आश्विन १८, २०८१ शुक्रबार

अधिकार प्रयोगका लागि महिलाको सक्रियताः डा. रिजाल



Minendra Rijal

पोखरा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले संविधानप्रदत्त अधिकार उपयोग गर्नका लागि महिलाको सक्रियता आवश्यक भएकोमा जोड दिएका छन्। नेपाल महिला सङ्घ क्षेत्र नं २ कास्कीद्वारा आयोजित ‘स्थानीय निर्वाचनमा महिलाको भूमिका’ विषयक अन्तरक्रियामा उनले भने, ‘अहिले शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा महिलाले प्राप्त गर्ने सुविधामा वृद्धि भएको छ।’

संविधान कार्यान्वयन एवम् स्थानीय तहको निर्वाचनमा देश लागेको बताउँदै उनले नेकपा (एमाले) को दम्भ र मधेसवादी दलको हठले संविधान कार्यान्वयनलाई असर पारेको आरोप लगाए।

सांसद शारदा पौडेलले संविधानको कार्यान्वयनका लागि आसन्न निर्वाचनमा महिलाले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

सांसद विन्दा राना मगरले संविधानले दिएको अधिकारलाई उपयोग गर्दै स्थानीय तहका विभिन्न पदमा उम्मेदवार बन्न आफूलाई सक्षम बनाउन महिला लाग्नुपर्नेमा जोड दिइन्।

काँग्रेसका नेता एवम् कास्कीका पूर्वजिल्ला सभापति सोभियतबहादुर अधिकारी, काँग्रेसका कास्की उपसभापति हरि आचार्य, नेपाल महिला सङ्घ कास्की क्षेत्र नं २ की सभापति लक्ष्मी पाण्डे, सचिवद्वय रामकुमारी पौडेल र निर्मला कार्की भण्डारीलगायतले आसन्न निर्वाचनमा महिलाले आफूलाई योग्य एवम् सक्षम उम्मेदवारका रुपमा प्रस्तुत गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीको अधिवेशनमा नेपाल प्रेस युनियनतर्फबाट निर्वाचित उपाध्यक्ष विमला भण्डारी, सदस्यहरू कमल पौडेल ‘अथकʾ, रेम विक, प्रकाश ढकाल, केन्द्रीय पार्षद् गङ्गाधर पराजुली, ऋषिकान्त पौडेल, सरिता तिमल्सिनालगायतलाई सम्मान गरिएको थियो।

त्यस्तै पत्रकारिताबाट नवीन सिग्देल, स्वास्थ्यबाट जीता बराल, सामाजिक क्षेत्रबाट तीर्थकुमारी गुरुङ र राजनीतिक क्षेत्रबाट उमादेवी ठकुरीलाई पनि सम्मानित गरिएको थियो। रासस