बैशाख १२, २०८१ बुधबार

छोरीको माया



मनिराम वाग्ले

गाउँमा एकजना भलाद्मी मानिसकाे मृत्यु भएछ ।

उसका छाेराहरू र छरछिमेक मिली लास जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र लासको पाउ समात्दै भन्न लाग्छ “मर्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र लासकाे दाहसंस्कार गर्न लैजानुहाेस् ।”

अब तमाम मलामीहरू खडा भएर तमासा हेरिरहेका थिए, छाेराहरूले बताए कि मर्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएकाे कुरा गर्नुभएको थिएन । त्यसैले हामी याे पैसा दिदैनाैँ।

छाेराहरूले त तिर्दैनन् भने हामी छिमेकीहरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकीहरू । लासलाई बाेक्न खाेज्छन् तर त्यस मानिसले लासकाे पाउ समातेर बसिरहेकाे हुन्छ ।

याे खबर घरभित्रसम्म पुग्छ । बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनाैँ भन्छन्।

मर्ने मानिसकी एउटी छाेरी पनि थिइन् जाे रुँदै बाहिर आइन् र लासकाे गाेडा समाउने व्यक्तिलाई आफ्नो गरगहना फुकालेर दिदै भन्छिन – “लिनुहाेस् यी गहना। यसलाई बेच्नुहाेस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ती गर्दछु बाबाकाे अन्तिम दाहसंस्कार नराेक्नुहाेस् । नपुगेको रकम पछि तिर्छु, सक्दाे चाँडाे व्यवस्था गर्छु ।”

अब लास समाउने मानिस उक्त छाेरीलाई सान्त्वना दिदै भन्छ, “छाेरी, म यहाँ कसैलाई चिन्दिन, उहाँकाे बारेस चिन्नु थियो । मुख्य कुरा त उहाँले मसँग पैसा माग्नुभएको थिएन, बरू मैले उहाँसँग मागेकाे थिएँ । उहाँ बित्नुभएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कसलाई दिने हाे भनी बुझ्न याे नाटक गर्नुपर्याे । अकस्मात् प्राप्त भएकाे सम्पतिमाथि धेरैले अाँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो। लाै राख याे 15 लाख रूपैयाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ। यसमा हक तिम्रो मात्र छ । “

वास्तवमा छाेरीकाे माया – जीवनकाे साया हाे । छाेरीलाई बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ । जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे ।