बैशाख ३, २०८१ सोमबार

खानेपानीकाे दीगो व्यवस्थापनका लागि महिला प्लम्बर तयार



रुकुम पश्चिममा महिलाहरुलाई खानेपानी योजनाहरुको मर्मत गर्ने प्लम्बर तालिम दिइएको छ । पुरुषहरु प्रायः रोजगारीका लागि बाहिर जाँदा खानेपनी योजनाहरु मर्मत नभएर अलपत्र परेको भन्दै दीगो व्यवस्थापनका महिलालाई पनि तालिम दिइएको हो ।

युएसएआडीको स्वच्छता परियोजनाले १६ जना मर्मत सम्भार कार्यकर्ताहरुलाई दिएको तालिममा सात जना महिला छन् । स्वच्छता परियोजनाले रुकुम पश्चिमका १० वटा स्वास्थ्य संस्था र आसपासको समुदायका लागि खानेपानी योजना निर्माण गरेको छ ।

ती योजनाहरु मर्मत सम्भारको अभावले अलपत्र नपरोस् भन्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको स्वच्छता परियोजनाका जिल्ला अधिकृत बमबहादुर खड्काले बताए ।

“यसअघिका थुपै्र योजनाहरु मर्मत सम्भार नपाएर विग्रँदै गएका देखिन्छन्”, उनले भने “अब हामीले बनाएका योजनाहरु दीगो रुपले सञ्चालन होस् भनेर स्थानीयकै क्षमता विकास गरेर मर्मत सम्भारमा जोड्न तालिम सञ्चालन गरेका हौँ ।”

तालिम लिएर गएपछि मुहानदेखि धारासम्म सुरक्षित, स्वच्छ र दीगो रुपमा खानेपानी सञ्चालन गर्न समस्या नहुने तालिमका सहभागी रिया मल्ले बताउनुभयो ।

पहिले पाइपका नाम समेत थाहा नपाएका आफूहरुलाई अहिले त्यसको प्राविधिक कामसँगै स्वच्छ खानेपानी आपूर्तिको सम्पूर्ण प्रक्रियाबारे जान्ने अवसर पाएको उनको भनाई छ ।

त्यस्तै यसअघि आफ्नो घरकै खानेपानी लाइन जोड्न नसकेर अरुकै भर पर्नुपरेको समस्या सुनाउँदै बाँफिकोट गाउँपालिका ६ की नन्दकली परियारले अहिले धेरै सीप विकास भएकोले गाउँमा गएर समुदायकै खानेपानी मर्मत सम्भारमा जुट्ने बताइन् ।