आश्विन १९, २०८१ शनिबार

प्रदेश ७ का महिला सांसद् भन्छन्, सुदूरपश्चिमले अब फड्को मार्छ



धनगढी – काठमाडौंबाट शनिबार दिउँसो सुदूरपश्चिम यातायातको गाडीबाट धनगढीका लागि हिँडेकी वादी समुदायकी पहिलो प्रदेशसभा सदस्य उमा वादी आइतबार बैठक सुरु हुनुभन्दा दुई मिनेटअघि मात्रै हस्याङफस्याङ गर्दै प्रदेशसभा भवन पुगिन्। सबै प्रदेशसभा सदस्य संसद् भवनबाहिरको डेस्कमा परिचयपत्र बुझेर हलभित्र बसिसकेका थिए।

‘नारायणगढ–मुग्लिन सडकमा रातभर जाममा परेँ, बिहान आठ बजे धनगढी पुग्ने बसले दिउँसो साढे एक बजे बसपार्कमा उता¥यो’, उनले हतारहतार भनिन्, ‘अब मैले के गर्नुपर्छ ? ’ संसद् सचिवालयका कर्मचारीले उनको उपस्थिति गराए, परिचयपत्र दिए र उनी हलतिर लागिन्।

यसअघि सिंहदरबारमा वादीको यौनपेसा बन्द गरेर राज्यले पुनःस्थापना गर्नुपर्ने माग गर्दै उनले राज्यको ध्यानाकर्षण गराएकी थिइन्। ‘संसदको नयाँ अनुभव भयो, त्यो काडमाडौंको सडक यात्राको जस्तो झुर हालत हाम्रो प्रदेशमा हुनुहुँदैन’, संसद् बैठक समापन भएपछि बाहिरिँदै उनले भनिन्, ‘अहिलेसम्म वादी र दलितको अधिकारका लागि सडकमा उर्लिएँ, अब सदनमा कराउँछु। र, सुदूरपश्चिमको विकासका लागि डटेर लाग्छु।’

उमाको जस्तै उमंग धेरै नयाँ प्रदेशसभा सदस्यमा थियो। डोटीबाट एमालेको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी पूर्णा जोशीले महिलाका धेरै कुरा राख्ने मन भए पनि पहिलो बैठकमा त्यो अवसर नपाएको बताइन्। एक दलको एक सदस्यले मात्र बोल्न पाउने भएकाले उनले आफ्ना धारणा राख्न पाइनन्। अर्को बैठकमा पहाडका महिलाका पीडा राख्ने उनको सोच छ।

सबैजसो महिला सांसदले सुदूरपश्चिमलाई नयाँ किसिमले विकासको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

एमालेकै अर्की समानुपातिक प्रदेशसभा सदस्य चुनकुमारी चौधरीले पनि संसद्को नौलो अनुभव सँगालेकी छन्। ‘मेरो परिवार मुक्तकमैया हो, म पनि अर्काको घरमा कमलरीझैं बसेँ, अहिले सदनमा पुगेकी छु’, उनले भनिन्, ‘ती मुक्त कमैयाका मुद्दा मेरा प्राथमिकता हुनेछन्।’

५३ सदस्यीय प्रदेश ७ को सदनमा १८ जना महिला छन्। यो प्रदेशमा एमालेबाट आठ, माओवादी केन्द्रबाट पाँच, कांग्रेसबाट चार र राष्ट्रिय जनता पार्टीबाट एक जना महिला प्रदेशसभा सदस्य छन्। सांसदको भूमिकामा बस्दा महिला हक अधिकारका विषयलाई सशक्त रूपमा उठाउने उनीहरूको भनाइ छ।

सबैजसो महिला सांसदले सुदूरपश्चिमलाई नयाँ किसिमले विकासको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। त्यसका लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने उनीहरूको प्रतिबद्धता छ। यसबाट मात्र सुदूरपश्चिमले विकासमा फड्को मार्ने उनीहरूले बताए।