आश्विन २६, २०८१ शनिबार

पिसाब चुहिने समस्या



Aruna Upretiमकवानपुरकी ४५ वर्षीया मनकुमारी महिला स्वास्थ्य शिविरमा आउँदा उनको शरीरबाट ह्वास्स गन्ध आउँदा स्वास्थ्यकर्मीहरूले मुख बिगारेका थिए । ‘धेरै दिन भयो कि क्या हो, ननुहाएको ?’ एक नर्सले सोध्दा मनकुमारीले आँखाभरि आँसु भरेर भनिन्, ‘होइन नानी, मेरो त साह्रै ठूलो व्यथा पो छ । दोस्रो बच्चा पाउँदा लामो व्यथा लागेर बच्चा पाएपछि जहिले पनि पिसाब चुहिरहने व्यथा लाग्यो । स्वास्थ्य चौकीमा गएर कति औषधि खाएँ, निको भएन । म त दिनमा दुई–तीनचोटी पेटिकोट फेर्छु । मलाई त कोठा पनि घरबाहिर बनाइदिएका छन्, परिवारका मानिसले । धन्य यस्तो हुँदा जंगलमा पठाएनन् ।’

उनलाई जाँचेपछि थाहा भयो, उनको अवस्था साँच्चै नाजुक रहेछ । १० वर्षअघि बच्चा पाउँदा लामो समय व्यथा लाग्दा पाठेघरमा रहेको शिशुको टाउकोले पिसाब थैलीलाई थिचेर प्वाल हुनगएको र त्यही प्वालबाट लगातार पिसाब चुहिरहने समस्या हुनपुगेको थियो । उनलाई थाहा थिएन कि यस्तो समस्या कुनै पनि औषधि खाएर ठिक हुँदैन । यसको लागि त जटिल शल्यक्रिया नै गर्नुपर्छ । यो विषयमा तालिम लिएका वरिष्ठ स्त्रीरोग विशेषज्ञले मात्र यस्तो शल्यक्रिया गर्न सक्छन् ।

मनकुमारी कुपोषणबाट पनि ग्रस्त थिइन् । धेरै पानी पियो भने पिसाब झन् बढी चुहिने भएकोले पानी पनि कम पिएको स्पष्ट देखिन्थ्यो । उनले भनिन्, ‘तपाईहरूले केही गरिदिएर ठिक पारे म राम्रोसँग बाँच्थेँ । नत्र यसरी दु:ख पाएर बस्नुभन्दा त मरेकै जाती ।’

मनकुमारीको अवस्थाले स्वास्थ्यकर्मीलाई द्रवित गरायो । उनलाई निशुल्क उपचार गर्नेगरी काठमाडांै पठाउने प्रबन्ध गरियो । बागबजारमा मजदुरी गरेर बसेका उनका छोराले अस्पतालमा पुर्‍याए । मनकुमारीको तीन हप्ताको अन्तरालमा दुईचोटी जटिल शल्यक्रिया गरियो । अर्को तीन हप्तापछि उनी घर जान योग्य भइन् । त्यसबेला उनलाई भेट्दा अनुहार खुसीले चम्किएको थियो । हात जोड्दै भनिन्, ‘दस वर्षपछि म आफूलाई यसरी सुकिलो अनुभव गर्दैछु ।’

डाक्टरका लागि यो थुप्रै केसमध्ये एउटा साधारण केस होला, तर मनकुमारीको जिन्दगीमा त यसले ल्याएको परिवर्तन अकल्पनीय छ । अब उनलाई दिनमा २–२ चोटी लुगा फेर्नु पर्दैन । जीउबाट गन्ध आउँदैन । उनलाई घरबाहिर बस्न जानु पनि पर्दैन ।

काठमाडांै र ठूला सहरका महिलालाई सायद यसरी लगातर पिसाब चुहिरहने समस्या पनि हुन्छ र भन्ने लाग्ला । तर गाउँघरमा यस्तो समस्याबाट धेरै महिला पीडित हुन्छन् र यस्तो भएपछि उनीहरूको सामाजिक, पारिवारिक, दाम्पत्य जीवन नष्टप्राय: हुन्छ । यसको उपचार हुँदैन भन्ने विचारले कति महिला र उनको परिवार निराश हुन्छन् । कतिले सायद आत्महत्या पनि गर्छन् ।

यसरी लगातार पिसाब चुहिरहने समस्याको पहिले नेपालमा उपचार हुँदैन पनि थियो । तर अब केही ठाउँमा सित्तैमा उपचारचाहिंँ हुन्छ । तर यसरी सित्तैमा उपचार पाउन पनि धेरै महिलालाई गाह्रो पर्छ । एक त जानकारीको अभाव, अर्को दुर्गम गाउँबाट काठमाडौंको मोडल अस्पताल वा धरानको मेडिकल कलेजजस्ता ठाउँमा त्यस्तो उपचार सुविधा लिन जान पनि गाह्रो । अर्को, अपहेलनाले गर्दा सामाजिक रूपमा बहिष्कृत महिला स्वास्थ्य चौकीमा जान सक्दैनन्, स्वास्थ्य चौकीका कर्मचारीलाई पनि कहाँ यसको उपचार हुन्छ भन्ने थाहा हुँदैन । कतिजना महिलाहरूको त दिसा र पिसाब दुवै चुहिरहेको हुन्छ । यस्तो समस्यालाई ‘फिस्टुला’ भनिन्छ । नेपाली भाषामा यसको ठ्याक्कै नाम छैन । तर पिसाब चुहिरहने समस्या भन्दा बुझिन्छ ।

यो समस्या हुने कारण सुत्केरी व्यथा लामो लाग्नु, समयमा स्वास्थ्य सुविधा नपाउनु हो । नेपालमा कति महिलाहरू यस्तो समस्याबाट पीडित छन् भन्ने ठ्याक्कै तथ्यांक त छैन, तर केही स्त्रीरोग विशेषज्ञहरूको भनाइमा वर्षमा करिब ४०० जना महिलाले यस्तो समस्या भोग्नुपर्छ । हेर्दा संख्या सानो देखिए पनि यसले ती महिलाको जीवनलाई छियाछिया पारिरहेको हुन्छ ।

विभिन्न महिला स्वास्थ्य शिविरहरूमा जाँदा यस्तो समस्या लिएर आउने महिलाहरू प्राय: देखिँदैनन् । सायद ती महिलाहरूलाई स्वास्थ्य शिविरसम्म ल्याइदिने सहयोगी हात हुँदैनन् कि ? यस्तो समस्या भएका महिलाहरूलाई सहयोग गर्ने अस्पताल पनि छन् भन्ने कुरा यदि बिभिन्न ठाउँमा जानकारी हुने हो भने महिलाहरूले शल्यक्रिया गर्न सक्छन् । यस्तो शल्यक्रिया गरेर ठिक हुन कहिलेकाहीं लामो समय (३–४ हप्ता) पनि लाग्ने भएकोले घरपरिवारको सहयोग त चाहिन्छ नै । तर यसका लागि प्रथमत: फिस्टुला भएका महिलाहरूसम्म शल्यक्रिया हुन्छ भने जानकारी पुग्नुपर्छ । यस्तो समस्या भएका महिलाको उपचार हुन्छ भनेर आमसञ्चार माध्यमले पनि जानकारी गराउने भूमिका निर्वाह गर्नुपर्छ ।