चैत्र १६, २०८० शुक्रबार

जग्गामा महिलाको स्वामित्व:एक वर्षमा ९१ जना महिलाका नाममा लालपुर्जा



बैतडी-नेपाल सरकारले महिलाका नाममा जग्गादर्ता गर्दा राजश्वमा समेत छुट दिएकाले महिलाका नाममा जग्गादर्ता गर्नेको सङ्ख्या बढ्दै गएको मालपोत कार्यालय बैतडीका सूचना अधिकारी अनिल चन्दले जानकारी दिए । जिल्ला मालपोत कार्यालय बैतडीका अनुसार आर्थिक २०७६÷७७ मा ९१ जना महिलाका नाममा लालपुर्जा बनेको छ । अघिल्लो आवमा ६६ जना महिलाका नाममा लालपुर्जा बनेकोे थियो ।

महिलाको नाममा जग्गादर्ता गरेबापत दुई लाख ७७ हजार राजश्व छुट भएको छ । महिलाका नाममा जग्गादर्ता गरेमा २५ प्रतिशत राजश्व छुट हुने नियम रहेको सूचना अधिकारी चन्दले बताए । प्रत्येक वर्ष महिलाका नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए ।

नेपालको संविधान, २०७२ को धारा, ३८ को उपधारा, ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा महिलाको पनि समान हक हुने कुरा उल्लेख गरिएको छ । यसले महिलाको पनि सम्पत्तिमा पहुँच पुग्न थालेको छ । २०६७ सालदेखि संयुक्त रुपमा पुर्जा बनाउने अभियान नै शुरु भएयता पछिल्लो समयमा महिलाका नाममा लालपुर्जा बनाउनेको सङ्ख्या बढ्दै गएका हो । महिलाका नाममा जग्गादर्ता २५ प्रतिशत राजश्व छुट हुने भएकाले पनि महिलाका नाममा जमीन दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

पहिला पहिला महिलाका नाममा लालपुर्जा आनाकानी गर्ने गरिएको भए पनि पछिल्लो समय महिलाका नाममा लालपुर्जा बनाउने क्रम बढेको छ । महिलाका नाममा जग्गादर्ता हुने क्रम बढेपछि महिलामाथि हुने हिंसा पनि कम हुँदै जाने महिला अधिकारकर्मीहरुले बताएका छन् । महिलाको सम्पत्तिमा पहुँच नहुँदा हिंसा हुने भएकाले महिलाको नाममा जग्गा दर्ता हुँदै गएपछि महिलामाथि हुने हिंसामा केही कमी आउने अधिकारकर्मी पार्वती भट्टले बताइन् ।

विसं २०६७ मा भूमिअधिकार मञ्चमार्फत संयुक्त लालपुर्जाको अवधारणा अघि सारेर महिलाका नाममा सम्पत्ति दर्ता गराउने काममा सहजीकरण गरेको अधिकारकर्मी सरस्वती नेपालीको भनाइ छ । महिलाका नाममा जग्गापास हुनुले महिलाको सम्पत्तिमा पहुँच पु¥याउन सजिलो भएको छ ।

पछिल्ला केही वर्षयतादेखि भने महिलाका नाममा जग्गादर्ता गर्ने लगायतका कामहरु भइरहेका छन् । यसले महिलाको सम्पत्तिमा पहुँच पु¥याउन लागि पहल गरिरहेको बैतडीकोे दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । महिलाका नाममा जमीन राख्दा दर्ता गर्दा लाग्ने शुल्कमा छुट दिने सरकारले व्यवस्था गरेसँगै यो क्रम बढ्दै गएको हो । “पहिलापहिला महिलाका नाममा जग्गादर्ता गर्ने चलन नै थिएन । पछिल्लो समयमा केही मात्रामा भए पनि महिलाको सम्पत्तिमा पहुँच पुग्न थालेको छ”, उनले भनिन्, “महिलाको स्रोत तथा सम्पत्तिमा पहुँच पु¥याउन नेतृत्व तहमा पुगेका महिलाले पहल गर्नुपर्ने आवश्यक देखिन्छ ।”

महिलाका नाममा सम्पत्ति बढ्दै गएपछि महिलाले अधिकार पाएको अनुभूति गर्न थालेका छन् । पछिल्लो समय स्थानीय तहमा महिला जनप्रतिनिधि आएपछि महिलाको पनि जग्गामा स्वामित्व बढ्दै गएको हो । महिलाको अधिकारका कुरा उठाउन थालेपछि जग्गामा पनि अधिकार बढ्दै गएको महिला जनप्रतिनिधिहरुको दाबी छ ।