आश्विन २०, २०८१ आईतबार

विदेशमा बेचिएर फर्केका महिला भन्छन् : खाडीको पिडाभन्दा आधापेट नै जाती



 

काठमाडौँ-   मनग्य धन कमाएर ल्याई सुखसँग जीवन बिताउने सपना बोकी विदेश गएर फर्केकी गुल्मी, हस्तीचौर–३ की देवकुमारी कुमाल अहिले विदेश भन्ने शब्दसमेत सुन्न चाहन्नन् । तीन महिनाको आफ्नो साउदी अरबको बसाइ अवधिमा उनले यातना भोग्नुबाहेक अरू केही ल्याउन सकिनन् ।

साउदी अरबबाट पैसा आउने दिनगन्ती सुरु गरेका उनका श्रीमान् र छोराछोरी देवकुमारीले प्राणमात्र लिएर फर्केपछि ठूलो चिन्तामा परेका छन् । ऋण काढेर साउदी अरब पुगेकी देवकुमारीलाई ऋण तिर्ने त परै जाओस् त्यहाँ भोग्नुपरेको यातनाको उपचार गर्ने पैसासमेत नभएर अहिले छटपटीमै बाँच्नुपरिरहेको छ । ‘बरु यहाँ छँदा मेलापात गरेर दुईछाक सजिलै खाएका थियौँ, अहिले न काम गर्न सक्ने ज्यान छ, न उपचार गर्ने धन, ऋण कसरी तिर्ने हो,उनले रुँदै भनिन् ।

दार्जिलिङ माइत भई आफ्नै गाउँकी एक महिलाले धेरै धन कमाउने प्रलोभन देखाएर ऋण खोजीखोजी विदेश पुगेकी देवकुमारीले त्यहाँ पुगेर काम गरेको दुई महिनापछि पैसाको साटो यातना भोग्न थालिन् । साउदीमा घरेलु कामदारका रूपमा काम गर्दा मालिकले बलात्कारसम्म गरेपछि उनी आत्महत्या गर्ने स्थितिमा पुगिन् तर आत्महत्या गर्ने ठाउँ पनि नभएपछि बल्लतल्ल बाँचेर घर फर्केकी उनलाई अहिले ठूलो समस्या कसरी उपचार गर्ने भन्ने नै छ ।

देवकुमारीजस्तै वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी रुरु गाविस थोर्गा रिडीकी ३० वर्षीया देवी ज्ञवालीको कहानी पनि उस्तै छ । बुटवलको ड्राइभर टोल बस्दैआएकी ज्ञवालीको एकल परिवार सुखी थियो । दुई सन्तान ईश्वरका वरदान भनेजस्तै ज्ञवालीका एक छोरा र एक छोरी थिए ।

बुटवलमा बस्दै गर्दा एक दिन अचानक उनका श्रीमान् कृष्णप्रसाद सौता र छोराछोरी लिएर भागे । श्रीमान् र छोराछोरीसँगै बुटवल बस्दैआएकी उनी त्यसपछि एक्ली बनिन् । छोराछोरीको खोजीका लागि उनी गुल्मीमा रहेको घरमा आइन् तर फेला पार्न सकिनन् ।

छोराछोरीकै खोजीका क्रममा कहिले काठमाडाँै, कहिले पोखरा पुगेकी देवीको यात्राका क्रममा एक महिलासँग बसमा चिनजान भयो । कुरा गर्दै जाँदा ती महिला विदेश कामदार पठाउने काम गर्दिरहिछन् । त्यसपछि उनले कुवेत जाने योजना वनाइन् । कुवेतमा पन्ध्र्र महिना काम गरेकी ज्ञवाली बिरामी परिन् ।

मानसिक तनावकै कारण कुवेत पुगेकी उनलाई त्यहाँ पुगेपछि पनि तनाव कम भएन, अन्ततः उनी मानसिक सन्तुलन गुमाउन पुगिन् । उनी कार्यरत घरमालिकले उपचार गराएपछि केही निको त भयो तर पूरै निको भने भएन । यत्तिकैमा उनी नेपाल फर्किइन्, घर फर्किंदा आफ्ना दाइ बितेको थाहा पाएपछि फेरि बिरामी परिन्, अहिले उनी आफ्ना कुरा स्पष्टसँग राख्न सक्दिनन् ।

रकमको अभावमा उपचार गर्न नसकेर घरमै बसिरहेकी ज्ञवाली कुनै पनि महिलालाई विदेश जाने सल्लाह दिन्नन् । “हामी महिलाको को हुन्छ र त्यहाँ ? बिरामी भए पनि काम गर्नुपर्छ, उपचार गर्नसमेत नसकिने ठाउँमा जानुभन्दा त आधापेट खाएर भए पनि यहीँ बस्नु जाती”– उनले आफ्नो अनुभव सुनाइन् ।

जिल्लाबाट वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको र अधिकांश महिला घरेलु कामदारका रूपमा भारतको बाटो भएर जाने गरेको पिपुल फोरमका जिल्ला संयोजक सञ्जीवनी अर्यालले बताउनुभयो । उहाँका अनुसार फर्किएकाहरूमध्ये अधिकांशले विभिन्न पीडा भोगेका छन् भने कोही कागजी प्रक्रिया नपुगेकै कारण विनाक्षतिपूर्ति स्वदेश फर्कन बाध्य भएका छन् ।

आफू बच्चा हेर्ने काममा भनेर दुबई पुगेकामा घरका सबै काम गर्नुपरेकाले दुई महिनामै नेपाल फर्केकी अर्खले गाविस–७ का ३२ वर्षीया सीता भण्डारीले भनिन्– बच्चा हेर्ने भिसा लगाएर दलालले त्यता लग्यो, तर त्यहाँ पुगेपछि गर्न नसकिने सबै काम गर्नुप¥यो, अनि त बस्न सक्ने कुरै भएन ।

अर्थ अभावका कारण वैदेशिक रोजगारीका लागि खाडी मुलुक पगेका महिला कामदार नेपालको बाटो भएर जाने प्रायः कम भेटिन्छन् । लुकेर–भागेर तेस्रो मुलुकको बाटो हुँदै विदेश जाने कामदारबाट ठूलो समस्या उत्पन्न भएको सरोकारवालाको भनाइ छ ।

पौरखी नेपाल नामक संस्थाका सदस्य अग्नि गुरुङका अनुसार वैदेशिक रोजगारीमा जाने ९० प्रतिशत महिला कामदार भारतको बाटो हुँदै जाने गरेका छन् । सुरक्षित रूपमा जानेलाई खासै समस्या नपर्ने, परी हाले पनि भरपर्दो कानुनी उपचार गरेर समस्या समाधान गर्न सकिने, चेतना अभावका कारण तिनको अभिलेखबद्ध नहुने, कुनै सीप र भाषा नसिकी जाने महिलाले निकै दुःख पाउनुपरेको उनी बताउँछिन ।

आफूहरूले त्यहाँको भाषा नजानेका कारणले पनि न्याय पाउनका लागि ठूलो समस्या हुने गरेको फर्केर आएका महिला बताउँछन् । दुबईमा काम गर्न नसकी फर्केर आएकी बागलुङ भिङगिठेकी तारादेवी थापा भन्छिन्— कठोर यातना र तलब नपाउने भएपछि भागेर प्रहरीकहाँ त पुगेँ तर मैले केही भाषा नै नजानेपछि प्रहरीले फेरि फर्काएर पुरानै ठाउँमा पठायो, आफ्नो गाउँमा भए पो अन्यायका विरुद्धमा बोल्न सकिन्छ तर अर्काको देशमा त्यसै मरिन्छ ।

विदेश जाँदा कानुनी प्रक्रिया पूरा नगर्ने, दलालको विश्वासमा परेर जाने, विनासीप विदेश जाने जस्ता कारणले गर्दा घरेलु कामदारका रूपमा जाने अधिकांश गुल्मेली महिला यातना सहेर फर्कनुपरेको कतार नेपाली एकता समाजका केन्द्रीय महासचिव भीमकान्त पन्थीले बताए  ।

राज्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसकेकै कारण अवैधानिक रूपमा खाडी मुलुक जाने नेपाली महिला कामदारको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले यसतर्फ राज्यले बेलैमा ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ ।