चैत्र १६, २०८० शुक्रबार

‘बिहे गर्छु भन्दा जिब्रो टोक्छ समाज’



eakal-mahilaफातिमा बानु

१०पुस, काठमाडौं  – ‘दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु, उनीहरूको अनुहारको भाव नै परिवर्तन हुन्छ, कोही–कोही त जिब्रो नै टोक्छन्,’ चितवनकी जाहेदा खातुन (नाम परिवर्तन) ले पीडा ओकलिन् । जाहेदा २८ की भइन् । १८ वर्षमा विवाह गरेकी उनले २० की नहुँदै सम्बन्धविच्छेद गरिन् । बिहे गरेको छोटो समयमै सासू र नन्दहरूको कुरा सुनेर श्रीमान्ले दिनहुँ कुटपिट गर्न थालेपछि जाहेदाले सम्बन्धविच्छेद गरेकी थिइन् । मुस्लिम समुदायकी उनी अहिले आठ वर्षकी छोरी लिएर माइतीको शरणमा छिन् । सानै उमेरमा बिहे भएकाले उनको शिक्षा बीचमै रोकियो । शैक्षिक योग्यता र हातमा सीप नभएकै कारण उनलाई आर्थिक रूपमा आत्मनिर्भर हुन मुस्किल छ ।

‘सम्बन्धविच्छेद भएपछि महिलालाई समाजले अबला र कमजोर सोच्दो रहेछ,’ उनी भन्छिन् । दोस्रो विवाहबारे पनि समाजले विभेद गरेको उनको अनुभव छ । भन्छिन्, ‘पुरुषको दोस्रो विवाहजस्तै महिलाको दोस्रो विवाहबारे हाम्रो समाज सहज छैन । अझ, मुस्लिम समुदायमा त पुरुषलाई चारवटीसम्म श्रीमती भित्र्याउने छुट छ । तर महिला भने श्रीमान्सँग छुट्टिएर बस्दैमा उसको चरित्रमाथि प्रश्न उठाइन्छ ।’ अन्य विषयमा फराकिलो सोच राख्ने आफ्नै उमेरका साथीभाइको पनि दोस्रो विवाहबारे सकारात्मक धारणा नभएको उनको अनुभव छ । भन्छिन्, ‘महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन् ।’

इस्लामिक कानुनका विज्ञ डा.समिम अहमदले इस्लामिक कानुनमा महिलालाई दोस्रो विवाह गर्ने पूर्ण अधिकार रहेको बताए । ‘श्रीमान् गुमाएकी या सम्बन्धविच्छेद गरेकी महिलालाई पुनर्विवाह गर्न इस्लामले रोकेको छैन, बरु प्रेरित नै गरेको छ ।’

इस्लामिक चेतनाको कमीका कारण मुस्लिम समुदायमा यसलाई अस्वाभाविक मान्ने गरिएको उनको अनुभव छ ।

काठमाडौंकी समिदा थापा (नाम परिवर्तन) एकल महिला हुन् । १६ वर्षअघि उनी श्रीमान्सँग कानुनी रूपमै छुट्टिइन् । १५ वर्षको उमेरमा प्रेम विवाह गरेकी समिदाको वैवाहिक जीवन दुई वर्षमै समाप्त भयो । विवाहपश्चात् घरै छोडेर श्रीमान् महिनांै हराउने र घरमा सासूले नोकरको जस्तो व्यवहार गर्न थालेपछि समिदाले सम्बन्धविच्छेद गरेकी हुन् । त्यसपछि एकल जीवन बिताइरहेकी छन् । उनका १५ वर्षका छोरा पनि छन् ।

सम्बन्धविच्छेदपछि समिदाको वैवाहिक जीवन मात्रै सकिएन उनले पारिवारिक माया, सामाजिक प्रतिष्ठा र आत्मसम्मानसमेत गुमाउनुपर्‍यो । पारिवारिक हेलाको पात्र बन्न पुगेकी समिदाले १६ वर्षको अन्तरालमा धेरै पटक सोचिन्– दोस्रो विवाह गर्नुपर्छ । भन्छिन्, ‘कलिलो उमेर, अशिक्षा र चेतनाको कमीले गर्दा मलाई महिला अधिकारबारे थाहा थिएन, मैले दोस्रो विवाहबारे कसैलाई भन्न सकिनँ, निर्णय गर्न सकिनँ ।

अहिले थाहा पाउँदै छु, पुनर्विवाह महिलाको न्यूनतम अधिकार हो,’ उनले सुनाइन् । एकातिर काखको छोरा हुर्काउने जिम्मेवारी, अर्कातिर एकल महिलाप्रति समाजको फरक दृष्टिकोण, जसले गर्दा समिदाले जीवनमा धेरै ठक्कर खाइन् । भन्छिन्, ‘सचेत भएको भए पहिले नै पुनर्विवाह गर्थेँ ।’ एक्लै बाँच्न नदिने र दोस्रो विवाहको विषयलाई पनि महिलाको चरित्रसँग जोड्ने समाजदेखि दिक्क भएको गुनासो उनले गरिन् ।

राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेका अनुसार एकल भएकै कारण कतिपय महिला समाजमा हेपिने गरेका छन् । युवा एकल महिलाहरू श्रीमानको सम्पत्तिबाट वञ्चित हुने, बलात्कृत हुने, परिवारले बच्चा स्वीकार नगर्ने र अन्य घरेलु हिंसाबाट पीडित भएको उजुरी लिएर आउने गरेको घिमिरेले बताइन् ।

एकल महिला समूहकी अध्यक्ष लिली थापाका अनुसार धार्मिक अन्धविश्वास र कुसंस्कारका कारण महिलालाई एक्लै जीवन बिताउन कर गर्ने समाज अझै बदलिन सकेको छैन ।

कलिलो उमेरमै श्रीमान् गुमाउने महिला हीनभावनाको सिकार हुने, डिप्रेसनमा पर्ने जस्ता समस्या लिएर उनीकहाँ आउने गरेको लिलीले बताइन् । भन्छिन्, ‘पुनर्विवाह शारीरिक सम्बन्ध र सन्तान उत्पादनसँग मात्रै जोडिएको विषय होइन, समृद्ध समाजका लागि महिलालाई पुनर्विवाहमा प्रेरित गर्नुपर्छ ।’ कान्तिपुरबाट