदका कारण उनको पढाइमा बाधा देखियो। समय दिन सकिनन्। उनी खेल छोड्नुको कारण यसलाई पनि लिन्छिन्। ‘मास्टर्सको थेसिस पनि बाँकी छ। खेल्दै पढ्दै गर्दा एउटा बाँकी बस्यो। टाइम दिनै सकिएन,’ उनको अबको लक्ष्य, ‘थेसिसलाई नै पूरा सयम दिएर चाँडै सकाउनतर्फ लाग्छु।’

भलिबल करिरको सुरुवात

निमाको भलिबल करिअर जावालखेल भलिबल ट्रेनिङ सेन्टरबाट अगाडि बढ्यो। एक दिन साथीसँगै उनी त्यही पुगिन् भलिबल खेल्न। स्कुल पढ्दा एथ्लेटिक्सकी खेलाडी निमाको भलिबल खेलमा त्यही टर्निङ प्वाइन्ट बन्यो।

‘साथीको आग्रहमा गएकी थिएँ,’ उनी त्यो दिन स्मरण गर्छिन्, ‘त्यहीँ अन्जु श्रेष्ठ, इन्दिरा निरौला, मनिता शाही जस्ता खेलाडीसँग खेल्ने अवसर पाएँ।’

महेन्द्र आदर्श विद्या आश्रम सातदोबाटोबाट एसएलसी सकेकी निमाले त्यसपछि पढाइ र भलिबललाई एकसाथ अगाडि बढाइन्। भलिलबमा लत बस्यो। पढाइ छोड्न सकिनन्।

सानैदेखि उनलाई खेलकुदमा रुचि थियो। स्कुलमा हुँदा विशेषगरी एथ्लेटिक्समै बढी सहभागिता जनाउँथिन्। ‘वीरेन्द्र शिल्डमा भाग लिएर विजेता समेत बनेकी थिएँ। पुरस्कार दिँदा वैकुण्ठ मानन्धरले मेरो प्रशंसा गर्नुभएको थियो,’ गंगा चौधरी लगायतका खेलाडीसँग दौडेको सुनाउन पाउँदा उनी उत्साही हुन्छिन्।

एसएलसी दिएपछि उनका लागि दुइटा बाटो थियो। आफूलाई मनपरेको विषय पढ्नु र खेललाई निरन्तरता दिनु। अभिभावकहरुको सुझावमा उनी होटल म्यानेजमेन्ट र टुरिजम लिएर ललितपुरकै क्याम्पियन कलेज भर्ना भइन्।

२०६० सालमा एसएलसी सकाएकी निमाले कलेज भर्ना भएसँगै जावालाखेलमै भलिबल खेललाई निरन्तरता दिइन्। तीन वर्ष भलिबल खेलेपछि उनी विभागीय क्लब पुलिसको महिला टिममा लागिन्। त्यतिखेर वर्षमा जम्मा एउटा भलिबल प्रतियोगिता हुन्थ्यो, ढोरपाटन लिग। ‘त्यसैले पनि मैले भलिबल र पढाइलाई सँगैसँगै अगाडि बढाउन सकेँ,’ निमा भन्छिन्।निमापछि पश्चिमाञ्चलका खेलाडीहरु समेटेर टिम विस्तार भयो। जसमा थिए, नेविका चौधरी, चन्दा राना, विनिता बुढाथोकी, सरस्वती चौधरी, रेश्मा भण्डारी लगायत।

निमा टिममा हुँदा एपिएफ पछिल्लो वर्ष नेपालको नम्बर वन महिला टिम बन्यो। देशभर हुने विभिन्न प्रतियोगितामा एपिएफ च्याम्पियन बन्थ्यो। विभागीय टिममा हुँदा अन्य टिमको भन्दा सेवा सुविधा पनि राम्रो थियो। निमाले एपिएफमै पाँच वर्ष बिताइन्। तर अडिन सकिनन्। उनी लागिन् अर्को विभगीय क्लब आर्मीतिर।

उनले किन छोडिन् त एपिएफ?

यसमा उनको आफ्नै गुनासो छ। यत्तिका वर्षसम्म खेल्दा पनि उनले कन्ट्रयाक्टमै खेलिन्। एपिएफमा उनको स्थायी जागिर थिएन। ‘जागिर खानका लागि मैले इन्स्पेक्टरमा परीक्षा दिएँ। लिखितमै नाम निस्केन,’ उनले कारण खुलाइन्। त्यसपछि उनलाई एपिएफले आकर्षण गर्न सकेन, अनि लागिन् आर्मीतिर।

‘मैले आर्मीमा पनि उनले कन्ट्रयाक्टमै खेलेँ किनकि जागिर गर्न उमेर कटिसकेको थियो,’ उनी भन्छिन्।

निमाले नेपालको तीन वटै विभागीय टिममा खेल्ने मौका पाइन्। कान्छो विभागीय टिम भएपछि आर्मी टिमको भविष्य राम्रो देख्छिन् उनी। ‘आर्मीले अहिले अनुभव बटुलिरहेको छ। खेलाडीहरु पनि अग्ला छन्,’ उनी मूल्यांकन गर्छिन्, ‘अहिले नै राम्रो खेल्नेभन्दा पनि एक्सपेरियन्स गेन गर्ने बेला हो। अहिलेकै प्रदर्शनलाई कायम राख्दै जाने हो भने भविष्यमा राम्रो टिम बन्छ आर्मी।’

सुरुका दिनमा भलिबल खेल्दा पनि निमाको पढाइमा खासै असर थिएन। ‘वर्षको त्यति धेरै प्रतियोगिता पनि हुन्थेन। पढ्यो अनि फुर्सदमा खेल्यो,’ उनी भन्छिन्, ‘नेपालमा महिला भबिललको विकास भएको नै धेरै भएको छैन।’

खेलाडीका लागि पढाइको उत्तिकै खाँचो रहेको बताउँछिन् उनी। हुन त उनले पनि पढाइलाई कहिल्यै दोस्रो प्रथमिकतामा राखिनन्। कलेजमा राम्रै विद्यार्थीमा गनिन्थिन् उनी।

घरमा ममीले कहिलेकाहीँ चिन्ता गरे पनि निमाले आफ्नो पढाइलाई निरन्तरता दिइरहिन्। ‘ममीले भलिबल खेलेपछि पढाइचाहिँ नछाड है भन्नुहुन्थ्यो,’ उनले भनिन्।

केही खेलाडीले पढे पनि नेपालमा खेलसम्बन्धी छुट्टै पढाइ नभएकोमा निमाको गुनासो छ। स्पोर्टस् साइन्सबारे सबै खेलाडीले ज्ञान लिनुपर्ने बताउँछिन् उनी। ‘खेल र खेलाडीको लागि पनि पढ्नुपर्छ भन्ने मानसिकताको विकास गर्नुपर्छ,’ उनले देखेकी छिन्, ‘श्रीलंकामा एउटै युनिभर्सिटीभित्र अरु विषयको पढाइसँगै खेलकुदको बारेमा पनि छुट्टै पढाइ हुन्छ। एकै ठाउँमा आफूलाई मनपरेको विषय पढ्न पाउँछन्।’

निमाले १३ वर्ष भलिबल खेलिन्। राष्ट्रिय टिममा मात्रै एक दशक बिताइन्। उनले खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता भने एउटा मात्र रह्यो। दक्षिण एसियाली खेलकुद अन्तर्गत साग भलिबल।

श्रीलंकामा भएको दसौं सागमा महिला भलिबल समावेश गरिएको थियो। त्यसैले उनले पनि खेल्ने अवसर पाइन्। नेपाली महिला टिमले त्यतिखेर कास्य पदक जितेको थियो। १३ वर्ष भलिबलमै रहेर पनि एउटा मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु पाउनुलाई दुर्याग्य मान्छिन् उनी। ‘मैले दशकभन्दा बढी भलिबल खेलेँ, तर विडम्बना भन्नुपर्छ, साग गेम्समा भन्दा अन्य प्रतियोगिता खेल्न पाइन,’ उनमा गुनासो छ।

नियमित खेल हुन नसक्नुमा भलिबल संघ र खेलकुदसँग सरोकारवाला निकायको दोष देख्छिन् उनी। ‘अरु देशमा एक दशक खेल्ने हो भने कैयौं प्रतियोगिता खेल्न पाउँछन्, धेरै चर्चा पाउँछन्,’ निमा भन्छिन्, ‘खेलाडीलाई मनग्गे आम्दानी भएको हुन्छ। हाम्रो देशमा केही छैन।’

यसबीच निमाले बालुवामा खेलिने बिच भलिबलमा पनि सहभागिता जनाइन्। सन् २००६ र २००७ मा बंगलादेशमा भएको बिच भलिबलको अनुभव उनीसँग छ। त्यहाँ उनको टिमले रजत र कास्य पदक जितेको थियो।

अन्तिम पटक नेपालको प्रतिनिधित्व गर्दै उनले भलिबल खेलेको माल्दिभ्स विरुद्धको मैत्रीपूर्ण प्रतियोगिता हो। दुई वर्षअघि काठमाडौंमै भएको उक्त खेलमा नेपालको रातो र निलो गरी दुई टिम थियो। निमाले निलो टिमबाट खेलेकी थिइन्।

नयाँ खेलाडीको अभाव

माल्दिभससँगको खेलपछि पनि नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो। दुई वर्षअघि काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली महिला भलिबल र १२औं दक्षिण एसियाली खेलकुद साग।

घरेलु भूमिमै भएको दक्षिण एसियाली महिला भलिबलमा नेपाल दोस्रो भयो भने सागमा तेस्रो। तर दुवै टिममा निमा परिनन्। उनकै शब्दमा उनी दुवै टिमको लागि छनोट चरणमै गइनन्। माल्दिभ्स विरुद्धको खेलकै बेला उनलाई नेपाली टिम छनोट प्रक्रिया ठिक लागेन। भन्छिन्, ‘टिममा राम्रोलाई भन्दा पनि हाम्रोलाई स्थान दिइन्छ। यस्तो हुनुमा संघको धेरै कमजोरी छ। त्यसपछि नै मलाई छनोटमा भाग लिन मन लागेन।’

अहिले पनि नेपाली टिम छनोट पुरानै रोगबाट ग्रसित रहेको उनको बुझाइ छ। हरेक पटक टिम बनाउँदा सबै खेलाडी पहिल्यै तयार हुन्छन्। त्यसैले टिममै भएका खेलाडी पनि आफू पर्नेमा ढुक्क हुन्छन्। नयाँ खेलाडीले अवसर पाउँदैनन्।

अहिले नेपाली भलिबलमा नयाँ प्रतिभाको कमी छ। खेलाडी उत्पादन गर्ने न्यु डायमण्डबाट पनि सोचेजति खेलाडी राष्ट्रिय टिममा पर्न सकेका छैनन्।

पहिले-पहिले लिटिल एन्जल्स स्कुलहरुले स्कलरसिप दिएर खेलाडीहरुलाई पढाउँथे। स्कुल लेभलमा पनि प्रतियोगिता भइरहन्थे। हिजोआज स्कुलमा भलिबलको खासै प्रतियोगिता हुँदैन। निमा त नेपालमा जुनियर लेभलको टिम नै नभएको बताउँछिन्।

पहिलेको अवस्थामा खेलेर मात्र जीवन चलाउन गाह्रो छ। अरु खेलमा जस्तै भलिबलमा पनि यो लागू हुन्छ। ‘खेलाडीलाई डाइट, किट्स, लगायत अन्य सुविधा पर्याप्त छैन। अनि कसरी खेल्न सक्छ खेलाडीले?’ निमाको प्रश्न हो यो।

नेपाली महिला भलिबल टिमको स्तर पहिलोभन्दा पनि खस्कँदो अवस्थामा छ। गत महिना भारतसँगको खेल हेरेपछि त झन् प्रस्ट भएको छ- नेपालको कमजोर कहाँ छ भनेर। ‘ट्रेनिङ र एक्सपोजर नपुगेरै भारतसँग हारेको जस्तो लाग्छ। अब बेलैमा सुधार गर्नुपर्छ,’ निमा भन्छिन्।

फुटबल/क्रिकेट लगायतको प्रतियोगिता हुँदा जस्तो पब्लिसिटी हुन्छ, भलिबलमा त्यो नहुने उनले बुझेकी छिन्।
किन त?
‘भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता नै नभएकाले पनि चर्चा हुन नसकेको होला,’ उनी अनुमान गर्छिन्।

भलिबलमा लगानी कम छ। भएको लगानीको कार्यान्वयन हुन सकेको छैन। भलिबल टिम र खेलाडीहरुलाई स्पोन्सर पनि छैनन्।

भलिबल खेललाई पढाइसँगै तुलना गर्छिन निमा। पढेपछि त परीक्षा दिनुपर्छ, भलिबल आफूले खेलेर मात्र हुँदैन। ‘टेस्ट दिनुपर्छ भनेझैं निरन्तर रुपमा प्रतियोगिता खेल्न पाउनुपर्छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउनैपर्छ,’ भन्छिन्, ‘अनि मात्र खेलाडीको कमी कमजोरी थाहा हुन्छ। एक्सपोजर बढ्छन्।’

विभिन्न चुनौती र कमजोरीका बावजुत निमा नेपाली महिला भलिबलको भविष्य राम्रो देख्छिन्। ‘एउटा योजना बनाएर अगाडि बढ्ने हो भने नेपालले सागमा गोल्ड जित्न सक्छ,’ उनी विश्वस्त छिन्, ‘तर निरन्तर ट्रेनिङ र प्रतियोगिता भने हुनैपर्छ। भलिबलमा पनि लगानी बढाउनुपर्छ।’

खेलकुदमै थेसिस

सक्रिय भलिबल खेल जीवनबाट टाढिने घोषणा गरेसँगै निमा थेसिसमा व्यस्त छिन्। उनको थेसिसको विषय खेलकुदसँगै सम्बन्धित छ। ट्राभल एण्ड टुरिज्म अन्तर्गत एड्भेन्चर स्पोर्टस् टुरिज्म उनको थेसिसको विषय हो।

नेपालमा खेलबारे पढाइ कम भए पनि खेलाडी भएकै नाताले आफूले टुरिज्ममा पनि स्पोर्टस् नै रोजेको उनको भनाइ छ। ‘भलिबल खेल्दा पनि थेसिस गर्ने विचारमा थिएँ। समयको कमीले पूरा हुन पाएको थिएन,’ अब भने ढुक्क छिन्, ‘अहिले पूरै सयम यसमै लगाइरहेकीले तिहारसम्ममा सक्छु होला।’

नशा जस्तै खेल
‘स्पोर्टस् इज लाइक ड्रग एडिक्ट,’ उनले तुलना गरिन्, ‘एक पटक खेलमा लागिसकेपछि नशा लागेजस्तै छोड्नै गाह्रो।’ अहिले त उनले भलिबलबाट सन्यास लिइसकेकी छिन्। तर अब सबै खेल सकियो भन्ने होइन। उनी यसै भन्छिन्। ‘खेल नहुँदा पनि के नभएको जस्तो हुँदो रहेछ। ट्रेनिङमै भए पनि गइरहूँ जस्तो लाग्ने,’ उनी रुचि व्यक्त गर्छिन्, ‘म भलिबलबाट कहिल्यै टाढा भाग्न सक्दिन।’


भलिबलसँगै लभ

भलिबलबाट सन्यास लिनुभयो, थेसिस पनि सकाउँदै हुनुहुन्छ। अब घरजम गर्ने योजना छ कि?
पहिलोपोस्टको प्रश्नमा उनी लजाइन, ‘मैले त सोचेकै छैन, सायद समय आएपछि आफैं हुन्छ होला। ममीले त दुई वर्ष अघिदेखि नै कुरा चलाइरहनुभएको छ।’

कलेज पढ्दा कसैको प्रेममा नरहेको निमाले बताइन्। कलेजमा सबैले खेलमै सपोर्ट गरे ‘प्रपोज’कसैले गरेनन्। ‘घरबाट पढ्नमै दबाब भयो। कोर्टमा भलिबल खेल्दैमा बित्यो,’ उनी हाँसिन्, ‘खेलमै व्यस्त भएर होला लभको फिलिङ नै आएन। अनि कोसँग पर्नु लभ?’

पहिलोपोस्टबाट