बैशाख १, २०८१ शनिबार

स्तनपान : आमालाई क्यान्सरको रोकथाम, बच्चालाई अमृत समान



काठमाडौं  – धेरैले भन्छन् ‘बच्चालाई दूध चुसाउनु उसको शरिरमा पोषक तत्व पूर्ति गर्नका लागि हो । यसले बच्चालाई स्वस्थ र बलियो बनाउँछ ।’ कतिले त दूध चुसाउँदा आमाको शारीरिक संरचना बिग्रन्छ भन्दै पोषकतत्व बजारमा किनेको दूधबाट पनि पाइने भन्दै बजारको दूध खुवाउने पनि गरेका छन् ।

तर चिकित्सकको भनाईमा स्तनपानले बच्चालाई मात्र होइन, दूध चुसाउने आमालाई समेत धेरै रोगबाट बचाउँछ । आमाको पँहेलो बिगौती दूध नवजात शिशुका लागि पहिलो खोप भएजस्तै बच्चा जन्मनेबित्तिकै दूध चुसाउनु आमाको पनि ज्यान जोगाउने उपाय भएको भरतपुर अस्पतालका स्त्री, प्रसूति तथा प्रजनन रोग विशेषज्ञ वरिष्ठ कन्सल्टेन्ट डा रामप्रसाद सापकोटा बताउँछन् ।

“जसरी बिगौती दूधमा यसमा रोगसँग लड्न सक्ने तत्व हुन्छन् र बच्चाको दिमागी क्षमता तीक्ष्ण हुन्छ, त्यसैगरी बच्चा जन्मनेवित्तिकै स्तनपान गर्दा निस्कने हार्मोनले आमाको पाठेघर खुम्च्याउन मद्दत गर्छ र सालनाल सजिलो र छिटो बाहिर निस्कने हुँदा पाठेघरबाट बढी रगत बग्ने खतरा कम हुन्छ ’, उनि भन्छन्, यसले आमाको पनि ज्यान जोगाउँछ ।’

उनका अनुसार दूध चुसाउँदा आमा र बालबालिकाबीचको आत्मीयता बढ्छ र बच्चाले सुरक्षित महसुस गर्नुका साथै आमालाई मानसिक तनाव कम हुने हुँदा स्वस्थ रहने समेत उनको भनाई छ । सुत्केरी भएपछि स्तनपान गराउनाले आमाको मोटोपन घट्नुका साथै पाठेघर खुम्चिएर पुरानै अवस्थामा फर्कने उनले जानकारी दिए ।

सापकोटाका अनुसार बच्चा जन्मिएको पहिलो छ महिनासम्म पूर्ण स्तनपान गराएमा गर्भ निरोधकको रुपमा समेत काम गर्दछ । “महिलालाई हुने स्तन, डिम्बासय र पाठेघरसम्बन्धी क्यन्सरको समेत जोखिमसमेत कम गराउँछ ”, उनले भने । आमाको दूध सधैँ सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ र खर्चिलो हुँदैन । आमाको दूध जुनसुकै बेला पनि खुवाउन सकिन्छ । कृतिम खालका खाना बनाउन लाग्ने समय, इन्धन खर्च र कामको भार कम हुने उनले बताए ।

चिकित्सकको भनाइमा स्तनपान गर्ने बच्चा र गराउने आमा दुवैको स्वास्थ्य राम्रो हुने भएकोले बच्चा जन्मिएको एक घण्टाभित्रै आमाको दूध चुसाउनु पर्छ । वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौला आमाको पहेँलो बिगौती दूध नवजात शिशुका लागि पहिलो खोप भएका बताउँछन् । “यसमा रोगसँग लड्न सक्ने तत्व हुन्छन् र बच्चाको दिमागी क्षमता तीक्ष्ण हुन्छ”, उनले भने, “कम्तीमा दुई वर्षसम्म आमाको दूधलाई निरन्तरता दिँदै थप आहार खुवाउनु पर्छ ।” बच्चा जन्मिएपछि छ महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्छ । शिशुलाई चाहिने पानीसमेत आमाको दूधमा हुने भएकाले छ महिनासम्म आमाको दूधबाहेक पानी पनि खुवाउनु नपर्ने बसौलाको भनाइ छ । उनका अनुसार ८७ प्रतिशत पानी दूधमा हुन्छ ।

स्तनपान नगराइएका बच्चा झगडालु स्वभाव, अरुसँग घुलमिल नगर्ने र अपराधिक कार्यमा लाग्ने सम्भावना बढी हुने अनुसन्धानबाट पत्ता लागेको बसौलाले बताए ।

चिकित्सकका अनुसार नवजात शिशुलाई २४ घण्टामा १० देखि १२ पटकसम्म स्तनपान गराउनुपर्छ । नेपाल बाल चिकित्सक समाजका केन्द्रीय उपाध्यक्षसमेत रहेका बसौलाका अनुसार बिगौती दूधले बच्चाको शरीरबाट ‘विलिरुविन’ नामक तत्वलाई निष्काशन गर्ने भएकोले जण्डिस हुन दिँदैन । बिगौती दूधमा प्रोटिन, भिटामिन ‘ए’ र अन्य सूक्ष्म पोषक तत्व बढी पाइन्छ । जसले गर्दा बच्चाको वृद्धि विकासमा मद्दत गर्दछ भने दूधले बच्चालाई एलर्जी र अपच हुन पनि दिँदैन।

आमाको दूधमा झाडा र स्वासप्रश्वाससम्बन्धी सङ्क्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व हुने चिकित्सक बताउँछन् । यसैगरी आन्द्राको रक्षा र हानिकारक तत्वलाई रगतमा पुग्न नदिन आमाको दूध उपयोगी हुन्छ । दाँत र गिजाको विकास गर्न सहयोग पुग्छ भने बच्चाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न सहयोग पुग्ने बसौलाले बताए ।

आमाको दूध सधैँ सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ र खर्चिलो हुँदैन । आमाको दूध जुनसुकै बेला पनि खुवाउन सकिन्छ । कृतिम खालका खाना बनाउन लाग्ने समय, इन्धन खर्च र कामको भार कम हुने सापकोटा बताउँछन् ।

स्तनपानले प्रत्येक वर्ष विश्वमा करिब आठ लाख २३ हजार बच्चा बचाउने गरेको चिकित्सक बताउँछन् । संसारमा हरेक पाँच बच्चामध्ये दुई जना शिशुले मात्र छ महिनासम्म आमाको दूधमात्र खान पाउने तथ्याङ्कले देखाएको छ । हाल नेपालमा एक वर्षमा करिब सात लाख बच्चा जन्मने गरेको पाईएको छ । तीमध्ये ५७ प्रतिशत बच्चा मात्र स्वास्थ्य संस्थामा जन्मने गरेको बसौलाले जानकारी दिए ।

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण ऐन २०४९ मा आमाको दूधको प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण गर्न नहुने उल्लेख छ । ऐनले यस्ता वस्तु बिक्री वितरण गर्ने, प्रचारप्रसार गर्ने र सिफारिस गर्ने स्वास्थ्यकर्मीलाई समेत कारवाही गर्न सकिने उल्लेख गरेको छ । जसमा सिफारिस गर्ने स्वास्थ्य कार्यकर्तालाई रु एक हजार जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय र वितरकलाई रु १५ हजार जरिवाना वा चार महिना कैद वा दुवै हुने व्यवस्था गरेको छ । छ महिनासम्म आमाको दूध मात्र खुवाउन र त्यसपछि आमाको दूधसँगै जाउलो, लिटो, दालको रसजस्ता वस्तु खुवाउन बसौला सुझाव दिन्छन् ।