आश्विन २६, २०८१ शनिबार

महिलाहरुले सुधारे जाँडरक्सी खाने पुरुषलाई



कालिकोट – कालिकोटका महिलाहरु अहिले सामाजिक जागरणमा लाग्ने गरेका छन् । पुरुषहरुले समाजमा बसेर जाँडरक्सी खाने हल्ला गर्नेलगायत गर्न थालेपछि महिलाहरु पुरुषका त्यस्ता क्रियाकलापमा सुधार ल्याउन सामाजिक अभियानमा लाग्ने गरेका हुन् ।

कालिकोटका महिलाहरुले गाउँमा सरसफाइ, स्वच्छ खानेपानी धारा र मदिरा नियन्त्रणको अभियानसमेत थालेका छन् । सामाजिक, आर्थिक, विकास, समाजमा रहेका विकृति र विसंगतिविरुद्ध उत्रेका महिलाहरुलाई अहिले गाउँघरमा बिगार्ने पुरुष, सपार्ने महिला भन्ने नारासमेत लाग्ने गरेको छ ।

मदिरा नियन्त्रण अभियानमा महिला गाउँमा पुरुषहरुले मदिरा खाएर होहल्ला गर्ने र महिलाहरुलाई कुटपिट लगायत घरेलु हिंसाका घटना बढ्न थालेपछि गेला गाविसका महिलाहरुले मदिरा नियन्त्रणको अभियान थालेका छन् । गाउँमा नै अवैध मदिरा पाउन थालेपछि महिला हिंसाका घटनामा वृद्धि भएको भन्दै घरेलु मदिरा बन्द गर्ने अभियान सञ्चालन गरेका हुन् ।

महिलाहरुले गाउँमा मदिराकै कारण घरेलु हिंसा बढेको निष्कर्ष निकाल्दै प्रहरीसँग मिलेर अवैध घरेलु मदिरा उत्पादन रोक्ने अभियान थालेका हुन । गाउँमा महिलाहरुले सरसफाइ पसल र आय आर्जनका काम गर्न थालेपछि पुरुषहरु पनि अहिले सकरात्मक बनेर महिलाहरुलाई साथ दिन थालेको स्थानीय मनसिंह शाहीले बताए ।