बैशाख १२, २०८१ बुधबार

महिला–पुरुष ‘मितेरी’ सम्बन्ध : १० वर्षपछि टिकाटालो



बाँके – करीब १० वर्षअघि नेपालगञ्ज उपमहानगरपालिका–१९का श्याम गिरी स्थानीय रेडियोका कार्यक्रममा फोन गरेर सहभागीता जनाउँथे ।

त्यही रेडियोमा फोन आउँथ्यो राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी श्यामकुमारी चौधरीको पनि ।

धेरै रेडियोका साँगीतिक र अन्य कार्यक्रमहरुमा फोन गरेर सहभागीता जनाउने उनीहरुको लिंग र थर फरक भएपनि नाम एउटै । एउटै नाम भएका कारण दुवै जनालाई एकअर्काप्रति निकटता जाग्यो । रेडियोबाटै फोननम्बर मागेर उनीहरु एक अर्कासँग कुराकानी गर्न थाले ।

सम्बन्ध निकट भयो । दुवैले परिवारलाई पनि थाहा दिए । १० वर्षदेखि उनीहरुको परिवारबीच पनि राम्रो सम्बन्ध छ ।

त्यहि सम्बन्धलाई अहिले उनीहरुले ‘मित–मितिनी’ सम्बन्धको रुपमा टिकाटालो गरेका छन् । “हामी १० वर्षदेखि एउटा परिवारजस्तै भएका छौँ, विभिन्न कारणले औपचारिकता दिन सकिएको थिएन, हामीले अहिले औपचारिकरुपमै मितेरी लगाएका छौँ ”, गिरी भन्छन् ।

पुरुष र महिलाको चिनाजानी र सम्बन्धलाई गलत रुपमा नै व्याख्या गर्ने समाजमा लैङ्गिक तथा सामाजिक विभेदको अन्त्यका लागि मितेरी लगाएको उनीहरुको प्रतिक्रिया छ ।
“सामाजिक विभेदका विरुद्धमा हामीले औपचारिकरुपमै मितेरी लगाएका छौँ,” चौधरीले भनिन् ।

रेडियो कार्यक्रममा हुने फोन संवादले मित र मितिनीको नातामा उनीहरुलाई मात्र होइन दुई परिवारलाई एउटा परिवारमा बाँधिदिएको छ । “हामीले मित र मितिनी भनेर एकअर्कालाई सम्बोधन ग¥यौँ, यो सम्बन्ध पारिवारिकरूपमा पनि निकट भयो, हामीले आफूलाई भाग्यमानी ठानेका छौँ ”, उनीहरु भन्छन् ।

आफ्नै जस्तो नाम तर जात र लिङ्ग फरक भएपछि आफूले मितिनीको नाता लगाएको गिरीले बताए । तर दुई परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उनीहरु खुशी व्यक्त गर्छन् ।
“केहीले शङ्का गरे, मैले त्यो शङ्कालाई प्रष्ट्याए, हामी दुवैको एकअर्काका परिवारसँग भेटघाट आउजाउ हुन्छ ”, उनले भने “हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ, मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रुपमा मानिरहेकी छु ।”

अरुलाई शङ्काको दृष्टिले हेर्ने नकारात्मक बिचारहरुले भरिएको सोचकै कारण समाज अझै पनि पछाडि परिरहेको चौधरीको भनाई छ । “हामी दुई परिवार एक भएका छौँ, मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन” चौधरी भन्छिन्, “महिला र पुरुषबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो, सामाजिक विभेदको अन्त्य आफैबाट शुरु गर्नुपर्छ ।”

सबैले समान लिङ्गबीच मितेरी लगाउँछन् । गिरी र चौधरीबीचको मितेरी सम्बन्ध भने नौलो र अनौठो छ । बाँकेका अगुवा पत्रकार जे पाण्डे महिला र पुरुषबीच भएको मितेरी सम्बन्ध दुनियामै पहिलो हुनसक्ने बताउँछन् ।

पण्डित इन्द्रप्रसाद उपाध्यायले आफ्नो जीवनकालमा पहिलोपटक पुरुष र महिलाबीच मितेरी लगाइदिएको बताउँछन् ।

“मैले अहिलेसम्म जजमानी गर्दा पुरुष–पुरुष र महिला–महिलाका बीचमा मात्रै मितेरी लगाइदिने गरेको थिएँ,” उनले भने “उहाँहरुको यो मितेरीले मलाई आफै पनि अनौठो लागिरहेको छ । ”
४९ वर्षीय श्याम गिरी आयल निगम नेपालगञ्जमा कार्यरत कर्मचारी हुन भने ३० वर्षिया श्यामकुमारी बाँकेको बैजपुरकी अगुवा महिला हुन् ।

उनीहरु दुवैजजना नेपालगञ्जका प्रायः सबैजसो एफएम स्टेशनका साङ्गीतिक कार्यक्रममा फोन संवाद गरिरन्छन् ।

स्नातकसम्मको पढाइ पूरा गरेर श्यामकुमारी सामाजिक विभेदविरुद्धका अभियानमा लागेकी छन्।