बैशाख ४, २०८१ मंगलबार

गर्भवती शिक्षिकालाई बिदा नदिंने प्रधानाध्यापक केसी प्रहरीको नियन्त्रणमा



काठमाडौ-असनको त्यौड माविका शिक्षिकामाथि मानसिक यातना दिएको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक सुरेन्द्र केसी पक्राउ परेका छन्।

सुत्केरी बिदा नदिई उल्टै मानसिक यातना दिएको आरोपमा उनलाई महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। प्रअ केसीले चिकित्सकको सिफारिसअनुसार बिदा माग गर्दा उल्टै मानसिक यातना दिएको पीडितको आरोप छ।

मानसिक यातनाका कारण शिशुको समेत मृत्यु भएको बताइएको छ। आफूमाथि प्रअ केसीले मानसिक यातना दिएको भन्दै पीडित शिक्षिका लक्ष्मी अर्यालले महानगरीय प्रहरी परिसरमा भदौ २२ गते उजुरी दिएकी थिइन्।

उजुरीका आधारमा प्रहरीले आरोपी केसीलाई आइतबार विद्यालय परिसरबाट पक्राउ गरेको हो। पक्राउ परेका प्रअ केसीलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

सो विषय संघीय संसदमा समेत उठेको थियो। उक्त विषयमा नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा शिक्षिकामाथि यातना दिने प्रअलाई कारबाही माग गरेका थिए। गत बिहीबार प्रतिनिधिसभाको बैठकमा भाग लिँदै सांसद थापाले यस्तो माग गरेका थिए।
शिक्षिका अर्यालले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएको १५ दिनमा प्रअ केसीलाई नियन्त्रणमा लिएको एसएसपी उत्तमराज सुवेदीले बताए ।