आश्विन २०, २०८१ आईतबार

कुटपिटको बदलामा श्रीमानको औँला काटेर खाईन दाङ्गकी महिलाले



काठमाडौं – दाङकी एक महिलाले श्रीमानको हातका चारवटा औंला काटेर पोलेर खाएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले श्रीमानको औंला काटेर पोलेर खाएको अभियोगमा पक्राउ गरेको हो ।

श्रीमान चन्द्रबहादुरको दायाँ हातका चारवटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि महतरालाई गएराति आठ बजेतिर पक्राउ गरिएको तुलसीपुर प्रहरीले जनाएको छ ।

चन्द्रबहादुरलाई बिहीबार बिहानै उपचारका लागि तुलसीपुर ल्याएपछि घटना सार्वजनिक भएको हो । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई नेपालगञ्जतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

विहे गरेदेखि नै मदिरा सेवन गरेर श्रीमानले कुटपिट गर्ने भएकोले रिस थाम्न नसकेपछि आँैला काटेर पोलेर खाएको उनले बताईन् ।

सधैँ मदिरा सवेन गरि यातना दिने गरेको र बुधबार समेत मदिराले मातेर कुटपिट गर्न थालेपछि चारओटा औंला काटेको बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङकी प्रहरी उपरीक्षक दुर्गा सिंहले बताइन् ।

घटना घटेको थाहा पाएसँगै थप अनुसन्धानका लागि प्रहरी टोलि खटाएको प्रहरी उपरीक्षक सिँहको भनाई छ।

आफूपछि चन्द्रबहादुरले छ जना बिहे गरेको तर हाल चन्द्रबहादुरसँग आफूबाहेक अरु कुनैपनि श्रीमती नरहेको रीसमीले बताइन् ।

आफूहरु दुईजना मात्रै बस्दै आएको घरमा श्रीमानले दिनहुँ कुटपिट गर्ने र आफ्ना दाँत झारिदिएको कुरा रिसमीले प्रारम्भिक बयानमा क्रममा बताएकी छन् ।

घाइते चन्द्रबहादुरलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर ‘रेफर’ गरिएको छ । घटना आज बिहीबार बिहान मात्रै थाहा भएको थियो ।