आश्विन २६, २०८१ शनिबार

प्रमुख पदमा महिलाको उम्मेदवारी परेन



बैतडी, ८ असार । बैतडीमा प्रमुख पदमा कुनै पनि महिलाको उम्मेदवारी परेको छैन । बैतडीका १० वटा स्थानीय तहमा प्रमुख पदका लागि महिलाको उम्मेदवारी शून्य रहेको हो । स्थानीय तहको निर्वाचनको चर्चा सुरु भएसँगै राजनीतिक दल भित्रका केही महिला नेत्रीले प्रमुख पदमा दाबी गरे पनि कुनै पार्टीले पनि महिलालाई प्रमुख पद दिन आँट गरेनन् ।
जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार चारवटा नगरपालिका र ६ गाउँपालिकामा प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छैन । पितृसत्तात्मक समाजका कारण महिलालाई प्रमुख पद दिनमा राजनीतिक दलले आनाकानी गरेको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष पार्वती भट्टले बताउनुभयो । महिलासँग क्षमता नै छैन भन्ने गलत हल्ला फैलाएर महिलालाई नेतृत्व दिन राजनीतिक दल हिच्किचाएको भट्टले बताउनुभयो । प्रमुख पदमा एकजना महिलाको पनि उम्मेदवारी नपर्नु निकै दुःखको कुरा भएको नेपाली काँग्रेसबाट पाटन नगरपालिकामा उपप्रमुख पदकी उम्मेदवार सरस्वती कोलीले बताउनुभयो । पुरुषभन्दा महिला मतदाता बढी भएको बैतडीमा प्रमुख पदमा महिलाको उम्मेदवारी नपर्नु महिलालाई अझै कमजोर बनाउने खेलको शृङ्खला भएको नेपाल महिला सङ्घकी देवु ठगुन्नाले बताउनुभयो ।
सोचे जति महिलाको राजनीतिमा पहुँच नभएकाले महिलाको प्रमुख पदमा उम्मेदवारी नपरेको हुन सक्ने महिलाको क्षेत्रमा काम गरिरहेको संस्था संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो । भोजपुर, ८ असार । आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा भोजपुर जिल्लाभर प्रमुख पदमा महिलाको प्रतिनिधित्व न्यून रहेको छ । जिल्लामा एकमात्र गाउपालिकामा प्रमुख पदमा महिलाको उम्मेदबारी परेको छ ।
भोजपुर, यहाँका दलले समानताको कुरा बेलाबेलामा उठाउने गरे पनि महिलालाई उपप्रमुख र उपाध्यक्षमा सीमित राखेका छन् । पछिल्लो संविधानले किटान गरेको ३३ प्रतिशत महिला सहभागितालाई दलले पूरा गर्न नसकेको महिला अधिकारकर्मीले बताउँदै आएका छन् ।
“हाम्रो माग त ५० प्रतिशत नै हो तर स्थानीय चुनावमा हाम्रो सहभागिता न्यून छ”, महिला अधिकारकर्मी सबिना राईले भन्नुभयो । अन्य समयमा दलले भाषणमा महिला सहभागिताको कुरा गरे पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको महिलाले गुनासो गरेका छन् । “दलहरुले महिलाको सवालमा चर्का कुरा गर्ने गर्छन् तर स्थानीय तहमा महिलाले उपप्रमुख, उपाध्यक्ष र महिला सदस्यमै चित्त बुझाउनु परेको छ, हामीहरुलाई पनि जिम्मेवारी दिए जुनसुकै काम पनि गर्न सक्छौँ”, अर्की महिला अधिकारकर्मी कमला बस्नेतले गुनासो गर्नुभयो ।  मुख्य दल नेपाली काँग्रेसले मात्र पौवादुम्मा गाउँपालिकाको प्रमुख पदमा शिशिरा राईलाई उम्मेदबारी दिएको छ । रासस