>

श्रावण ५, २०७८ मंगलबार

पूर्व माओवादी लडाकु मीरा ‘साहसी वर्ष व्यक्ति’ घोषित



Meera_Rai

एजेन्सी – नेपाली अल्ट्रा धाविका मीरा राइले नेशनल जियोग्राफिकको ‘साहसी बर्ष व्यक्ति’को उपाधि जितेकी छिन्।  नेशनल जिगोग्राफिकले  हरेक बर्ष प्रदान गर्ने अवार्डबाट सन् २०१७ मा राईले जितेकी हुन्।

अनलाइन भोटिङ समेतका आधारमा आफ्ना नौ प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधि जितेकी हुन्। डिसेम्वर १६ सम्म अनलाइन भोटिङ सकिएपछि उपाधि घोषणा गरिएको हो।

नेशनल जियोग्राफिकले १२ बर्षदेखि यो अवार्ड दिँदै आएको छ।  साहसिक खेल, अन्वेषण, संरक्षण र मानवीय क्षेत्रलगायतमा काम गर्नेलाई अवार्ड दिइदै आएको छ। अवार्डका लागि नेशनल जियोग्राफिकले मनोनयन गर्ने गर्छ। उत्कृष्ट दशपछि अनलाइन भाटिङ समेतका आधारमा बर्ष व्यक्तिको घोषणा हुनेगर्छ।

पूर्वी नेपालको भोजपुरमा जन्मिएकी २७ बर्षीय राई तत्कालीन नेकपा माओवादीकी लडाकु समेत हुन्। सेना समयोजनमा आयोग्य घोषित बनेपछि उनले अल्ट्रा धाविकाको रुपमा आफुलाई परिचित गराएकी थिइन।

छोटो समयमा नै धेरै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हात पारेपछि मीरा चर्चामा आएकी थिइन्। गत बर्ष हङकङमा सम्पन्न ‘आइल्याण्ड ट्रेल रेस’ र फ्रान्समा सम्पन्न ‘मोन्ट व्लाङ्क’ म्याराथन जितेपछि मीरा विश्व समुदायमा चर्चित छन्।

१२ वर्षको उमेरदेखि विद्यालय छाडेकी मीरा सन् २०१३ देखि घरेलु प्रतिस्पर्धामा भाग लिन थालेकी लिइन। अवार्ड घोषणअघि नेशनल जिगोग्राफिकले  उनको संघर्ष समेटिएको व्यक्तिचित्र सार्वजनिक गरेको छ।

मीरा राईको जीवनकथा  

९ चैत, २०७० यो मीरा राईले अल्ट्रा रेसमा इन्ट्री मारेको दिन हो यो । उनी हिमालयन आउटडोर फेस्टिबलमा दौडिएकी थिइन् । फूलबारी गेटदेखि हात्तीवन (मकवानपुर) सम्मको ५० किमि दौडमा प्रथम भएकी थिइन् । त्यसमा सहभागी अरूले पानी, खानेकुरासहितका झोला बोकेका थिए । मीरासँग भने लगाएको एकसरो टिसर्ट र ट्राउजरबाहेक केही थिएन ।

‘चार घन्टामै दौड सकाएर फर्कन्छु भन्ने सोचेको थिएँ,’ उनी सम्झन्छिन्, ‘तर असिना–पानी पर्‍यो । दौड जिते पनि टिस्टुङमै रोकिएँ । भोक लागेर रिंगटा चल्यो । मसँग एक पैसा पनि थिएन । राज प्रधान (अर्का धावक) दाइले दिनुभएको ५० रुपैयाँले चाउचाउ र जुस लिए । त्यो खाएपछि बल्ल इनर्जी आयो र उभिन सक्ने भएँ ।’

खाली पेटमा उकाली–ओराली दौड्दा रिंगटा लागे पनि स्वर्णपदक र प्रमाणपत्र लिएर बेलुका साढे आठ बजे बालाजुको कोठामा आइपुग्दा माहोल बेग्लै भइसकेको थियो । मीरासँगै बस्ने कराते खेलाडी अनुपमा मगर र मीराको काठमाडौं बसाइ तथा खेलको व्यवस्थापन गर्दै आएका बालाजु कराते एकेडेमीका सञ्चालक ध्रुवविक्रम मल्ल आत्तिएका थिए । उनीहरूलाई मीरा कहाँ गइन् भन्ने थाहा थिएन ।

मल्ल सुनाउँछन्, सधैं गोर्खा भर्ती (बेलायती सेना) को तयारी गर्नेसँग दौड्ने गर्थिन् । त्यस दिन पनि सधैंझैं बिहान पीटीआई गुरुजीसँगै निस्केकी थिइन् । उनले कहाँ जाँदैछु भन्ने कसैलाई बताएकी थिइनन् । दिउँसोसम्म नआउँदा त हामी आत्तियौं । बालाजु प्रहरी चौकीमा मीरा हराएको निवेदन दियौं ।’ साँझ साढे ८ बजे मीरा गोल्ड मेडल र प्रमाणपत्र बोकेर फर्किएपछि बल्ल उनी दौडमा सहभागी भएको थाहा भयो ।

मीरा ६ कक्षामा पुगेका बेला माओवादी आन्दोलन चर्किंदै थियो । उनी १४ वर्षमै माओवादीमा प्रवेश गरिन् । स्कुल पढ्दै माओवादीका कार्यक्रममा सहभागी भएको दुई वर्षपछि उनले पूर्णकालीन कार्यकर्ता हुँदै घर छाडिन् ।

खासमा मीरा आफैंलाई पनि त्यस दिन दौड्नुपर्छ भन्ने थाहा थिएन । त्यसैले उनी कसैलाई नभनी हिमालयन आउटडोरमा पुगेकी थिइन् ।

पूर्वमाओवादी छापामार मीरा वैदेशिक रोजगारीमा मलेसिया जानका लागि मंसिर २०७० मा काठमाडौं आएकी थिइन् । उनको भिसा पनि लागिसकेको थियो । कम्तीमा एक वर्ष त खेल भन्दै मल्लले सम्झाएपछि उनी यहीं बस्न राजी भएकी थिइन् । म्यानपावरलाई १२ हजार रुपैयाँ बुझाएर पासपोर्ट फिर्ता लिएपछि उनी दौडको अभ्यासमा लागेकी थिइन् । माओवादीको सिन्धुली शिविरमा तीन वर्ष कराते खेलेर मीरा ब्राउन बेल्टसम्म पुगेकी थिइन् । शिविरमा मल्लका चेलाले कराते सिकाउँथे । त्यही मीरा र अनुपमाको खेल उनले देखेका थिए ।

हिमालयन आउटडोरको सफलतापछि भने उच्च पहाडी–हिमाली क्षेत्रमा हुने अल्ट्रा रेस सुरु गर्ने सुरुमा मीरा पुिगन् । हिमालयन, मुस्ताङ र मनास्लुका स्वदेशी डाँडापाखामा मात्र होइन, इटाली र हङकङसहित लगातार ६ रेस जितिन् । स्वदेशका पाँचै रेसमा पहिलो भएकी उनले विदेशमा सहभागी १३ मध्ये आठमा स्वर्ण जितेकी छन् ।

माघ, २०७१ मा एसियाली स्काई रनिङ च्याम्पियनसिप जितेकी उनले वैशाखमा भएको स्काइरनर वल्र्ड सिरिज अन्तर्गत मोन्ट–ब्लान्क (फ्रान्स) रेसमा स्वर्ण जितिन् । अल्ट्रा रेसमा नेपालले पाएको यो नै सबभन्दा ठूलो सफलता हो ।

उनी अहिले सोच्छिन्, मलेसिया गएको भए– केही न केही । न पैसा कमाउँथें न नाम ।

उनको खान्की सामान्य मानिसको भन्दा प्राय: दोब्बर हुन्छ । ‘जत्रो भए पनि एउटा कुखुरा त म सिलिक्कै पार्छु,’ उनले भनिन्, ‘भोजपुर घर जाँदा कुखुरा र बलेख्रो टन्नै सिध्याएर आउँछु ।’ मासु उनको प्रिय खान्की हो । सन्तुलित खानाको रुटिन छैन तर उनी अण्डा, चना, स्याउ, केरा, काजु मिलाएर खान्छिन् ।

अल्ड्रा रेसको आयेजना र प्रवद्र्धनमा लागेको संस्था ‘ड्रेल रन नेपाल’ ले दिने मासिक ८ हजार उनको डाइट र पकेट खर्च हो । युरोपमा उनलाई स्पोर्टस वेयर कम्पनी ‘सलोमन’ ले प्रायोजन गर्छ ।

दैनिक २ देखि ६ घन्टासम्मको ट्रेनिङमा महिनामा उनको एउटा स्पोर्टस सुज फाट्छ । ‘गरिब नेपाली हुँ भनेपछि मलाई मौका दिएको छ । त्यसैले देशको नाम राख्ने अवसर पाएको छु,’ उनी भन्छिन् । उकाली ओरालीमा घन्टौ दौड्दा पनि उनी कहिल्यै थकान मान्दिनन् । भन्छिन्, ‘जति दौडियो झन् दौडिइरहन मन लाग्छ ।’

भोजपुरको सानेदुम्माकी उनी पँधेरी निमाविमा पढ्थिन् । ओरालो ४५ मिनेट हिँडेर स्कुल पुग्थिन् र फर्किंदा त्यही उकालो चढ्थिन् । खानेपानी लिन घरबाट ३० मिनेट ओरालो धाउनुपथ्र्यो ।

फिस्टे छापामार
मीरा ६ कक्षामा पुगेका बेला माओवादी आन्दोलन चर्किंदै थियो । उनी १४ वर्षमै माओवादीमा प्रवेश गरिन् । स्कुल पढ्दै माओवादीका कार्यक्रममा सहभागी भएको दुई वर्षपछि उनले पूर्णकालीन कार्यकर्ता हुँदै घर छाडिन् । सेना र प्रहरीसँग माओवादीको बारम्बार बम र बन्दुकको साक्षात्कार भइरहेको बेला गाउँबाट एक्लै छापामार बनेकी उनले भनिन्, ‘भाइबहिनी धेरै पढ्थे तर उनीहरूको फी तिर्ने पैसा थिएन । घरको स्थिति नाजुक थियो । घर बसेर केही हुनेवाला थिएन । त्यसैले बरु पछि पढौंला भनेर माओवादीमा गएँ ।’

समाजमा महिलालाई घाँस–दाउरामै सीमित राख्ने भएकाले केही गर्ने सपना बुन्दै उनी अवसरको खोजीमा माओवादीमा पुगेकी थिइन् । त्यसबेला आफ्नै घरमा पनि फायर भएको उनी सम्झन्छिन् । नजिकै भेडेटार, भोजपुर रिपिटर टावरमा सुरक्षाकर्मी र माओवादीको भिडन्त भयो । उनी बच्चै भए पनि भोजपुर आक्रमणमा सहयोगी छापामार थिइन् । ‘म फिस्टे नै थिएँ । त्यसैले युद्धमा अगाडि थिइनँ,’ उनी भन्छिन्, ‘घाइतेलाई बोकेर सहयोग गरें ।’ युद्धबाट जस्तोसुकै परिस्थितिमा पनि बाँच्न सकिन्छ भन्ने सिकेको उनले बताइन् ।

‘युद्धमा पुरुष र महिलाले चलाउने हतियार एउटै हो । समाजमा पनि त्यस्तै समानता ल्याउन माओवादीमा गएकी थिएँ,’ उनी भन्छिन्, ‘युद्धमा थुप्रै महिलाले योगदान दिए । तर, अहिले समान अधिकार नदिएकोमा चाहिँ दु:ख लाग्छ ।’

बाआमाकी पाँच सन्तानमध्येकी दोस्रो मीरा २०६३–६३ को जनआन्दोलनको सफलतापछि माओवादीको सिन्धुली शिविरमा पुगिन् । माओवादी छापामार नेपाली सेनामा समायोजननजिक पुगेको थियो । सेनाको जागिरे भएर भाइबहिनीको पढाइ र घर खर्चमा सहयोग गर्ने उनले सपना बुनिन् । तर, संयुक्त राष्ट्रसंघीय मिसनले ‘अयोग्य’ को सूचीमा राखेपछि उनको सपना शिविरमै टुट्यो ।
शिविर उठेपछि उनी घर गइनन् । सिन्धुलीमै बसेर एसएलसी पास गरिन् । १८ महिने कृषि पनि पढिन् । अहिले १२ कक्षामा पुगेकी उनी पढाइलाई निरन्तरता दिने बताउँछिन् ।

पीएलए स्पोर्टस क्लबले माओवादी शिविरमा खेल प्रशिक्षण थालेको थियो । त्यसमा उनी जुन खेलको प्रशिक्षण हुन्थ्यो, त्यतै लाग्थिन् । कराते, फुटबल, भलिबल, कपर्दी सबै खेलिन् । एथलेटिक्समा दौडिइन्, उफ्रिइन्, थ्रो गरिन् । ‘फेरि मौका पाउँदैन भनेर केही पनि छोड्न मन लाग्दैनथ्यो,’ उनले भनिन् । पाँचौं र छैटौं राष्ट्रिय खेलकुदमा पीएलएबाट ५ हजार र १० हजार मिटरमा दौडिइन् । तर, पदक जितिनन् ।

उनका दाइ झापामा बिजुलीको काम गर्छन् । बहिनी धनकुटामा कृषि पढ्दैछिन् । उनी आफ्नो करिअर सुरक्षित गर्न चाहन्छिन् । ‘न ढुक्कसँग खेल्ने अवस्था छ न त खेल छाडेर घर फर्कने नै,’ २५ वर्षीया उनी गम्भीर हुन्छिन्, ‘अहिलेसम्म गुरुको तर्फबाट बाँचेको छु ।’ उनले नाम कमाएकोमा परिवार खुसी छन् ।

थप ६–७ वर्ष अल्ट्रा रेसमा दौडेपछि भाइबहिनीहरूलाई स्वदेशमै रेस पनि आयोजना गर्दै अवसर दिएर आफूजस्तै बनाउनतिर लाग्ने उनले सोच छ । ‘अल्ट्रा रेसका लागि नेपालको भूगोल र यहीं हुर्केका नेपालीको सम्भावना एकदमै राम्रो छ । यसको आयोजनामा उत्कृष्ट खेलाडी र धेरै पर्यटक ल्याउन सक्छौं । सहभागितासँगै जितेर देशको नाम राख्न सक्छौं,’ उनले भनिन् ।

विश्व च्याम्पियन बन्ने लक्ष्य
कोर्स रेकर्डसहित मोन्ट ब्लन्क ८० किमि जितेपछि उनी सकाइरनर वल्र्ड सिरिजको दोस्रो स्थानमा पुगेकी छन् । उनीभन्दा अगाडि छिन्, स्विडेनकी एमिली फोर्सबर्ग । एमिली (३ सय) र मीरा (२ सय ८८) दोस्रो वरीयतामा छन् । लगातार तीन वर्षयता विश्व च्याम्पियन भएकी एमिली १७ साउनमा नर्वेमा भएको वल्र्ड सिरिजकै ट्रोम्सो स्काइरेसमा पहिलो र मीरा दोस्रो भएका थिए ।

महादेशीय ५ र वल्र्ड सिरिजका ५ गरी १० रेसको नतिजाको आधारमा सर्वाधिक अंक जोड्ने विश्व च्याम्पियन हुने गर्छन् । वर्ल्ड सिरिजको अन्तिम रेस ‘अल्ट्र पिरिनेट ११० किमि’ स्पेनमा २ असोजमा हुनेछ । त्यसैमा २० प्रतिशत बोनस अंक पनि पाउने भएकाले पहिलो हुन सके मीरा विश्व च्याम्पियन बन्नेछिन् । तर, उनलाई कोर्स र प्रतिद्वन्द्वी सजिला भने छैनन् । ‘गाह्रो छ तर विश्व च्याम्पियन बन्ने लक्ष्य छ र त्यसका लागि मिहिनेत गरिरहेकी छु,’ मंगलबार भेटघाटमा उनले भनिन् ।

काठमाडौंमा रहँदा जामरचोक, मुर्कु, छत्रेदेउराली, धादिङ र नुवाकोटमाथिका डाँडाहरूमा दौड्ने उनी स्पेनबाट फर्केपछि एभरेस्ट म्याराथन जित्ने योजनामा छिन् । प्राय: ४७–४८ केजीमा रहने ५ फिट ३ इन्चकी यी खिरिली युवतीमाथि वृत्तचित्र पनि बनेको छ । ओलम्पिक स्पर्धाको म्याराथन (४२.१९५ किमि) मा सडकमा दौड्ने सोच नभएको उनी बताउँछिन् । ‘उकालो ओरालोमा सानैदेखि जम्प गर्दै दौड्ने भएकाले अल्ट्रामै पर्फेक्ट छु । सडकमा दौड्दा शरीरलाई सन्तुलनमा राख्न सक्दिनँ । त्यसैले मेरो बाटो रोड होइन ।’

हिमालयन आउटडोरमा सहभागी हुँदा उनलाई अल्ट्रा रेस के हो भन्ने पनि थाहा थिएन । मुस्ताङमा दौडेपछि अल्ट्रा भनेको यही हो भन्ने थाहा भयो,’ १७ महिने अल्ट्रा यात्राबारे उनले भनिन् । उनी कमब्याटमा करिअर बनाउन असफल भइन् । उनी होमिएको युद्धको मोर्चा राजनीतिक सफलताबाट पनि टाढै छ । यसर्थ उनी उनको सफलता दौडमै हो । कान्तिपुरबाट