आश्विन २१, २०८१ सोमबार

भाइटीकामा दिदीबहिनी छैनन्, चिन्ता नगर्नुस, अञ्जलीदिदी कहाँ जाने



anjali-maskey

दिदीबहिनी छैनन्, भाइटीकामा निधार खाली हुने भयो भनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने चिन्ता नगर्नुस् । भाइटीकामा टीका लगाउन चाहनेले काठमाडौंको वसन्तपुरमा रहेको काष्ठमन्डप जानुहोला । त्यहाँ अञ्जली मास्केले सामूहिक भाइटीका लगाइदिनेछिन् । मास्केले संवत् २०५५ बाट सामूहिक भाइटीका लगाइदिने गरेकी हुन् ।

भाइटीका लगाइदिएबापत दक्षिणा वा उपहार कति र के दिने भनेर सोचिरहनुभएको छ ? छ भने तपाईं गलत हुनुहुन्छ । किनकि अञ्जली दिदीले भाइटीका लगाइदिएबापत दक्षिणा/उपहार केही लिँदैनन् ।

उनले दिदीबहिनी नहुने दाजुभाइलाई १८ वर्षदेखि भाइटीका लगाइदिँदै आएकी छन् । समस्या देख्नसाथ समाधान गर्न मन पराउने उनले तिहारमा कतिपय दाजुभाइको निधार खाली देखेपछि सामूहिक भाइटीका गर्न थालेकी हुन् । २०५५ मा १०८ जनालाई भाइटीका लगाइदिएकी उनले ०५६ बाट सालिन्दा २०८ जनालाई टीका लगाइदिने गर्छिन् ।
भाइटीका लगाइदिएबापत दक्षिणा वा उपहार कति र के दिने भनेर सोचिरहनुभएको छ ? छ भने तपाईं गलत हुनुहुन्छ । किनकि अञ्जली दिदीले भाइटीका लगाइदिएबापत दक्षिणा/उपहार केही लिँदैनन् । भन्छिन्, ‘धन होइन मनदेखि निःस्वार्थ रूपमा भाइटीका गर्दै आएकी हुँ । भाइटीकालाई आम्दानीको स्रोत बनाएकी छैन । राख्ने ठाउँ नभएर यो काम थालेकी पनि होइन । भ्रातृत्व प्रेमले डोर्याएपछि सामूहिक भाइटीका गर्न थालेकी हुँ ।’

सालिन्दा २०८ जनालाई भाइटीका लगाइदिँदा थुप्रै खर्च हुन्छ । २०८ वटा माला चाहियो । त्यति नै भाग खानेकुरा पनि । २०८ भाग खानेकुरामा मिठाइमात्रै चारप्रकारका हुन्छन् भने सगुन (रक्सी, अन्डा, बारा, दही) र मौसमी फलफूल गरी आठप्रकारका खानेकुरा हुन्छन् । सहयोग गर्ने थुप्रै (विभिन्न क्लबसम्बद्ध प्रतिनिधिदेखि उच्चपदस्थसम्म) भेटिए पनि उनले सामूहिक भाइटीका गर्नलाई कसैबाट सहयोग लिन चाहँदैनन् । उनले गोरखनाथ बाबाको नाममा चार लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् । ‘त्यसकै ब्याजबाट सामूहिक भाइटीका गर्दै आएकी छु,’ उनले प्रस्ट्याइन्, ‘पुगेन भने घरभाडाबाट आएको रुपैयाँ पनि थपथाप गर्छु ।’ सामूहिक भाइटीकाका लागि आवश्यक सबै सामान उनले किन्नैपर्छ । तर, खर्चको हिसाबकिताब कहिल्यै राख्दिनन् । त्यसो भएपछि उनले सधैं ‘सामूहिक भाइटीकाचाहिँ कसरी धानिरहनुभएको छ’ भन्ने प्रश्नको सामना गरिरहनुपर्छ ।
पाँच वर्षीय बालकदेखि १०२ वर्षीया वृद्ध टक्कर डंगोललाई समेत भाइटीका लगाइदिएकी उनले पत्रकारदेखि प्रधानमन्त्रीसम्मलाई टीका लगाइदिएकी छन् । त्यतिमात्रै होइन, नेता, निजामती (बहालवाला र अवकाशप्राप्त) कर्मचारी, सेना, प्रहरी, कानुन व्यवसायी, ड्राइभर, रिक्साचालक, सडक बालबालिका, माग्नेदेखि विदेशीसम्मलाई टीका लगाइदिएकी उनले सुनाइन्, ‘भाइटीकामा चिनिएकाभन्दा नचिनिएका अनुहार देख्दा खुसी लाग्छ । जिन्दगीमा कहिल्यै भाइटीका नलगाएका १०२ वर्षीय डंगोललाई टीका लगाइदिन पाउँदा झन् धेरै खुसी भएँ ।’

उनले २०५५ मै केन्द्रीय कारागार जगन्नाथदेवलका १ हजार ३ सय कैदी–बन्दीलाई समेत एकपटकमात्रै टीका लगाइदिएकी थिइन् । विविध कारणले निरन्तरता भने दिन सकिनन् ।

भाइटीकामा सबैभन्दा पहिले गोरखनाथ बाबालाई टीका लगाइदिने ७२ वर्षीया उनले त्यसपछि घरका दाजुलाई अनि सामूहिक भाइटीका गर्ने गर्छिन् । दाजुको निधन भएकाले गोरखनाथ बाबालाई टीका लगाइदिएपछि उनी सामूहिक भाइटीकामा सामेल हुन्छिन् । उनले भाइटीकाको दिन काष्ठमन्डपमा अपराह्न एकदेखि पाँच बजेसम्म टीका लगाइदिने गर्छिन् । टीका थाप्न २०८ भन्दा धेरै आउँछन् । त्यतिबेला उनले कतिलाई जजंखा, कतिपयलाई नरिवल दिएर माया बाँड्छिन् ।
सामूहिक भाइटीकामा आउन नसक्ने दाजुभाइ महिना दिनसम्म उनको घर (ताहाचल, काठमाडौं) मै टीका थाप्न पुग्छन् । उनले घरमै आउनेलाई पञ्चरंगी टीका, जजंखा, ओखर र नरिवल राखिदिने गर्छिन् । कतिपयले कर गरेर दक्षिणा र उपहार दिन खोज्छन् तर उनले लिँदैनन् । दिने खोज्नेलाई उनको भनाइ छ, ‘तपाईंको माया नै सबैभन्दा ठूलो हो । दाजुभाइको प्रेम पैसा र उपहारसँग साट्नुहुँदैन । केवल आशिर्वाद साटासाट गर्नु ठूलो कुरा हो ।’ दक्षिणा लिन कर गर्नेलाई उनले भगवान्लाई चढाइदिनुस् भनेर उत्तर दिने गर्छिन् ।
सामूहिक भाइटीकामा ०५५ देखि नियमित आउने दाजुभाइ पनि छन् । कतिपय सालिन्दा छुट्दै गएका हुन्छन् । धेरैजसो नयाँ अनुहार देखिन्छन् । हजारौं–हजारका प्रिय अञ्जली दिदी हुन पाएकीमा उनी कम्ती खुसी छैनन् । भाइटीका लगाउनेमध्ये कतिपयले समय–समयमा टेलिफोन गरेर सन्चो–बिसन्चो सोध्दा दंग पर्छिन् ।
उनले २०५५ मै केन्द्रीय कारागार जगन्नाथदेवलका १ हजार ३ सय कैदी–बन्दीलाई समेत एकपटकमात्रै टीका लगाइदिएकी थिइन् । विविध कारणले निरन्तरता भने दिन सकिनन् ।
एकताका सामूहिक भाइटीका गर्दा घरपरिवार र समाजले टिप्पणी गर्थे । अञ्जली मास्केको ईश्र्यालाग्दो काम देखेर टिप्पणी गर्नेहरू नै लोभिने गरेका छन् । बेलायतमा रहेका चिकित्सक छोराबुहारीसमेत आमाको कामबाट त्यत्तिकै खुसी छन् । भतिजी प्रपन्ना मास्के झन् धेरै खुसी छन् ।