आश्विन २०, २०८१ आईतबार

काठमाडौंले मधेसलाई पनि पत्याउँदो रहेछ – निरुपमा



nirupama 2

काठमाडौं – यसपटको स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको चुनावमा अनपेक्षित परिणामहरु आएका छन् । चुनावअघि ठूला दलले कल्पनै नगरेको परिणाम देख्न पाइएको छ । कांग्रेस, एमाले र माओवादीको तीव्र प्रतिस्पर्धा हुनेअनुमान गरिएकोमा माओवादी निकै तल झर्‍यो भने पहिलो पटक उम्मेद्वारी दिएका विवेकशील र साझा पार्टीले उनिहरुलाई कडा टक्कर दिइरहेका छन् ।

चुनावअघि चुलिएको चर्चाका आधारमा विवेकशील नेपालीकी रञ्जु न्यौपानेले केही मत ल्याउनुहुन्छ, भन्ने धेरैको आँकलन थियो । सँगसँगै साझा पार्टीका तर्फबाट उम्मेद्वारी दिएका नेपाल सरकारले पूर्वसचिव किशोर थापाले पनि नजित्ने तर राम्रो भोट ल्याउँछन् भन्ने विश्लेषण पनि सुनिएको थियो । तर नितान्तै फरक समुदायबाट काठमाडौं महानगरको उपमेयरमा उम्मेद्वारी दिएकी निरुपमा यादवको भने चर्चा कमै मात्र भयो ।

तर अहिले साझा पार्टीका तर्फबाट काडमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेद्वार निरुपमा यादवले ल्याएको भोटले धेरैजना आश्चर्यमा परेका छन् । मधेसी समुदायबाट सम्भवत पहिलोपटक काठमाडौंमा उम्मेद्वारी दिएकी निरुपमाले ल्याएको भोटले उनको चर्चा चुलीमा मात्र पु¥याइदिएन काठमाडौंले तराईलाई अर्को समुदाय हो भनेर हेला नगर्ने रहेछ भन्ने पनि पुष्टी गरेको छ ।

सप्तरीमा जन्मिएर मोरङमा विवाह गरेकी निरुपमाले १५ वर्षदेखि काठमाडौंमा मानवअधिकारकर्मी र अधिवक्ताको रुपमा काम गरिरहुनभएको थियो ।

उम्मेद्वारी दिनुअघि तराईलाई काठमाडौंले हेला पो गर्ने हो कि भन्ने डर निरुपमामा थियो ।  तर हिम्मतका साथ उम्मेद्वारी दिएकी निरुपमाले पुष्टी गर्नुभयो काठमाडौंले तराइलाई पराइ ठान्दैन ।

काठमाडौं महानगरपालिकामा ९० हजार भोट गन्दा निरुपमा यादवलाई महागनरबासीले दिएको ६ हजार मत यसको पुष्टी गर्ने बलियो आधार हो । महिला, त्यो माथी मधेसी समुदायको, अनि उम्मेद्वारी पनि नितान्तै नयाँ पार्टीबाट । यस्तो अवस्थामा निरुपमा यादवले पाएको भोटले एकातिर नयाँ पार्टीप्रतिको लोकप्रियता बढेको देखिएको छ भने अर्कातिर काठमाडौंले फरक समुदायको अपनत्व ग्रहण गर्न पनि तयार रहेको संकेत दिएको छ ।

‘काठमाडौंका केही साथीले भन्नुभयो, निरुपमा जी हामीले त कल्पना नै गर्न सकेका थिएनौं कि मधेसका मान्छेलाई पनि काठमाडौंमा मत दिन्छन् भनेर, तर त्यसलाई तपाइँको उम्मेद्वारीले गलत सावित गरिदिएको छ’ काठमाडौंमा पाएको भोटबाट दंग हुनुभएकी निरुपमाले भनिन्, ‘यसले के देखाएको छ, भने काठमाडौंले कुनै जात र समुदायलाई मात्रै नभइ सबै जातजाती र समुदायका मान्छेलाई पत्याउँदो रहेछ भन्ने पुष्टी पनि हो ।’

यो नजिताले दलहरुले अवसर दिएमा आफू र आफूजस्तै जुनसुकै समुदायबाट आएका व्यक्तिलाई पनि काठमाडौंले पत्याउने रहेछ भन्ने आधार बनाइदिएको निरुपमाले  बताईन ।

कुराकानीका क्रममा निकै हौसिएकी यादवले भनिन ‘काठमाडौं एउटा विद्धत समाज हो, काठमाडौंका नेवार त झनै सहयोगी र खुला ह्रदयी भएको पाएँ, यहाँका नागरिकले हरेक समुदायलाई सजिलै स्वीकार गरेको पाएँ, काठमाडौंले कसैलाई अपमान गर्दैन भन्ने कुरा मेरो उम्मेद्वारीले स्पष्ट पारेको छ ।’

‘आँट पनि लागेको छ, गर्व पनि लागेको छ, र म निकै खुशी छु । हामीले फरक धार दिन सक्यौं, फरक धारले प्रवेश पाएको छ । काठमाडौंले तराईलाई हेला गर्छ, परैको सोच्छ भन्ने सोचलाई पनि चिरेको छ’ उहाँको बोलीमा नै उत्साह भरिएको थियो ।
सेलिब्रेटी जस्तै भएकी छु

सुरुमा खासै चर्चा नभए पनि ३८ वर्षकी तराई समुदायकी नारीले काठमाडौंमा ल्याएको भोटले गर्दा अहिले भने उहाँको चर्चा चुलिएको छ ।

तपाइँ त सेलिब्रटीजस्तै हुनुभयो है रु भन्ने प्रश्नमा धेरैबेरसम्म हासेकी यादवले भन्नुभयो, ‘पब्लिक फिगर भएपछि त निकै ठूलो संसार हुने रहेछ, सेलिब्रटी त नभनौं, तर एक प्रकारको सेलिब्रेटी जस्तै भने भएकी छु ।’ उज्यालो अनलाईनबाट