आश्विन २०, २०८१ आईतबार

महिनाबारीमा महिलाको पिडा:रोएरै दिन बित्यो(भिडियो सहित)



संगै खेल्ने खाने दाजुभाईलाई छोडेर महिनावारीका बेला लुक्न जादाँ रोएरै दिन विताउन बाध्य भएको तीतो अनुभव सुनाउछिन् पल्लीकोट ४ गुल्मी निवासी १३ वर्षीया रिता राकसकोटी । सामाजिक रुढीवाद र कुसंस्कारका कारण महिनावारी भएको बेला घरमा बस्न नहुने र बुवा, दाजुभाईलाई देख्न समेत नहुने भनेपछि गाउँको डाँडै काटेर जानुपर्ने बाध्यताको सामना आफूले गरेको बताउँदै गर्दा उनी निकै भावुक देखिन्थिन् । राकसकोटीले भनिन् ‘पहिलोचोटी महिनावारी भएपछि घरबाट मलाई जस्तो अवस्थामा थिए“, त्यस्तैमा गाउँको डाँडो काटेर लुक्न जा भन्नुभयो ।’ आँखा टिलपिल बनाउँदै उनले भनिन् ‘त्यतिखेर मलाई दाजु र भाईको धेरै याद आउँथ्यो, महिनावारी भएका बेला उनीहरुसंग छुट्टिनुपर्दा रोएरै बसें सबै दिन ।’ महिनावारीका बारेमा धेरै कुरा बुझिसकेपछि आफूले अब महिनावारीबारे लुकाएर होइन सिकाएर अगाडी बढ्ने प्रण गरेको रिताले बताईन् ।

भिडियो हेर्न यहाँ जानुस :

गुल्मीकै ठुलोलुम्पेक ५ ग्याँझाकी पुष्पा कुँवरलाई चाहिं महिनावारी भएको बेला विद्यालय जाँदा अरुबेला जस्तो सहज लाग्दैन । ठुलोलुम्पेक वार्ड नं ८ निवासी जिविका सुनारले महिनाबारी हुँदा विद्यालय गएपनि साथीहरुसंग भने टाढै रहने र बेञ्चमा बस्न अठ्यारो हुने बताईन् । सुनारले भनिन् ः ‘त्यस्तो बेला कोहीसंग पनि नजिक पर्दिन, बेञ्चमा बस्न पनि गाह्रो लाग्छ ।’ दीपक माध्यमिक विद्यालय भनभनेमा अध्ययनरत १४ वर्षीया निर्मला पन्थीले पनि महिनावारीका बेला विद्यालय आउन मन नलाग्ने बताईन् । उनले कसैसंग पनि खुलेर कुरा गर्न, हिड्न मन नलागेका कारण महिनावारीका बेला ‘स्कुल जान नपरे हुन्थ्यो’ जस्तो लाग्ने बताईन् । यता ठुलोलुम्पेक ७ युस्काकी कमला राहादी मगरले महिनावारी हुदाँ विद्यालय गए पनि मानसिक त्रासका कारण राम्ररी पढ्न नसक्ने समस्या राखिन् । उनले भनिन् : ‘महिनावारी हुँदा बेला स्कुल त आउँछु, तर पेट दुख्ने, पढ्न मन नलाग्ने, बेञ्चमा बस्दा रगत लागेर कसैले देख्छन कि भन्ने डर लागिराख्छ ।’

विद्यालयमा अचानक महिनावारी हुदाँ रुमाल समेत प्रयोग गर्नुपरेको सम्झिंदै शारदा सिंजालीले महिनावारी भएपछि घरको कुनै पनि सामान छुन नपाइने, लुक्न जानुपर्ने जस्ता समस्या भोगेर अगाडी बढेको बताईन् । महिनावारी सम्बन्धी कुनै पनि विषयमा बुझ्ने मौका नपाउँदाको पहिलाको अवस्थाबारे बताउँदै उनी भन्छिन् ‘बाहिर सरेको भनेर घरमा केही छुन दिनु हुदैनथ्यो, अहिले त म बाहिर सरें भनेर नै भन्दिन ।’ उनले महिनावारी हुँदा लुङ्गीका कपडाका टाला प्रयोग गर्ने बताईन् । आजभोली विद्यालयमा पनि महिनावारी सुरक्षित सामग्रीको व्यवस्था गरेपछि भने आफूलाई निकै सहज भएको सिंजालीको अनुभव छ ।
स्वास्थ्य र सरसफाइजस्तो संबेदनशील बिषयलाई हेय भावनाले हेरिने र महिनावारीका बेला एक्लै अध्यारो कोठामा लुक्नुपर्ने जस्ता परंपरागत चलनले गर्दा आफूहरुको मानसिक शारिरीक स्वास्थ्यमा प्रतिकुल असर परिरहेको उनीहरुले बताएका छन् ।