बैशाख ९, २०८१ आईतबार

बाँझोपन हुन सक्ने ५ कारण



bajopanमहिला र पुरुषमा दुवैका कारणले हुने समस्या हो बाँझोपन । तर, हाम्रो समाजमा धेरैजसो दोष महिलालाई दिने गरिन्छ । यसको कारण पत्ता लगाएर समयमै उपचार गर्न सकिए धेरै हदसम्म समाधान गर्न सकिन्छ ।

महिलामा हुने समस्या
महिलामा बाझोपना हुनुको प्रमुख कारण भनेको डिम्ब उत्पादन नहुनु हो । त्यस्तै गर्भ नबस्नुमा पाठेघरको नली बन्द हुने,  महिलाको फेलिपिन ट्युब बन्द हुँदा विभिन्न संक्रमण हुन सक्छ । त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने हुन सक्छ । कहिलेकाहीँ नलीमा बच्चा बसेमा नली काटेर फाल्नुपर्ने हुन्छ ।

अर्को ध्यान दिनुपर्ने कुरा के हो भने पेटभित्रको कुनै पनि अप्रेसनमा नलीहरू बिग्रने डर पनि हुन्छ । अप्रेसनपछि त्यहा भएका फोहोर–विकार पाठेघर र नलीको छेउछाउमा गएर बस्न सक्छ । १४ देखि १५ प्रतिशत बाँझोपनको समस्या यसले गर्दा पनि भएको देखिएको छ । त्यसैगरी, इन्डोमेट्रियोसिसी समस्याले पनि गर्भ  रहँदैन ।

यो समस्या भनेको महिनावारी हुदा पाठेघर वा नलीको तह खुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ । जसका कारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ । बाहिर निस्कन पाउँदैन र नली तथा पाठेघर बिग्रने सम्भावना हुन्छ । सात प्रतिशतले यसका कारण बाँझोपनको समस्या व्यहोर्नुपरेको छ ।

प्रा.डा. जागेश्वर गौतम स्त्री तथा प्रसूति रोग विशेषज्ञ थापाथली अस्पताल
प्रा.डा. जागेश्वर गौतम स्त्री तथा प्रसूति रोग विशेषज्ञ थापाथली अस्पताल

पुरुषमा हुने समस्या
श्रीमान्को शुक्रकीटमा खराबी भएर हुने बाँझोपनको समस्या हुने गर्दछ । कतिपयमा शुक्रकीटको उत्पादन नै नभएको पाइन्छ भने कतिपयमा नगण्य रूपमा मात्रामा उत्पादन भएको हुन्छ । यो अहिलेसम्म २५ देखि ३० प्रतिशतमा देखिएको छ ।

थाहा नभएका कारणले हुने बाँझोपन
२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन हुन्छ । यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ । यसमा क्रोमोजोम हेर्नुपर्ने र अन्य हर्मोनको पनि जाँच गर्नुपर्छ । यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन ।

दुवैको समस्या जुध्दा हुने बाँझोपन
कतिपय दम्पतीमा दुवैको समस्या जुधेर पनि हुन्छ । अलिकति श्रीमान्को समस्या, अलिकति श्रीमतीको समस्या जुधेर पनि हुन्छ । यस्तो अवस्थामा आकस्मिक रूपमा पछि आफैँ बच्चा हुने पनि छन् । तर, लामो समयसम्म पनि कारण थाहा छैन भने कृत्रिम गर्भाधान गर्दा बच्चा हुने सम्भावना हुन्छ । त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ, कोसिस गरिरहनुपर्छ ।

अस्थायी साधन
परिवार नियोजनको अस्थायी साधन प्रयोगले नै लामो समयसम्म बच्चा नबस्न सक्छ । तर, कुनै–कुनै साधनले महिनावारी गडबड गराउँछ । महिलाले लामो समयका लागि प्रयोग गर्ने कुनै–कुनै अस्थायी साधनले लामो समय (६ महिना–एक वर्ष)सम्म पनि गर्भ बस्ने समय धकेल्न सक्छ ।