चैत्र १६, २०८० शुक्रबार

निर्वाचन प्रक्रिया महँगो हुँदा महिला नेत्रीलाई गाह्रो



money-election१ पुस, ललितपुर – निर्वाचन प्रक्रिया महँगो हुँदा महिला नेत्रीलाई निर्वाचनमा सहभागी हुन र जित्न गाह्रो हुने सरोकारवालाले बताएका छन् ।

जागरण नेपालले विहबार आयोजना गरेको कार्यक्रममा निर्वाचन आयोग, महिला नेत्री, स्थानीय निकायका प्रतिनिधिलगायत सरोकारवालाले महिला नेत्रीलाई निर्वाचनमा सहभागी हुन अरुसँगै आर्थिक समस्या रहेको बताएका हुन् ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचन महँगो हुँदै जाँदा महिला नेत्रीलाई अप्ठेरो पर्ने गरेको बताउँदै “भड्किलो प्रचार महिला उम्मेदवारले गरेको पाइँदैन, बलिया पुरुष उम्मेदवारसँग उठाउँदा प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्न महिलालाई गाह्रो पर्छ“ भन्नुभयो ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव भरत शर्माले सुशासनका लागि महिलाको सशक्तीकरण आवश्यक भएकोमा जोड दिनुभयो ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य कमला पन्त, एमाले केन्द्रीय सदस्य सीता पौडेल, नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य दामा शर्मा, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य चन्दा चौधरीलगायतले दलले विधानमा भएका महिलासम्बन्धी व्यवस्था समेत कार्यान्वयन नगरेको गुणासो गर्नुभयो ।

गैरसरकारी संस्था महासङ्घका पूर्व अध्यक्ष शर्मिला कार्कीले सचेतना, क्षमता अभिवृद्धि र आर्थिक सशक्तीकरण नभई महिला अघि बढ्न नसक्ने बताउनुभयो ।