बैशाख १, २०८१ शनिबार

यो जोडी! गौरीको छाउगोठमा निधन भएपछि सदाका लागि छुट्टियो



काठमाडौ-उमेरले भर्खर २२ बर्षमा टेकेकी एउटी उर्जाशिल युवतीको निधन महिनाबारी भएर बस्नका लागि तयार गरिएको छाउगोठमा हुन्छ । भर्खर बिहे गरेर घरजम गरेकी उनको सोमबार छाउगोठमा मृत्यू भएको हो ।

केही बर्ष पहिले माइतीगाउँ छाउपडी गोठमुक्त बनाउने अभियानमा सक्रिय भएर लागेकी अछामको तुर्माखाँद गाउँपालिका ३ भैरवस्थानकी गौरी बुढाको गाउगोठमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ खाना खाएर सुतेकी २२ वर्षीया गौरी बुढा सोमबार विहान ढिलासम्म नउठेपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएकोवडा अध्यक्ष पदमबहादुर बुढाले जानकारी दिए ।

कालिकेश्वोरी माध्यमिक विधालय तुर्माखादमा कक्षा ११ मा अध्यनरत गौरीको एक बर्ष पहिले नेपाल प्रहरीमा कार्यरत गाउँकै विरेन्द्र बुढासंग बिहे भएको थियो ।

श्रीमानकै घरमा बसीरहेकी गौरी महिनाबारी भएपछि बस्नको लागि घरभन्दा केही टाढा रहेका छाउपडी गोठमा गएकी थिइन् । महिनाबारी भएको चौथो दिनमा उनको मृत्यु भएको खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

समाज परिवर्तनका लागि अग्रसर भएर भुमिका निर्वाह गर्ने गौरी आफैलाई पनि लागेको थिएन होला आफ्नै ज्यान छाउगोठमा जान्छ ।

तर उनले छाउगोठमै प्राण त्यागिसकिन् । उनी जस्ता धेरै किशोरीहरुको महिनावारी भएको बेला छाउगोठमा ज्यान गइहेको छ ।

झ्याल नभएको साँघुरो गोठमा आगो बालेर सुत्दा निसासिएर उनको मृत्यु भएको स्थानीयले बताएका छन् । शरीरमा कुनै चोटपटक नदेखिएकाले उनको मृत्यु निस्सासिएकै कारणले भएको तुर्माखाँद गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष पदमबहादुर बीसीले बताए ।

‘शरीरमा कुनै चोट छैन । कसैले कर्तव्य गरेको जस्तो पनि देखिँदैन,’ उनले भने, ‘मृत्युको अरू कुनै कारण छ जस्तो लाग्दैन । निसासिएरै ज्यान गएको हो भन्ने लाग्छ ।’ महिनावारी भएको चौथो दिन उनको मृत्यु भएको हो ।

घरनजिकैको गोठमा सुतेकी बुढा बिहान अबेरसम्म पनि बाहिर ननिस्किएपछि ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएकी परिवारका सदस्यले बताएका छन् ।

घटनापछि साबिक भैरवस्थान–९ स्थित बुढाको घरमा पुगेर घटनाको अनुसन्धान गरिएको अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए ।

‘मृतकको शरीरमा कुनै चोट छैन,’ उनले भने, ‘घटनास्थलको अध्ययन गर्‍यौँ, अब पोस्टमार्टम हुन बाँकी छ ।’ डिएसपी न्यौपानेले पनि निसासिएरै बुढाको मृत्यु भएको हुन सक्ने बताए ।

मृतक बुढाको शव पोस्टमार्टमका लागि मंगलबार मात्र सदरमुकाम लगिने प्रहरीले जनाएको छ । योसँगै अछाममा छाउगोठमा ज्यान मुमाउनेको संख्या १२ पुगेको छ । दश वर्षयताको तथ्यांकअनुसार छाउगोठमा निसासिएर र आगोले जलेर १२ जनाको मृत्यु भएको तथ्यांक छ ।

महिला किन बस्छन् गोठमा ? 
महिनावारी नबारे देवी–देवताले अनिष्ट गर्ने अन्धविश्वास नै महिलाहरू छाउगोठमा बस्नुको पहिलो कारण हो ।

महिनावारी हुँदा घरमा बसे आगलागी हुने, जनधनको क्षति हुने र जीवनमा कुनै पनि काम सफल नहुने अन्धविश्वासकै कारण अछामका महिलाहरू छाउगोठमा बस्ने गर्छन् । यहाँका धेरै महिला अहिले पनि निरन्तर छाउ बार्दै आएका छन् ।

‘महिनाको सात दिन साँघुरो छाउगोठमा बस्नैपर्छ, निकै सकस हुन्छ’ स्थानीय रंगा नेपालीले भनिन् । महिनावारी हुँदा छाउघरमै बसे परिवारका बुढापाका सदस्यले नमान्ने अधिकारकर्मी बिन्दु रावलको भनाइ छ ।

उनले भनिन्, ‘छाउ भएकी महिलालाई घरमा बस्न दिन हाम्रो मनैले मान्दैन । मिल्दै नमिल्ने कुरा जबर्जस्ती गरेर हुन्छ रु भन्दै बुढापाका विरोध गर्छन्, परिवारमा किन विद्रोह गर्नु भनेरै पढेलेखेका महिला पनि छाउगोठमा बस्ने गर्छन् ।’