बैशाख १, २०८१ शनिबार

नेपाली चलचित्रमा महिला निर्देशक



geeta
                        गीता अधिकारी

पछिल्लो समय नेपाली सिने उद्योगमा फरक चलचित्र देखिएको भए पनि हिरो र हिरोइन विनाको नेपाली चलचित्र कल्पना गरिएको छैन । एक विशेष पुरुष पात्र जो सबैलाई परास्त गर्छ र अर्को एक महिला पात्र जो उसको निकै नजिक हुन्छ यसैको सेरोफेरोमा अन्य अवयवलाई लिएर नेपाली चलचित्र बन्ने टे«न्ड नै बसेको छ ।
नेपाली चलचित्रले ५ दशकसम्म आइपुग्दा बर्सेनि सयौं संख्यामा नेपाली चलचित्र बन्ने गरेका छन् । तैपनि, सीमित चलचित्रले मात्रै व्यावसायिक सफलता प्राप्त गर्न सफल भएको देखिन्छ । नेपाली चलचित्रले व्यावसायिक सफलता प्राप्त गर्न नसक्नुमा उत्कृष्ट कथावस्तु, योग्य प्रविधि र प्राविधिक नहुँदा चलचित्र धाराशयी बनिरहेको भनिए पनि केही राम्रा भनिएकाले समेत लगानी उठाउन नसकेको
उदाहरण छन् ।
नेपाली चलचित्रको क्षेत्र व्यापक र विस्तारसँगै यो क्षेत्रमा महिला निर्देशकको उपस्थिति पनि त्यत्तिकै सशक्त बन्दै गएको छ । त्यसो त अहिले चलचित्र निर्देशक समाजको अध्यक्ष नै महिला निर्देशक छन् । सुचित्रा श्रेष्ठ नेपालकै पहिलो महिला निर्देशक पनि हुन् । यस वर्षको अहिलेसम्मको सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’लाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । उनी ‘तीतो सत्य’ हास्यव्यंग्य टेली सिरियलमा सहायक निर्देशन गर्दै आएकी थिइन् । चलचित्र ‘छक्का पञ्जा’ले सय दिनको रेकर्ड राख्न लागेको छ ।
यो क्षेत्रमा महिला निर्देशकको संख्या पनि बढ्दै गएको छ । पहिलेका महिला निर्देशकले निर्देशन गरेका चलचित्रले खासै चर्चामा कमाउन भने सकेनन् । गत वर्ष सावित्री खत्री र सम्झना उपे्रती रोनियाले निर्देशन गरेका चलचित्र ‘काफल पाक्यो’ र ‘फागु’ले राम्रै चर्चा कमाएको थियो । तर, यी चलचित्रले सोचेजस्तो सफलता भने पाउन सकेन । रोनियरबाट निर्देशित ‘फागु’ उनको दोस्रो चलचित्र थियो । उनले योभन्दा पहिले उनले ‘मेघा’ चलचित्र निर्देशन गरेकी थिइन् ।
नेपालको सबैभन्दा पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठको पहिलो निर्देशन रहेको चलचित्र ‘प्रेमयुद्ध’ रहेको थियो । उनले योङ एसिया टेलिभिजनको लागि थुप्रै डकुमेन्ट्री पनि निर्माण गरेकी छन् । उनले ‘सहारा’, ‘समर्पण’, ‘संकल्प’, ‘सम्बन्ध’ जस्ता टेलिसिरियलको लेखन र निर्देशन गरेकी छन् भने अहिले बलिउड चलचित्र निर्देशनको तयारीमा रहेको बताउँछिन् ।
त्यसो त नेपाली चलचित्रमा एक्लै चलचित्र चलाउने हिम्मत र क्षमता राख्ने रेखा थापाले पनि केही वर्षपहिले चलचित्र ‘हिम्मतवाली’ निर्देशन गरेकी थिइन् । यो चलचित्रले राम्रै चर्चा पाउन सफल भएको थियो । १७ मंसिरमा प्रदर्शनमा आएको ‘तँ, म र ऊँ’लाई लक्षु गौतमको निर्देशनमा बनेको चलचित्र हो । चलचित्र राम्रै भए पनि ‘तँ, म र ऊँ’ले भने व्यावसायिक सफलता पाउन सकेन । ‘मैले चलचित्र राम्रै बनाएकी थिएँ, हामीले सोचेजस्तो चलचित्रले व्यावसायिक सफलता पाउन भने सकेन,’ उनी भन्छिन् ।
नेपालकै महिला सिनेमेटोग्राफर भएर चर्चा कमाउन सफल सवनम मुखिया पनि अहिले चलचित्र निर्देशनमा रहेकी छन् । उनी निर्देशित चलचित्र ‘जुविनाइल’ यतिवेला छायांकनका क्रममा छ । त्यस्तै, नेपाली चलचित्रमा महिला निर्देशकका रूपमा सशक्त नाम हो, दीपा बस्नेत । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘अन्तराल’ थियो । उनको पहिलो निर्देशन गरेको चलचित्रबाटै अवार्ड हात पार्न सफल भएको थियो । चलचित्र अन्तरालबाटै वेस्ट फिल्म डाइरेक्टर, नवनिर्देशक र जुरी अवार्ड पाउन सफल भएकी थिइन् । उनी निर्देशित चलचित्र ‘श्री ५ अम्बरे’ले पनि धेरैको तारिफ बटुल्न सफल भएको थियो ।
रक्षा सिंहले १८ वर्षदेखि सम्पादन गर्दै आएकी थिइन् । लामो समयसम्म सम्पादनको काम गरेपछि उनले निर्देशनमा हात हालेकी हुन् । जुन बेला उनले सम्पादन गर्थिन् त्यो समयमा यो क्षेत्रमा अन्य महिला थिएनन् । सिनेलहर, मुक्ति, सांग्रिला च्यानललगायत थुप्रै सिरियल र मुग्लान, इज्जत, माया नमार, कर्तव्य, जीवन रेखाजस्ता तीन दर्जन बढी चलचित्र सम्पादन गरेकी उनले पहिलो चलचित्र ‘द गेम’ मार्फत निर्देशनमा हात हालेकी हुन् । ‘द गेम’ प्रदर्शनअघि निकै हल्ला भए पनि व्यापारिक नतिजा भने राम्रो दिन सकेको थिएन ।
निर्देशक निलु डोमा शेर्पाले निर्देशन गरेको चलचित्र हो ‘हाउँ फन्नी’ । चलचित्र हाउँ फन्नी केही महिनाअघि प्रदर्शनमा आएको थियो । त्यसैगरी, समुद्र भट्टले पनि एक चलचित्र निर्देशन गरेकी थिइन् । सब्बु सुवेदी र अनिला खड्काले निर्देशन गरेको चलचित्र हो ‘चलेछ बतास सुस्तरी’ ।
केही नायिकाले चलचित्र निर्देशन गर्ने भनेर समाचार सार्वजनिक भए पनि अहिलेसम्म उनीहरूले कुनै चलचित्र निर्देशन गरेका छैनन् । एउटा सफल चलचित्रका लागि निर्देशकको अहं भूमिका हुन्छ । निर्देशक चलचित्रको टिम क्याप्टेन हो । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकले गरेका चलचित्रले व्यावसायिक सफलता पाउँदै गएका छन् । जुन आफैँमा एउटा राम्रो पक्ष हो । विभिन्न महिला निर्देशकको नेपाली सिने क्षेत्रमा आगमन भइरहेको देखिन्छ ।