बैशाख १, २०८१ शनिबार

किन घोषणा गरेरै ‘म स्त्री अर्थात आईमाई ?’



sima-avash
                                  सीमा अाभास, कवि तथा कथाकार

किताबमै म स्त्री अर्थात् आइमाई भनेर घोषणा गर्नुको कारण के हो ?
पूर्वीय दर्शनअनुसार नारीका विभिन्न रूपहरूको अर्थसहितको वर्णन गरिएको छ । नारीको ‘स्त्री’रूप भनेको यौनसँग नजिक रहेको अवस्था हो । पूर्वीय दर्शन र आधुनिक साहित्यमा यो अवस्थाको वर्णन बढी गरिएको छ । र, मासिक स्राब हुनु, गर्भवती हुनु, बच्चा जन्माउनु, स्तनपान गराउनु आइमाई रूप हो ।

तर, ‘आइमाई’ शब्दलाई अपहेलित र नीच ढंगले व्याख्या गरिएको छ । यो विशिष्ट र अतुलनीय अवस्थालाई हामीले गर्वका साथ लिनुपर्ने थियो तर सकेका छैनौं । मेरो दाबी हो ‘आइमाई’ शब्दलाई सम्मानका साथ व्याख्या गरिनुपर्छ । साथै हामी र हाम्रो शरीरमाथिको अपव्याख्यालाई सही ढंगले व्याख्या गरियोस् भनेरै यो नाम राखेको हो ।

तपाईंको दोस्रो कविता संग्रहका लागि किन दशक पर्खिनु परेको ?
कविता लेख्न जति सजिलो ठानिन्छ, लेख्न त्यति नै गाह्रो छ । कमजोर कविता सार्वजनिक गर्नु पाठकमाथिको अन्याय हो । त्यही भएर दशक पर्खिनु परेको हो ।

तपाईं बीचमा कथातिर लाग्नुभएको थियो । कथाको किताब चाहिँ आउँदैन ?
कथा त अहिले पनि लेखि नै रहेकी छु, संग्रह पनि आउने नै छ ।

विषयले विधा छनोट गर्छ कि विधाले विषय ?
ठ्याक्कै यही हो भन्ने छैन । कहिले कवितामा भन्न नसकिएको कुरा कथाले स्पस्ष्ट पार्छ । कहिले कथामा सौन्दर्य भर्न नसकेको कुरा कविताले पूर्ण पारिदिन्छ । त्यसैले कहिलेकाहीँ विषयले विधा छनोट गर्छ । कहिलेकाहीँ विधाले विषय छनोट गर्छ ।

किताब प्रकाशित गर्नुको आनन्द के हो ?
एउटी आमाले नवजात शिशु काखमा लिएर स्तनपान गराउनुजत्तिकै आनन्द हो आफूलाई चित्त बुझेका रचना संग्रहित गरेर किताब प्रकाशन गर्नु । अन्नपूर्णबाट