>

बैशाख २८, २०७८ मंगलबार

काफल खादैँ शुरु गरेको रामकुमारीको राजनितिक यात्रा व्यवस्थापिका संसदसम्म !



काठमाडौ-मुलुकको राजनीतिक इतिहासमा एकजना लडाकू एवं जुझारु युवा महिला राजनीतिकर्मीको छवि बनाउन सफल रामकुमारी झाँक्रीले जीवनका प्रथम २५ वर्षको उमेरभित्र जेजस्ता रहरलाग्दा उपलब्धि हासिल गरिन्, त्यो सबै देखी वा सुनी जान्नेहरूलाई एउटा प्रश्नले निश्चय पनि हुटहुटी जगाउनुपर्ने हो–

उनले आफ्नो यो प्रज्वलनशीलता पछिसम्मै पनि यसरी नै कायम राख्न सक्ने हुन् रु अथवा ती असंख्य पात्रहरूको पंक्तिमा मिसिन पुग्ने हुन् जो एक समय राजनीतिमा सक्रिय रहेर केही अवधिपछि हराउँछन् वा पलायन भएर जान्छन् रु रामकुमारीले भविष्यमा जे जस्तो निर्णय गरे पनि उनले पछिल्लो समयसम्म आफूलाई राजनीतिक क्षेत्रको लामो दौडको सारथि बनाउने प्रतिबद्धता भने व्यक्त गरेकी छन् ।

कानुन विषयमा स्नातक एलएलबी र राजनीति शास्त्रमा स्नातकोत्तर एमए गरिसकेकी रामकुमारी अनेरास्ववियु पाँचौको विद्यालय प्रारम्भिक कमिटी, इलाका कमिटी, जिल्ला कमिटी, क्षेत्रीय कमिटी र केन्द्रीय कमिटी अध्यक्ष हुँदै अहिले सत्तारुढ दल नेकपा एमालेको निर्वाचित केन्द्रीय कमिटी सदस्य यूरोप इञ्चार्ज छन् ।

उनको विशेषता नेपाली विद्यार्थी संगठनहरूको इतिहासमै पहिलो महिला अध्यक्ष हुनुमा अभिव्यक्त हुन्छ । २०६५ सालमा ९सेप्टेम्बर २००८० मा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको १९औं राष्ट्रिय सम्मेलनमा पुरुष उम्मेदवारविरुद्ध उम्मेदवारी दिएर रामकुमारी झाँक्री केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

राजनीतिमा पाइला टेक्दै गर्दा सुरुमा उनको झुकाव अखिल छैटौं तिर थियो किनभने विद्यालयमा राम्रो पढाउने भनिएका अनेक अलराउन्डर शिक्षक छैटौं समर्थक थिए । तर उनका कान्छा दाइ पदम अखिल पाँचौं समर्थक थिए । पछि सांगठनिक जीवनको सुरुआत गर्दा भने रामकुमारी पनि अखिल पाँचौं समर्थक र कार्यकर्ता भइन् ।

उनलाई एउटा रमाइलो सम्झना छ, भन्छिन्, “पाँचौं समर्थक दाइले घर–गोठका भित्तामा अनेरास्ववियू पाँचौं जिन्दाबाद लेख्ने, अनि मैंले कहिले त्यो मेटाएर कहिले अर्को ठाउँमा अनेरास्ववियु छैटौं जिन्दाबाद लेख्थेँ । यो क्रम धेरै समय चलेको थियो ।’

रामकुमारी झाँक्रीको जन्म गुल्मीको, उनकै शब्दमा, ‘सुपर ग्रामीण भेग’, म्यालपोखरी गाविस–१, पुर्कोटको एक सामान्य किसान परिवारमा २०३५ साल जेठ १० गते भएको हो । आमा रेणुकुमारी र पिता स्व. रत्नबहादुर झाँक्रीका चार छोरी र तीन छोरा गरी सात सन्तानमा रामकुमारी छैटौं छोरीहरूमा साइँली हुन् ।

अध्ययन तथा राजनीतिको दगुराइमा व्यस्त भइरहँदा उनले २०६६ माघमा निजामती कर्मचारी पशुपति पुरीसित विवाह गरिन् र उनीहरू २०६८ सालमा छोरा आरबका अभिभावक बनेका छन् ।

उनी जतिबेला बालिका–किशोरी नै थिइन्, आम गाउँले अभिभावकमा केटाकेटीलाई पढाउनेभन्दा पनि खेतीपाती र चरीचरनमा लगाउने प्रवृत्ति बढी थियो । गाई–बाख्रा चराउने र खेतीपाती गर्ने सन्तान नै उनीहरूका लागि सम्पत्ति मानिन्थे ।

झाँक्री परिवारमा धेरै भेडा–बाख्रा थिए । तर रामकुमारीलाई किनकिन सानैदेखि ‘पढ्नुपर्छ । भेडासेडा हेरिँदैन । स्कुल जानुपर्छ’ भन्ने लाग्थ्यो । अरू दिदीबहिनीले कहिल्यै स्कुलको ढोका कुल्चेनन्, अरू दाइहरूले कक्षा पाँचसम्म मात्र पढे पनि कान्छो दाइले भने स्नातक तह पूरा गरे ।

गाउँमा अहिले हाइस्कुल भइसकेको श्री मेहलपोखरी प्राथमिक विद्यालय थियो । त्यहाँसम्म उनको घरबाट हिँडेर जान पौने घण्टा जति लाग्थ्यो । आफ्नो हठले गर्दा उनले त्यही स्कुल पढ्न जाने अवसर पाइन् ।

औपचारिक स्कुल जानुअघि नै पनि सानो दाइले पढाएर–सिकाएर उनले सबै अक्षर लेख्न र चिन्न थालिसकेकी थिइन् । नाम र अंकहरू लेख्न जान्ने भइसकेकी थिइन् । स्कुलमा ‘क’ देखि नै सुरु गर्नुप¥यो । शिक्षकले ‘क’ सिकाउँदा आफूलाई ‘ख’ र ‘ग’ मात्र होइन, ‘ज्ञ’ सम्मै आउँछ भन्ने सोच्दा उनलाई निकै रमाइलो लाग्ने गथ्र्यो ।

कक्षा ५ सम्म उनले मिहिनेती र जेहेनदार विद्यार्थीका रूपमा पास गरिन् तर कक्षा ६ पढ्न दुई घण्टा हिँडेर पुर्कोटदहस्थित पुर्कोटदह माध्यमिक विद्यालय पुग्नुपर्ने हुन्थ्यो । यति टाढा पठाउन सुरुमा त अभिभावक तयार भएनन् । ५ कक्षासम्म पढेपछि पुग्यो, दाइहरूले पनि त्यति नै पढे भन्दै रोकी राखे । यसक्रममा ६–७ महिना ‘ड्रप–आउट’ भएर पनि जिद्दी गरिगरी रामकुमारी कक्षा ६ मा पढ्न जान थालेकी थिइन् ।

भदौ महिनामा भर्ना भएर दसैँअघि किताबहरू पाएको भए तापनि उनले त्यो कक्षा वर्षभरि पढेका अन्य तमाम विद्यार्थीभन्दा राम्रो अंक ल्याएर उत्तीर्ण गरिन् । अनि त घर, स्कुल र सबैतिर उनी जान्ने, बुझ्ने, जेहन्दार एवं अनुशासित विद्यार्थी कहलिन थालिन् । अर्को वर्षदेखि उनलाई क्लास मनिटर पनि बनाइयो । क्रमशः उनलाई अगाडि बढ्नका लागि सारा बाटाहरू खुल्दै जान थाले ।

उनी सात कक्षामा पढ्दै गर्दा देशमा निर्दलीय पञ्चायती व्यवस्था ढल्यो र बहुदलीय व्यवस्था पुनर्स्थापित भयो । यही समयमा २०४७ वैशाखमा अखिल पाँचौंको विद्यालय सम्मेलन भयो जसले उनलाई विद्यालय प्रारम्भिक कमिटी ९प्राक० मा सहसचिव चयन ग¥यो । यसरी यही बेलादेखि उनको राजनीतिक सांगठनिक जीवन सुरु भयो ।

अर्को वर्ष उनी अखिलको प्रारम्भिक कमिटी प्राक सचिव र १० कक्षामा पढ्दा अध्यक्ष भएर काम गरिन् । योसँगै उनले क्षेत्रीय कमिटी ३ नं को अध्यक्ष र गुल्मी जिल्ला कमिटीमा सचिव भएर पनि काम गरिन् । तिनताका तीन–तीन घण्टाको बाटो हिँडेर कहिले सिमलटारी त कहिले कता गएर कार्यक्रममा सहभागी हुने र कार्यक्रम आदि गरेर साँझसम्म घर फर्किसक्ने काम उनले गरिन् ।

बाटोमा किम्बु खाँदै, वनमा काफल खाँदै हिँड्ने काम हुन्थ्यो । त्यो बेला आफूसित पैसा हुँदैनथ्यो, भए पनि पसल थिएनन् । तापनि, देश बनाउने र देशवासीको जीवनस्तर उकास्ने भावना र जोशले गर्दा सारा अप्ठ्याराहरू हाँसीहाँसी सहने गर्थे उनीहरू ।

विसं २०५० मा एसएलसी उत्तीर्ण गरेपछि उनी २०५१ मा काठमाडौं आई पद्म कन्या क्याम्पसमा भर्ना भइन् । एकजना गाउँले दिदी सीता कुँवर ९स्थानीय अभिभावक सँगै उनी पद्म कन्या क्याम्पस घुम्न गएकी थिइन् ।

त्यहाँ उनले देखिन्– केटीहरू साडी लगाएर हिँडिरहेका, होम साइन्स पढ्नेहरू कतै खाना पकाइरहेका, कतै खाइरहेका, कतै गीत गाउने त कतै नाचगान भइरहेको  क्याम्पसको पनि ठूलो भवन १ १ यो सबै देख्दा उनलाई त्यो वातावरण नै निकै रमाइलो लाग्यो किन पनि भने त्यस्तो ठूलो भवन भएको कलेज उनले कहिल्यै देखेकै थिइनन् ।

त्यो समयमा पद्म कन्या क्याम्पसको अखिल पाँचौं प्राकमा ममता गिरी अध्यक्ष, बनिता खनाल सचिव थिए तर समस्या उनले के देखिन् भने कमिटीमा भएकाहरू कलेज नआउने र कलेज आउनेहरू कमिटीमा नबस्ने प्रचलन रहेछ ।

नवागन्तुहरूका लागि स्वागत समारोह आयोजना भयो । त्यसमा आफैँले हात उठाएर नवाआगन्तुकको तर्फबाट धन्यवाद भाषण गरेपछि लगत्तै उनी प्राक सदस्य चयन भइन् तर काम भने सचिवको गर्नुपर्ने भयो । स्ववियु चुनाव भयो, त्यसमा उनी निकै खटिएकी थिइन् । फेरि प्राक सम्मेलन भयो जसले उनलाई सचिव बनायो । त्यसपछि नै उनी तीनपटकसम्म काठमाडौं जिल्ला कमिटी सदस्य बनेर पनि काम गरिन् ।

सुरुमा काठमाडौंमा काम गर्दा केही असजिलो महसुस भएको थियो किनभने छयालीस सालको आन्दोलनले समय–परिस्थिति फेरिइसकेको थियो । उनी भन्छिन्, ‘यहाँ आएपछि भाषा फेरियो । गाउँमा र्याली हुन्थ्यो, यहाँ जुलुस भयो ।

उता जय देश जय नरेश थियो, राजारानी प्राणभन्दा प्यारो थियो, अब जिन्दाबाद र मूर्दाबाद भयो । पञ्चायत अब गाउँ विकास समिति भयो । भेला अब आमसभा भयो । सदस्यता रसिद काट्ने भनेको यतातिर प्याड काट्ने भन्थे । सुरुसुरुमा त यो प्याड भनेकै के हो भन्ने थाहा नभएर मलाई कत्रो आपत् ’

त्यसैताका हो, कुवेतबाट इराकी सेना फिर्ता गर भन्ने नाराले उनलाई निकै तानेको थियो । यसमा उनले ठूलो राष्ट्रवाद देखेकी थिइन् । अखिलले उठाएको वैज्ञानिक शिक्षाको नाराले पनि उनलाई तानेको थियो । अझ त्यसअघि उनी जोसिएर भावुक भाषण गर्दै भन्ने गर्थिन्, ‘नेपाल विश्वमै दोस्रो–तेस्रो जलस्रोत धनी देश हो । यहाँ राम्ररी विद्युत निकाल्न सक्यो भने देशमा प्रत्येक रुखका पात–पातमा झुण्ड्याएर बल्ब बाल्न मिल्छ ।’

उनले २०४६ को परिवर्तनपछि संगठन र पार्टीमा ‘भ्यागुता कम्युनिस्ट’ को ओइरो देख्न थालिन् । अतीतमा संगठन, पार्टी र देशका लागि कुनै लगानी नगरेका तर एकाएक पार्टीको उच्च तहमा ससम्मान आसन जमाउन आइपुगेका मानिसको भिडले उनलाई उदेक बनायो ।

उनकै शब्दमा, ‘तिनताका निर्देशित नेतृत्व ९गाइडेड लिडरसिप० को चलन थियो, जनवादी केन्द्रीयता भनेर निर्देशित नेतृत्व लादिन्थ्यो । त्यस्तोमा महिलाहरूलाई अगाडि आउने, अगाडि बढ्ने अवसरै थिएन । अध्यक्ष र सचिव बन्नै नदिने, बरु पैसा हिनामिना गर्दैैनन् भनेर कोषाध्यक्ष बनाउने । कार्यकारी पदमा महिलालाई जानै नदिने प्रवृत्ति सामान्य थियो ।’

एकपटक बेरोजगारी विषयमा अखिलले जुलुस निकालेको थियो । त्यसबेला, केटाहरूले कालो टाई र प्यान्ट मात्र लगाएर जुलुस निकाल्ने र केटीहरू ठाउँठाउँमा उभिएर पर्चा बाँड्ने कुरा चल्यो ।

रामकुमारीले पहिलोपटक महिला र पुरुषबीच कायम गरिएको असमानता बुझेर, खुलेर विरोध गरिन् र प्रतिरोधी आवाज उठाइन्, ‘केटीहरूको सहभागिता नरहने पनि अखिलको जुलुस हुनसक्छ रु’ छोरी मान्छे भएर पहिलो चोटि संगठनभित्र जेन्डर भेदभाव प्रस्ट बुझेको उनलाई महसुस भयो । उनलाई आफैँले बोल्नुपर्दो रहेछ भन्ने लाग्यो । त्यहीँदेखि सुरु भएको प्रतिवादकर्ताको उनको छवि अद्यापि कायमै छ ।

रामकुमारी अनेरास्ववियूको केन्द्रीय उपाध्यक्ष थिइन् । त्यही बेला नीतिगत व्यवस्था गर्दै अनेरास्ववियुमा एक तिहाइ महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्ने, अध्यक्ष मण्डलमा महिला राख्नुपर्ने, अञ्चल कमिटीमा एक महिला अनिवार्य राख्नुपर्ने, समग्र कमिटीहरूमा ३३ प्रतिशत महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गर्नमा उनले निर्णायक भूमिका निर्वाह गरिन् ।

उनी भन्छिन्, ‘पहिले त हाम्रा कमिटीहरूमा महिला प्रतिनिधित्व तरकारीमा बेसार हालेजस्तो केवल प्रतिनिधित्व मात्र हुन्थ्यो । अहिले महिला सहभागिता धेरै छ, उनीहरू बोल्ने पनि भए ।

अब त केटाहरू पो डिफेन्सिभ हुँदै छन् ।’ महिलाहरू असमयमै राजनीतिबाट पलायन हुने कारण खोतल्दा उनलाई लाग्छ– राजनीतिमा लाग्ने जो कोही पनि अग्रगामी सोच लिएर आउनुभन्दा महिलाप्रति समाजमा स्थापित पुरुषवादी सोचलाई मान्दै आएको हुँदा समयक्रममा त्यही सोचले महिलालाई सार्वजनिक जीवनबाट टाढा लैजान्छ ।

उनी भन्छिन्, ‘समाज रूपान्तरणको क्रममा आफूलाई समयअनुसार बदल्न सकेनन्, महिला नेता–कार्यकर्ताहरूले । समय फेरिँदा पुरानो ढंगले काम गर्न सकेनन् र नयाँ ढंग पनि खोज्न सकेनन् । पार्टीले, परिवारले पूर्ण सहयोग गरेन भन्दै खाली गुनासो मात्र गरेर हुँदैन । आफ्नो पहल पनि उत्तिकै चाहिन्छ ।

पार्टीभित्र भएका वा संयुक्त परिवारमा भएकाहरू राजनीतिमा छन्, एकल परिवारमा भएपछि त महिलाको राजनीतिक यात्रा समाप्त भयो भयो ।’‘पार्टीभित्र पुरुषको बोलबाला यथावत् छ । यस्तोमा बदलिँदो र रूपान्तरित वातावरणमा कतिपय महिला कार्यकर्ताले आफूलाई चुस्त–दुरुस्त राख्न सकेनन् ।

अहिले पलायन भएका अनेक महिला राजनीतिकर्मीले २०–२२ वर्षपहिले अवसर पाएका थिए तर उनीहरूले त्यसलाई आफ्नो व्यक्तित्वका आधारमा उपयोग गर्न सकेनन् । सक्नेहरूले धेरै सम्झौता गरे, नसक्नेहरू पलायन भए,’ उनको सपाट विश्लेषण छ ।

महिला नेतृत्वको विकास गर्नुपर्छ भन्दा पनि पार्टीहरूको सहमतिमा महिलाहरूलाई देखाउनका लागि भए पनि प्रतिनिधि सभामा ५ प्रतिशत मात्र भए पनि ल्याउनुपर्छ भन्ने त्यतिबेलाको नीति उनलार्ई अर्थपूर्ण लाग्छ । भन्छिन्, ‘२०५१ सालको एमाले मन्त्रिमण्डलमा एकजना पनि महिलारमधेसी थिएनन् ।

महिला नेतृत्वको सवालमा समावेशिताको सवालमा पार्टी कति अनुदार १ अनेमसंघमा पनि त्यस्तै– संघमा रहेकाहरू एकका विरुद्ध अर्कोलाई प्रयोग गर्ने गरिरहेका, अनुकूल महिलालाई संरक्षण, अर्को अमुक महिलालाई बेवास्ता वा पाखा लगाउने प्रवृत्ति ।’

यसो भनिरहँदा उनलाई शेरबहादुर देउवा सरकारलाई बर्खास्त गरी राजा ज्ञानेन्द्रले गरेको सैनिक कूविरुद्धको आन्दोलनमा सधैँ अग्रभागमा रहेको, पटकपटक प्रहरी थुनुवामा परेको, प्रहरीको लाठी चार्जमा परेरर रक्ताम्य भई हफ्तौँ अस्पताल बस्नुपरेको, चिकित्सकले डिस्चार्जपछि पनि डेढ–दुई महिना बेड रेस्टमा बस्नुपर्छ भनेकोमा त्यो निर्देशनलाई लत्याउँदै संघर्षको मैदानमा हाम फालेको र जनआन्दोलन–२ लाई सफलतामा पु¥याएरै विश्राम लिएका प्रसंगहरू याद आउँछन् होला ।

तर, त्यस्ता सबै प्रसंगहरू उनलाई एउटा मिथकमा रूपान्तरित गर्दै अब उनका लागि विगतका झझल्का फ्ल्यासब्याक मात्र हुन पुगेका छन् । रामकुमारीलाई धेरै कुरा ‘कस्मेटिक रिलेसन’ अर्थात् आलंकारिक सम्बन्ध जस्तो लाग्छ– बाध्यात्मक उपस्थिति अथवा देखाउनुपर्ने भएर मात्र महिलालाई अवसर युक्त ठाउँमा लैजाने । नत्र‘ उनी भन्छिन, ‘सबै पार्टी उस्तै हुन् । यहाँ सबै लिनेहरू मात्र हुन्, दिने कोही छैनन् ।’

उनी अहिले नेकपा एमालेको तर्फबाट समानुपातिक प्रणाली मार्फत प्रतिनिधिसभाको सांसद भइसकेकी छिन् । गुल्मीको म्यालपोखरी देखी व्यवस्थापिका संसद सम्मको यात्रामा झाँक्रीले धेरै नै आरोह -अवरोह झेल्नुपरेको बताइन् ।

गुल्मीको म्यालपोखरी गाउँदेखि अनेरास्ववियु केन्द्रीय अध्यक्ष र नेकपा एमाले केन्द्रीय सदस्य हुँदासम्मको राजनीतिक यात्रामा उनको पृथक् पहिचान र व्यक्तित्व निर्माण भइसकेको छ ।  नेपाली अस्मिताबाट