आश्विन २०, २०८१ आईतबार

अछाममा सबै गाउँनगर छाउपालिका, जनप्रतिनिधि र शिक्षिका नै बार्छन छाउ



अछाम – मष्टामान्डौ आधारभूत विद्यालय साँफेबगरकी शिक्षिका ज्ञानु ठकुल्ला महिनावारी हुँदा जहिल्यै बिदामा बस्छिन् । यसवेला सोही विद्यालयका अरू शिक्षिका पनि बिदा लिएर बस्छन् ।

विद्यालयनजिकै देवताको मन्दिर रहेकाले उनीहरू महिनावारीका वेला विद्यालय जाँदैनन् । जसले गर्दा महिनाका सातदिन विदा लिनु परेको हो ।

ढकारी–७ को त्रिपुरेश्वरी आधारभूत विद्यालयकी शिक्षिका शान्ति भुसाल महिनावारी हुँदा गोठमै बस्छिन् । उनकै वडाका अन्य नौजना शिक्षिका पनि छाउ बार्दै आएका छन् । साँफेबगर र ढकारीमा मात्र होइन्, जिल्लाभरका अधिकांश शिक्षिका महिनावारी हुँदा छाउगोठमा बस्ने गरेका छन् ।

‘धेरै विद्यालय मन्दिरनजिक छन्,’ ढुंगाचाल्ना थारमका नवराज थापाले भने, ‘त्यस्तो विद्यालयका शिक्षिका छाउ हुँदा बिदा लिन्छन् । यस्तो वेलामा कोही पनि पढाउन जाँदैनन ।’

उनका अनुसार त्यहाँका सबै शिक्षकका श्रीमती, आमा, छोरी र बुहारीहरू पनि महिनावारी हुँदा गोठमा बस्ने गरेका छन् । शिक्षा कार्यालयका अनुसार यस जिल्लाका अधिकांश विद्यालयको समस्या हो । ‘धेरै विद्यालयमा यस्तो समस्या छ,’ जिल्ला शिक्षा अधिकारी झंकरबहादुर विष्टले भने, ‘छाउ हुँदा विद्यालय नै नआउने शिक्षिका थोरै भए पनि छाउ बार्नेहरूचाहिँ धेरै छन् ।

यसअघिका तथ्यांकअनुसार छाउगोठमा बस्नेमा जान्नेबुझ्ने महिलाहरू नै बढी छन् । गएको पुस २४ गते छाउगोठमा निसासिएर मृत्यु भएकी तुर्माखाँदकी गौरी बुढा सामाजिक अगुवा हुन् । उनी नागरिक सचेतना केन्द्रकी सदस्य थिइन् । त्यस्तै, ढकारीकी लक्ष्मी बुढा, रिडिकोटकी शर्मिला भुल र गाज्राकी रोशनी तिरुवा पनि पढेलेखेकी थिइन् ।

बुढा, भुल र तिरुवालगायत छाउगोठमा ज्यान गुमाउने अधिकांश महिला तथा किशोरीहरू पढेलेखेका र सामाजिक अगुवाका रूपमा चिनिन्थे । सन् २००७ यता अछाममा १२ जना महिला तथा किशोरीको छाउगोठमा मृत्यु भएको तथ्यांक छ ।

जनप्रतिनिधिको घरमा यसरी बारिन्छ छाउ

ढकारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी साउद आफै महिनाबारी हुँदा अाफै छाउगोठमा बस्छिन । ‘छाउ नबारे आमाले सञ्चो हुँदैन भन्नुहुन्छ,’ उनले भनिन्, ‘यो मेरो मात्र समस्या होइन्, सबैको घरमा यस्तै छ ।’

बान्नीगडी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काकाे घरमा  महिलाहरु छाउँ हुँदा छुट्टै बस्छन । ‘परम्परागत मान्यता सहजै तोड्न मुस्किल छ,’ उनले भने, ‘मेरै घरमा पनि छाउ बार्छौं । महिनावारी अवधिमा महिलाहरू छुट्टै बस्छन् । उनीहसँग लसपस गर्न पाइँदैन ।’

उनको घरमा मात्र होइन, मंगलसैनका नगर प्रमुख पदमबहादुर बोहरा र ढकारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउदको घरमा पनि त्यसैगरी छाउ बारिन्छ । ‘पढेलेखेकै बुहारीहरू मान्दैनन्, ‘नगर प्रमुख बोहराले भने, ‘मेरो घरमा पनि समस्यै छ ।’

बान्नीगडी जयगढ, मंगलसैन र ढकारीमा मात्र होइन, साँफेबगर, पञ्चदेवलविनायक र कमलबजार नगरपालिका तथा तुर्माखाँद, रामारोशन, मेल्लेख र चौरपाटी गाउँपालिकाका अधिकांश जनप्रतिधिका घरमा छाउ बार्ने गरिएको पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउनेले बताइन् ।

‘यो लाजमर्दो कुरा हो,’उनले भनिन्, ‘जनप्रतिनिधि, शिक्षक र अभियन्ता नै छाउगोठमुक्त अभियानका बाधक हुन् ।’ उनकै नगरपालिकाका वडा तहका सबै जनप्रतिनिधिको घरमा छाउ बार्ने चलन रहेको छ ।

जनप्रतिनिधिहरूकै घरमा यस्तो समस्या देखिएपछि चार नगरपालिकाका मेयर/उपमेयर र ६ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षहरूले छाउपडी कुसंस्कारमुक्त रणनीति बनाउने तयारी गरेका छन् । त्यसका लागि प्रत्येक स्थानीय तहले एक महिनाभित्र प्रारम्भिक चरणको काम थाल्ने निर्णय भएको छ ।

जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कुँवरको संयोजकत्वमा सदरमुकाम मंगलसैनमा १० वटै तहका जनप्रतिनिधिको उपस्थितिमा यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए ।

‘गाउँ तहमै निगरानी समिति गठन गर्छौं,’ उनले भने, ‘स्थानीय तहले त्यसको नेतृत्व गर्नेछन् । त्यसपछि हामी अभियानलाई गतिदिनेछौँ ।’ १० वटै तहका प्रमुखहरूका अनुसार सबैभन्दा पहिले जनप्रतिधिहरूबाटै यो अभियान चलाइनेछ ।

वडासदस्यहरूका घरका महिला महिनावारी हुँदा सुरक्षित घरमै बस्ने वातावरण मिलाएपछि मात्र अन्य गाउँमा अभियान चलाइनेछ । त्यसका लागि प्रत्येक तहले तत्काल समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ पत्रिका