चैत्र १५, २०८० बिहीबार

आफन्तबाटै असुरक्षित छन चितवनका बालिका



Balikaभरतपुर – चितवनको राप्ति नगरपालिकामा चार दिन अघि एक व्यक्ति ७ सात वर्षीयालाई बलात्कार गरेको आरोपमा पक्राउ परे । प्रहरीले उनलाई जबरजस्ति करणी मुद्दा चलाएर अनुसन्धान थालेको छ । बालिका ती व्यक्तिकी भतिजी हुन । अहिले पीडित बालिकाको मानसिक अवस्था खल्बलिएको छ ।

घरमा कोही नभएको अवस्थामा काकाले जबरजस्ती गरेको बयानमा खुलेको छ । घटनापछि बालिकालाई एक संस्थाले आश्रय दिएको छ । ती व्यक्ति जबरजस्ति गरेको स्विकारेको प्रहरीले जनायो । तीन साता अघि रत्ननगर नगरपालिकाको टाडीमा बाबुले छोरीलाई जबरजस्ती गरेको प्रहरीले जनायो । उक्त घटनामा अदालतले पुर्पक्षको आदेश गरेको थियो । ती अहिले जेलमा छन् । त्यस्तै भारतको सिवान घर भई भरतपुर बसोबास भएका जगवान रायवकी पत्नीले इच्छा विपरीत शारीरिक सम्पर्क गरेको भन्दै पति बिरुद्ध ५ महिना अघि प्रहरीमा जाहेरी दिइन् ।

जिल्लामा केही समय यता आफन्तबाटै गम्भीर प्रकृतिका घटना भएको पाइएको छ । बलात्कार, हत्या, बहुविवाह, मानव वेचविखन, जस्ता आपराधिक घटना आफन्तबाटै भएका छन । सिमान्तकृत, विपन्न समुदायमा मादक पदार्थ सेवनका कारण हाडनाता र जबरजस्ति करणीका घटना हुने गरेको जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपानेले बताए । ‘यस्ता घटना रोक्न सचेतना कार्यक्रम गर्नुपर्छ’, उनले भने, ‘मादक पदार्थ बिक्री वितरणमा रोक, रोजगारीको अवसर, नैतिक शिक्षा र अपराधपछि सजायको बारेमा चेतना फैल्याउन जरुरी छ ।’ केही समययता आफन्तबाट विभिन्न किसिमका आपराधका घटना बढेको न्यौपानेले बताए । आफन्तबाट खतरा हुन थाल्यो’, उनले भने । जिल्लामा ६ महिना अवधिमा १९ बलात्कारका घटना भएको तथ्यांक छ ।

जिल्ला प्रहरी र जिल्ला अदालतको एक वर्षको तथ्यांक हेर्दा गम्भीर प्रकारका एक दर्जनभन्दा बढी आपराधिक घटनामा आफन्तै पीडित र पीडक देखिएका छन् । काका, श्रीमान्, श्रीमती, बुवा, आमा, मामा, माइजूजस्ता निकट सम्बन्धबाट अपराधको शिकार हुने गरेका छन् । आफन्तबाट विभिन्न घटनामा मानव अधिकारको उल्लंघन भएको इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले बताए । ‘आफन्तनै क्रुर भएर विभिन्न घटना भएको पाइएको छ उनले भने, ।’ काउलेका शेरबहादुर चेपाङ र विष्णुमाया चेपाङले दुई बालिकालाई गोरखा बुडकोटका चन्द्रबहादुर श्रेष्ठसँग जबरजस्ती विवाह गराई भारततर्फ लैजाने क्रममा गत चैत १७ गते महेन्द्रनगर गड्डाचौकीमा माइती नेपालले नियन्त्रणमा लिई अभिभावकको जिम्मा लगाएको थियो ।

आफन्तले भारत लैजान लागेका बेला नियन्त्रणमा लिइएको हो । बेचिन लगिएकी बालिकाका दुवै मामा माइजु हुन् । ०७३ मङसिर ६ गतेको फैसला अनुसार बालविवाहमा परिणत भई आरोपितलाई ६ महिना कैद सजाय भएको थियो । भरतपुर ७ का जमुनालाई गत माघ १६ गते राति पति त्रिभुवन काफ्लेले घरमा सुतिरहेको अवस्थामा धारिलो हयितार प्रयोग गरी गम्भीर घाइते बनाए । उपचारको क्रममा जमुनाको मृत्यु भयो । त्रिभुवनलाई जन्म कैद भएको छ । माडी बघौडाका भीमबहादुर दराईले घरमा श्रीमती भए पनि भरतपुर ११ की सरिता दराईसित गत असार १५ गते दोस्रो विवाह गरे । पीडितले जिल्ला प्रहरीमा बहु बिवाहको जाहेरी दिए पछि दुवै पक्राउ परे । अदातलले गत मङसिर २० गते भीमबहादुर र सरितालाई जनही १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

कतिपय आपराधिक घटनामा आफन्त संलग्न हुने गरेको पाइएको प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । ‘घटनामा संलग्नको खोजी, अनुसन्धान गर्दै जाँदा पीडकहरू पीडितका आफन्त हुने गरेका छन्’, उनले भने, ‘यस्ता घटना रोक्न स्थानीयस्तरमा चेतना मुलक कार्यक्रम जरुरी छ ।’