बैशाख ८, २०८१ शनिबार

श्वेताको जिन्दगीले फेरी अर्को खेल खेल्यो



नयाँ चलचित्र ‘हेलो जीन्दगी’ छायाँकन भइरहेको थियो लण्डनमा । अभिनेत्री श्वेता खड्काको एकाएकै घाँटीमा असह्य पीडा भयो ।

हतारहतार डाक्टरलाई देखाउँदा उनलाई झनै पिडा भयो किनकी डाक्टरले उनलाई तत्काल अप्रेशन गर्नुपर्न सल्लाह दिए । कारण थियो च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्लो भागमा ट्यूमर ।

यो जानकारी उनले आफै सामाजिक सञ्जालमा पोष्ट गरिन जतिबेला उनको अप्रेसन सफल भएर स्वास्थ्यलाभको क्रममा थिइन् । उनले लेखेकी छन्, ‘लण्डन गएको केही दिनपछि असह्य पीडा भयो ।

डाक्टरलाई देखाउँदा ह्याकुलोमा ट्युमर रहेको बताए र त्यसलाई हटाउनु पर्ने भने । तत्कालका लागि ठूलो समस्या नरहे पनि भविष्यमा यसले गम्भीर अवस्था ल्याउन सक्ने भनेपछि दिल्ली आएर उपचार गराएकी छु ।’

डाक्टरले तत्कालै शल्यक्रिया गर्नु पर्ने भनेपछि लण्डनबाट भारतको दिल्ली आएर द्रुत प्रक्रिया मार्फत शल्यक्रिया गराएकी छन् ।

उनले भावनात्मक रुपमा पोस्टमा लेखेकी छन्, ‘मेरो दोस्रो जीन्दगी, मसँग जीन्दगीले दोस्रो पटक खेल खेल्यो । भन्छन्, जीवन अनिश्चित छ, त्यो सत्य हो । थाहै हुँदैन कहिले के हुन्छ र सपनाहरु आफ्नै अघि विलिन हुन्छन् । म नयाँ चलचित्र हेलो जीन्दगीमा काम गर्न नसक्ने जानकारी गराउनु पर्दा निकै दुखी छु ।’

उनले आफ्नो शल्यक्रिया गर्ने डाक्टर सुरेन्द्रकुमार दाबासलाई धन्यबाद दिएकी छन् । यस्तै नेपालबाट गएका डा। पंकजले पनि आफ्नो उपचारमा सहयोग गरेको उनले उल्लेख गरेकी छन् । शल्यक्रिया सफल भएको उनले जानकारी दिएकी छन् ।

यो घटनाले आफूलाई जीन्दगी अनिश्चित रहेको जानकारी फेरि गराएको उनले उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘हेलो जीन्दगी चलचित्र टिमसँग माफी चाहन्छु किनकी मैले काम गर्न सकिन । यस्तै बिएलके अस्पताल र डाक्टरहरुलाई धन्यबाद ।’

उनले लेखेकी छन्, ‘मैले फेरि एकपटक जीन्दगीको भयानक अवस्थामाथि जित हाँसिल गरेकी छु ।’ उनका श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको डिप निमोनियाका कारण २०७१ साल साउन २५ गते निधन भएको थियो ।

उनी त्यसपछि केही वर्ष चलचित्रबाट बाहिर रहे पनि फेरि काममा फर्किएकी थिइन् । उनले पछिल्लो पटक कान्छी चलचित्र बनाएकी थिइन् ।