बैशाख १३, २०८१ बिहीबार

एक्लै जिन्दगी बिताइरहेका महिलाहरूको लागि छहारी



काठमाडाैं – श्रीमानको मृत्यु भएपिछ एक्लैै जिन्दगी बिताइरहेका महिलाहरूको लागि काठमाडाैंकाे वुढानिलकण्ठमा सुरक्षित सेवा गृह (छहारी) काे भवन निर्माण भएकाे छ ।

मानव अधिकारका लागि महिला, एकल महिला समूहले भारत सरकारको सहयोगमा निर्माण गरेको छहारी अर्थात सुरक्षित आवास गृहकाे राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार उद्घाटन गरिन् ।

उक्त समूहले यसअघि मुलुकमा विभिन्न स्थानमा १६ वटा छहारी भवन निर्माण गरिसकेको र यसबाट शितलता मात्रै होइन, एकल महिलाका लागि ऊर्जासमेत मिलेको बताएको छ ।

भारतीय सरकारको आर्थिक सहयोगमा बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगाैडामा निर्मित उक्त भवन एकल महिला समूहको २५ औँ वार्षिक उत्सव अर्थात रजत जयन्तीको अवसरमा उद्घाटन गरियाे ।

संस्थाका संस्थापक अध्यक्ष लिली थापाका अनुसार छहारी एकल महिलाकाे आश्रय र मनोवैज्ञानिक सेवा केन्द्र हो । “छहारी मन पोलेका एकल महिलाको शितल चौतारी हो, यहाँ आएर उनीहरु आत्मनिर्भर हुने बाटो खोज्छन् “, उनले भनिन् ।

गलत सामाजिक र सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्छ : राष्ट्रपति

भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताईन् ।

“सदियौंदेखि समाजको आधारभूत तहमा जरा गाडेर बसेको गलत सामाजिक तथा सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्न अझै ठूलो परिश्रम र मिहेनत गर्नुपर्छ ”, राष्ट्रपति भण्डारीले भनिन्।

स्वस्थ्य र सभ्य संस्कृतिको विकास गरी सामाजिक सुसम्बन्धमा आधारित समाज निर्माण गर्ने राज्यको लक्ष्य रहेको बताउँदै उनले मौलिक हकको रुपमा संविधानमै असहाय र एकल महिलाको लागि सामाजिक सुरक्षाको व्यवस्था गरेको बताइन् ।

“मुलुकमा महिला उत्थान र विकासका लागि सकारात्मक विभेद नीति र कानूनसमेत तर्जुमा भएका छन्, देशमा रहेका सामाजिक र सांस्कृतिक कुरीति, कुसंस्कार र कुप्रथाको अन्त्य गर्ने संवैधानिक सङ्कल्प छ ’’, उनले भनिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले एकल महिलाको हक अधिकार र सम्मानको लागि २५ वर्षदेखि थालिएको अभियानले मुलुकभरका महिलालाई सङ्गठित गर्न सफल भएको बताईन् ।

“सामन्ती संस्कार बोकेको नेपाली समाजबाट अझै पनि महिला घरेलु हिंसाको शिकार हुँदै आएका छन्, यस्ता विकृति, विसङ्गति र अत्याचारविरुद्ध सामाजिक अभियान चलाउनुपर्ने अवस्था छ ’’, उनले भनिन् ।

समूहकी अध्यक्ष कुन्ता शर्माले एकल महिलालाई धर्म र संस्कृतिको जन्जिरमा बाँध्ने काम हुँदै आएकाले सबैको प्रयासमा यस खालका कुरीतिलाई अन्त्य गर्न आवश्यक रहेको बर्ताईन् ।

एकल भएकै आधारमा कुनै महिलालाई विभेद गर्नु हुन्न भन्ने अभियान सञ्चालन गर्ने सोचले स्थापना गरिएको समूहमा अहिलेसम्म एक लाख ६० हजार एकल महिला सङ्गठित रहेको संस्थाकी संस्थापक अध्यक्ष लिली थापाले जानकारी दिईन् ।

कार्यक्रममा ७६ जिल्लाका ५०० प्रतिनिधिको सहभागिता रहेको थियो । पछिल्लो जनगणनाअनुसार मुलुकमा एकल महिलाको सङ्ख्या कूल जनसङ्ख्याको ५।८ अर्थात छ लाख एक हजार छ ।

छोरालाई पढाउने छोरीलाई भने सानो उमेरमै विवाह गरेर धपाउने प्रवृत्ति अझै पनि समाजमा ठूलो रोगको रुपमा रहेको बारे सो अवसरमा सबैको ध्यानाकर्षण गरिएको थियो ।

तीमध्ये २० देखि ३० वर्ष उमेर समूहका महिलाको ६७ प्रतिशत रहेको बताइएको छ । एकल महिलामध्ये निरक्षर महिलाको सङ्ख्या ८६ प्रतिशत रहेको जनाइएको छ । विगतमा भएको १० वर्षे द्वन्द्वका क्रममा १० हजारको सङ्ख्यामा महिला विधवा भएका थिए ।

सङ्घ, प्रदेश र स्थानीय तहमा गरी अहिले मुलुकभरबाट १४६ जना एकल महिला जनप्रतिनिधिका रुपमा काम गरिहेको बताइएको छ ।