बैशाख १२, २०८१ बुधबार

छोरी जन्माउनेलाई पाँच हजार



गर्भमै छाेरा र छाेरीबिच गरिने विभेद हटाउन गुल्मीको कालीगण्डकी गाउँपालिकाले छोरी जन्माउनेलाई पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

अहिलेको समयमा पनि छोरा र छोरीबीच विभेद गरिने र छोरी भए गर्भमै फालिदिने प्रवृत्ति रोक्नका लागि याे कार्यक्रम ल्याइएकाे गाउँपालिका उपाध्यक्षा तारा थापाले बताइन् ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा याे कार्यक्रम राखेकाे छ ।

पाँच हजार रुपैयाँ प्रोत्साहन स्वरुप भत्ता दिँदा छोराछोरीको विभेद रोकिन्छ त भन्ने प्रश्नमा उपाध्यक्ष थापाले भनिन्, ‘पाँच हजार रुपैयाँले त्यति ठुलो प्रभाव त नपार्ला तर जनतालाई केही सचेत भने बनाउँछ । अन्य स्थानीय तहले पनि आ-आफ्नो क्षेत्रबाट केही गर्न सके छोराछोरीबीच हुने विभेदलाई रोक्न सकिन्छ ।’

यो वर्ष कार्यक्रमको प्रभावकारीता हेर्ने र सोही आधारमा आगामी वर्षमा कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिए ।